बैंकहरूले ब्याजदरमा मनपरी गरेको भन्दै प्रदेश १ का उद्योगीहरूले बैंकहरूविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदर र ब्याजको असुलीमा ज्यादती गरेको भन्दै आन्दोलन गर्ने बताएका हुन्।
विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बैंकको ज्यादती विरुद्धमा हामी आन्दोलन गर्छौं।’
परिसंघ प्रदेश अध्यक्ष एवम् उद्योगी घिमिरेले बैंकहरू कमाउने धन्दामा लागेको आरोप पनि लगाए। बैंकले २० प्रतिशत भन्दा बढी नाफा कमाएर अपराध गरिरहेको बताउँदै उनले त्यसो गर्नेलाई राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन्।
‘हामीले सुरूदेखि उठाउँदै आएको पूँजी निर्माणको लागि, निक्षेप बढाउन ब्याज वृद्धि होइन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउन अति आवश्यक छ,’ घिमिरेले भने, ‘बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरी कायम गर्न र उत्पादन, पूर्वाधार जस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरी मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो ब्याज दरको व्यवस्थालाई स्थिर र निरन्तरता राख्ने पहल गर्न हामी हार्दिक अपिलका साथ पुनः गम्भीर ध्यानाकर्षण गर्दछौं।’
घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंकहरू प्रेरित भएको बताए।
आर्थिक अवस्था चलायामान र पूँजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक वित्तीय संस्था रहेको परिसंघले ठहर पनि गरेको छ।
‘एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, फिक्स डिपोजिटमा ब्याज बढी दिइरहेका छौं भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याजसमेत वृद्धि गरी लगानीकर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिलेसम्म चल्छ?, ’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा औद्योगीकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाउने बढाउने खेलमा उद्योगहरू चैं धरासायी हुने, सरकार र केन्द्रीय बैंकले अरू बैंकलाई पाल्ने काम मात्र गरी सरकारले यी नयाँ जमानाका साहू महाजन विकास गर्नेतर्फ लागेको हामीलाई महशुस हुन थालेको छ।’
उद्योगीले बैंकको लगानीकर्ता र उद्योगको लगानीकर्ता फरकफरक हुनुपर्ने माग पनि गरेका छन्। परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था कहाँ र कसरी चलेको छ भन्ने कुरा मुलुकको केन्द्रीय बैंकलाई जानकारी छैन र भन्ने प्रश्न गरे।
‘यसलाई केन्द्रीय बैंक एवम् सरकारले अनदेखा गर्न कदापि हुँदैन भन्ने कुरा हामी राख्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।
हाल बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी बन्द नै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन्।
यसबाट रोजगारी र सरकारको राजस्वमा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ।
‘मुलुकको अर्थतन्त्र ठप्प हुनबाट जोगाउन हामी नेपाल राष्ट्र बैंक तथा नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सिएनआईका संरक्षक उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए।
पछिल्लो समय बैंकका कारण अन्तर्राष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छवी समेत धुमिलिएको उद्योगी सारडाको भनाइ छ।
‘बैंकमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्त राखिरहेका छन्,’ सारडाले भने, ‘पाँच करोड भए कर्जा माग्दै जानुपर्दथ्यो?’
वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरूले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी एवं सिएनआईका सल्लाहकार महेश जाजुको दाबी छ।