अर्घाखाँची सिमेन्ट उद्योगले यो वर्ष एक करोड २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको छ। योसँगै कम्पनीले चाँडै प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी पनि गरिरहेको छ।
कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाका अनुसार बजारमा माग र खपत बढेसँगै उत्पादन बढाउँदै लगिएको हो। हाल दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गरी अर्घाखाँचीले वार्षिक एक करोड २० लाख बोरासम्म सिमेन्ट बिक्री गरिरहेको छ। यस वर्ष थप पाँच लाख बोरा सिमेन्ट बिक्री गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।
कम्पनीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ।
'६० हजार बोरामा ओपिसी र पिपिसी दुवै पर्छ,' थापाले भने, 'कम्पनीले एउटै कारखाना परिसरभित्र दुइटा छुट्टाछुट्टै उत्पादन लाइनमार्फत दुवै खालका सिमेन्ट उत्पादन गरिरहेको छ।'
२०७१ सालबाट अर्घाखाँचीले बजारमा सिमेन्ट पठाउन थालेको हो। उद्योगमा मुरारका अर्गनाइजेसनसँगै सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेसनलको संयुक्त लगानी छ। कम्पनीमा हालसम्म आठ अर्ब रूपैयाँभन्दा बढी लगानी पुगिसकेको थापाले जानकारी दिए।
सुरूमा ओपिसीमार्फत् कारोबार सुरू गरेको कम्पनी ०७६ सालबाट पिपिसी उत्पादन थालेको हो।अर्घाखाँचीको सुरूआती उत्पादन क्षमता दैनिक २४ हजार बोरा मात्र थियो। बजार र प्रतिस्पर्धा बढ्दै गएपछि उत्पादन पनि बढाउँदै लगेको थापा बताउँछन्।
अर्घाखाँचीले सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ, क्लिंकर पनि उत्पादन गरिरहेको छ। थापाका अनुसार उद्योगको आफ्नै चुनढुंगा खानी छ। पहिले त्यसको गुणस्तर परीक्षण हुन्छ। अनि क्लिंकर बनाइन्छ र त्यो पनि परीक्षण गरिन्छ। त्यसबाट बनेको सिमेन्टको पनि गुणस्तर परीक्षण हुन्छ।
उनले भने, 'जुन उद्योगले आफैं क्लिंकर उत्पादन गर्छन्, अरूको तुलनामा तिनको सिमेन्ट बढी गुणस्तरीय हुन्छ। त्यसकारण अर्घाखाँचीको सिमेन्ट पनि गुणस्तरीय छ।'
अर्घाखाँची ओपिसीले ४३ ग्रेडको उत्पादनका लागि इजाजत पाइसकेको छ। थापाका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागले 'एनएचएस–५७२' प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको थियो।
डेढ वर्ष लामो कोरोनाकालमा पनि अर्घाखाँचीको सिमेन्ट खपत राम्रै भएको बताउँदै थापा भन्छन्, 'भूकम्पपछिको पुनर्निर्माण र लकडाउनकै बेला पनि अर्घाखाँची सिमेन्टको खपतले हामीलाई सन्तुष्ट बनायो।'
सिमेन्टको माग अत्यधिक हुने सिजन जाडोयाम हो। दसैं-तिहार सकिएसँगै हरेक वर्ष माग बढ्छ। तर विगतको तुलनामा यस वर्ष कम भएको उनले बताए।
'प्रायः धेरैले कर्जा लिएर घर बनाउँछन्। अहिले बैंकहरूसँग पैसा अभाव लगायतका कुरा आइरहेका छन्। त्यसकारण पनि सिमेन्ट माग नआएको हुन सक्छ,' उनी अनुमान गर्छन्, 'त्यस्तै घर बनाउन अरू सामान पनि चाहिन्छ। अहिले डन्डीको भाउ तलमाथि भइरहेको छ। घर बनाउनेहरू भाउ स्थिर होला भनेर पर्खेर बसेका पनि छन्।'
त्यसैले यो वर्ष कतिपय कम्पनीले सिमेन्टको भाउ घटाएको पनि उनले जानकारी दिए। अहिले सिमेन्टको मूल्य सय रूपैयाँसम्म घटेको छ। पछिल्ला समय सिमेन्ट बजार प्रतिस्पर्धात्मक छ। तर अर्घाखाँचीलाई प्रतिस्पर्धामा कठिनाइ नभएको उनी बताउँछन्।
कम्पनीका म्यानेजर प्रोजेक्ट सेल्स इञ्जिनियर अभियान जैसवाल भने सिमेन्ट बजारमा दुई मुख्य समस्या भएको बताउँछन्ः माग-आपूर्तिको सन्तुलन र यातायातको।
पहिले सिमेन्टको माग बढी हुँदा आपूर्ति कम थियो। उद्योग बढेसँगै आपूर्ति धेरै भयो। यसको तुलनामा माग कम भयो।
'२४ हजार बोरा उत्पादन बढेर ६० हजार पुग्यो तर त्योअनुसार माग बढ्न सकेन,' जैसवालले भने।
सिमेन्ट वितरणका गाडी संख्या नबढ्नु अर्को मुख्य समस्या भएको उनी बताउँछन्।
'उत्पादन बढेअनुसार ढुवानीका लागि सात सय वटा गाडी थपिनुपर्ने माग छ। तर वार्षिक मुश्किलले सय वटा थपिन्छन्। यसले गर्दा भाडा महँगो परेको छ,' उनले भने।
अर्घाखाँचीले सिमेन्ट निर्यात गर्ने सोच पनि बनाएको छ। तर सम्भव हुन सकेको छैन।
'आगामी पाँच वर्षभित्र भुटान, भारत र बंगलादेशमा निर्यात गर्ने लक्ष्य छ। अर्घाखाँचीको सिमेन्ट अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै गुणस्तरीय छ,' उनी भन्छन्, 'दुवै देशका सरकारले स्वीकृत गरेमा पाँच वर्षभित्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ।'
स्वदेशमा पनि सिमेन्ट खपतका धेरै ठाउँ छन्। सडकदेखि राष्ट्रिय गौरवका आयोजनासम्म सिमेन्ट धेरै मात्रामा प्रयोग भइरहेको छ। उनका अनुसार बुढिगण्डकी, अरुण, पश्चिम सेती लगायत ठूला परियोजना आउने क्रममा छन्, यिनमा सिमेन्टको खपत धेरै हुन्छ। त्यसैले माग बढ्ने अपेक्षा कम्पनीको छ।
त्यस्तै अर्घाखाँची चाँडै प्राथमिक सेयर (आइपिओ) मा जाने तयारी गरिरहेको पनि जैसवालले जानकारी दिए।
'आइपिओ जारी गर्ने प्रक्रिया अगाडि बढिरहेको छ,' उनले भने।