सर्वसाधारणलाई राइड सेयरिङ सेवा दिन सन् २०१९ अगस्टमा एउटा कम्पनी सञ्चालनमा आएको थियो, जसको नाउँ थियो- सुपर एप।
कम्पनी खुलेको केही महिनामै कोरोना महामारी र लकडाउन सुरू भयो। सुपर एपले राइडिङ सेवा दिन सकेन।
झन्डै डेढ वर्षपछि जब महामारी मत्थर हुँदै गयो र लकडाउन पनि खुल्यो, तब 'सुपर एप' का सञ्चालकले दुइटा महत्वपूर्ण निर्णय लिए।
पहिलो, उनीहरू नयाँ योजनासहित आक्रामक ढंगले राइड सेयरिङ सेवामा हाम्फाल्ने भए।
दोस्रो, उनीहरूले कम्पनीको नामै फेर्ने निर्णय गरे। 'नेपाली नाम, नेपाली काम' भन्ने सोचेर उनीहरूले पुरानो अंग्रेजी नाम छाडे र नयाँ नाम जुराए- सहारा।
यी दुवै निर्णय कम्पनीका लागि 'फलिफाप' साबित भए।
छ जना मिलेर पाँच करोड रूपैयाँ लगानीमा सुरू गरेको 'सहारा' आज लोकप्रिय राइड सेयरिङ एपका रूपमा विकसित भएको यसका अध्यक्ष शेखर श्रेष्ठ बताउँछन्।
'अंग्रेजी नाम परिवर्तन गर्ने हाम्रो निर्णय सही साबित भयो,' उनले भने, 'जब हामीले सुपर एप परिर्वतन गरेर सहारा बनायौं, हामी अहिले धेरैको सहारा बनिरहेका छौं।'
यो कम्पनीले राइड सेयरिङ सेवा मात्र दिँदैन। सहारा बाइक (स्कुटर र मोटरसाइकल), क्याब (ट्याक्सी), फुड (खानेकुरा) र सपिङ सेवा पनि दिन्छ।
पछिल्लो समय मानिसको जीवनशैली निकै व्यस्त हुँदैछ। यही व्यस्त जीवनशैली हेरेर सहाराले डिजिटल माध्यमबाट राइड सेयरिङ सेवा दिन थालेको अध्यक्ष श्रेष्ठ बताउँछन्।
'विगतमा मानिसहरू सपिङ गर्न बजार जान्थे, पसल डुल्थे तर अहिले प्राय:ले घरमै सामान अर्डर गर्छन्। उपभोक्ताको अर्डरअनुसार कम्पनीहरूले होम डेलिभरी गर्छन्। यसले समय बचत गराउनुका साथै प्रविधिको प्रयोग बढाएको छ। सहारा एपमा पनि लकडाउनपछि अनलाइन अर्डर अत्यधिक बढेको छ,' उनले भने।
उनका अनुसार सहारा एपको पहिलो प्राथमिकता राइडर सेयरिङ नै हो, जसमा दुईपांग्रे र चारपांग्रे सवारीबाट यात्रुले सेवा लिइरहेका छन्। सहाराले तीन वर्षयता एक लाखभन्दा बढीलाई यस्तो सेवा दिइसकेको कम्पनीले जनाएको छ।
दुइपांग्रे सवारीमा यात्रा गर्दा प्रतिकिलोमिटर १७ रूपैयाँ र चारपांग्रेमा प्रतिकिलोमिटर ४३ रूपैयाँ तिर्नुपर्नेछ।
यसका केही फरक विशेषता पनि छन्। एउटा त 'बुकिङ फर अदर्स' हो। यसअन्तर्गत जोसँग यो एप छ उसले परिवार, आफन्त वा साथीहरूको निम्ति बुक गरिदिन मिल्छ। यसका लागि इन्टरनेट चाहिँदैन। अफलाइन बुकिङ सुविधा पनि छ।
'राइडरलाई हामी सहारा पार्टनर भन्छौं,' अध्यक्ष श्रेष्ठले भने, 'जसरी व्यवसायका लागि पार्टनर चाहिन्छ, त्यसरी नै उहाँहरू हाम्रा पार्टनर हुनुहुन्छ।'
वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै काम खोजिरहेकाहरूलाई यो एप सहाराका रूपमा उभिएको उनी बताउँछन्। त्यति मात्र होइन, विद्यार्थीहरूको निम्ति पनि यो रोजगारको स्रोत बनेको छ।
कम्पनीले हालसम्म १५ हजारलाई रोजगार दिएको छ। आफ्नो सवारीसाधन र चालक अनुमति पत्र (लाइसेन्स) भएका जो पनि सहाराका पार्टनर बन्न सक्छन्।
काम गर्ने इच्छुक व्यक्तिहरूलाई कम्पनीले सुरूमा तालिम दिन्छ। यसमा एप कसरी चलाउने? एपमा समस्या आए कसरी समाधान गर्ने? पैसा लिँदा–दिँदा यात्रुसँग कस्तो व्यवहार गर्ने? लगायत कुरा सिकाइन्छ।
राइड सेयरिङ सेवा दिन चाहने व्यक्तिले सहारा एप डाउनलोड गरी मोबाइल नम्बरसहित व्यक्तिगत विवरण भर्नुपर्छ। राइडरहरूले बाइक र गाडी छनौट गरी इच्छाअनुसारको वर्गमा दर्ता गराउनुपर्छ। ग्राहकले पनि एप डाउनलोड गरी आफ्नो व्यक्तिगत विवरण भरेर दर्ता गर्नुपर्छ।
दर्ताका लागि दुई हजार रूपैयाँ शुल्क लाग्नेछ। त्यसपछि राइडरले सेवा दिन र लिन पाउनेछन्। सहाराले युवा वर्गलाई लक्ष्य गर्दै राइडिङको ६ महिनासम्म फ्रि-सर्भिस दिएको छ।
'छ महिनासम्म राइडरले राइडिङ सेवामार्फत् कमाएको पैसाबाट कम्पनीलाई कमिसन बुझाउनु पर्दैन,' श्रेष्ठ भन्छन्, 'राइडरले जति कमाउँछन्, आफ्नै खल्तीमा हाल्छन्।'
अन्य राइड सेयरिङ कम्पनीहरूले २० देखि २५ प्रतिशतसम्म कमिसन लिइरहेका छन्। छ महिनापछि भने यसमा पनि राइडरहरूले आफूले कमाएको रकमको १० प्रतिशत कम्पनीलाई बुझाउनुपर्छ।
राइडरलाई कम्पनीले बोनस सेवा पनि दिने गरेको छ। दैनिक (बिहान र बेलुका) ४ वटा राइड पूरा गर्ने पार्टटाइमरलाई ३ सय रूपैयाँ बोनस दिइन्छ। फुलटाइमरले बोनस पाउन ८ वटा राइड पूरा गर्नुपर्ने हुन्छ। यसबापत ५ सय रूपैयाँ बोनस पाइन्छ। दिनमा १५ वटा राइड पूरा गर्नेले एक हजार रूपैयाँ बोनस पाइरहेका छन्।
कम्पनीले राइडरलाई हेल्मेट र ज्याकेट पनि दिन्छ। हालसम्म यो एप डाउनलोड गर्नेको संख्या ५० हजार नाघेको छ। तीमध्ये ६० प्रतिशत युवा छन्। केही ज्येष्ठ नागरिक पनि रहेको कम्पनीले जनाएको छ।
पार्टटाइम काम गर्नेमा क्याम्पसका विद्यार्थी छन्। खासगरी बाहिरी जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएकाहरू धेरैले यो काम रोजेका छन्। राइड सेयरिङबाट कमाएको पैसाले उनीहरूको दैनिकी चलिरहेको छ। कतिले त पढाइको खर्च पनि यसैबाट जुटाएका छन्।
सहाराले फुड डेलिभरी सेवा पनि दिइरहेको छ। चार सयभन्दा बढी होटल तथा रेस्टुरेन्टसँग कम्पनीको सहकार्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। सहारा एपमा गएर फुड सेवामा क्लिक गरेसँगै ग्राहकले आफूलाई मनपर्ने खानेकुरा मनपर्ने रेस्टुरेन्टबाट अर्डर गर्न सक्नेछन्।
'अहिले हामीकहाँ राइड सेयरिङ एपहरू थुप्रै छन्। राइडर र प्रयोगकर्ताहरू पनि बढिरहेका छन्,' उनले भने, 'ती सबैसँगको प्रतिस्पर्धामा स्तरीय सेवा दिएर आफूलाई अब्बल साबित गर्ने चुनौती हामीलाई छ।'
काठमाडौं उपत्यकाका कम्तीमा १० लाखलाई आफ्नो सेवा दिने लक्ष्य रहेको उनले बताए।
कम्पनीका सिइओ विशाल जिसी सहारा एपमा गुणस्तरीय प्रविधि प्रयोग गरिएको बताउँछन्। उनका अनुसार पछिल्लो समय १५ हजारभन्दा बढी उपभोक्ताले नियमित यो एप प्रयोग गरिरहेका छन् भने पाँच हजारभन्दा बढी सवारी एपसँग जोडिएका छन्।
रोजगार खोजिरहेका वा अध्ययन गरिरहेका युवाहरूका लागि राइड सेयरिङ सेवा आम्दानीको एउटा गतिलो विकल्प बनेको उनको भनाइ छ। काठमाडौंबाट सुरू भएको राइड सेयरिङ सेवालाई छिट्टै उपत्यका बाहिरका पाँच सहरमा विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार आगामी एक वर्षभित्र ५० हजारलाई राइड सेयरिङमार्फत् रोजगारी दिने र ८ लाख ग्राहकलाई सेवा दिने कम्पनीको लक्ष्य छ।
कम्पनीले दुर्घटना बिमा भने सुरू गरेको छैन। यसका लागि केही बिमा कम्पनीसँग कुरा भइरहेको र १ देखि ६ लाख रूपैयाँसम्म बेहोर्ने गरी छिट्टै बिमाको व्यवस्था गर्ने उनले बताए।
(सहाराको वेबसाइटका लागि यहाँ र फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्)