आउँदो शनिबारबाट अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन। नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरूमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरू भइसकेको छ। एक साताअघिदेखि नै होटल बुकिङ सुरू हुन थालेको छ।
विशेषगरी पोखरा, चितवन, काठमाडौं, धुलिखेल, नगरकोट लगायतका होटल धमाधम बुकिङ भइरहेका छन्। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा क्रिसमस, अंग्रेजी नयाँ वर्ष लगायतले पर्यटक संख्या बढाएको व्यवसायीहरूको भनाइ छ।
होटल संघ पोखराले नयाँ वर्षका लागि होटल बुकिङमा ३० प्रतिशत छुट गराउन सबै होटललाई पत्र पठाएको छ। अन्य समयभन्दा नयाँ वर्षमा बढी पर्यटक आउने हुँदा छुट दिने निर्णय गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
सुवेदीका अनुसार कोरोना त्रासका कारण यस वर्ष बाह्य पर्यटक संख्या बढ्न सकेको छैन। यद्यपी नयाँ वर्ष अवसरमा तीन दिनका लागि होटल बुकिङमा आन्तरिक पर्यटकको उत्साह देखिन्छ।
'न्यू इयरका लागि पोखराका कतिपय होटल लगभग पूरा प्याक भइसके,' सुवेदीले भने।
त्यसो त डिसेम्बर र जनवरीलाई नेपाली पर्यटनको क्षेत्रमा अफ-सिजन मानिन्छ। तर पोखराको हकमा यो लागू नहुने उनको भनाइ छ। यहाँका पर्यटन व्यवसायीका लागि त डिसेम्बर महिना कमाइ गर्ने मुख्य महिना हो। क्रिसमस र नयाँ वर्षकै कारण पोखरामा डिसेम्बर अन्तिम साता आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने उनले जानकारी दिए।
उनले भनेजस्तै विदेशी पर्यटक भने यसपालि एकदमै कम मात्रामा छन्। यति बेला अवस्था सामान्य हुँदो हो त भारत र चीनबाट प्रशस्त पर्यटक आउँथे। यो वर्ष पनि भारतका धेरै पर्यटकले नेपाल आएर नयाँ वर्ष मनाउने तयारी गरेका थिए। होटलहरू बुक पनि भइसकेका थिए।
तर कोरोनाको नयाँ भेरिएन्टको प्रभाव बढेसँगै भारतीय पर्यटक संख्या घटेको सुवेदीले जानकारी दिए। नयाँ वर्ष र क्रिसमस मनाउनकै लागि पोखरा आउने भारतीय पर्यटकले एक साताअघिदेखि नै होटल बुकिङ गर्थे, गरेका थिए। तर यसपालिका धेरै बुकिङ रद्द भएको र यो क्रम चलिरहेको उनी बताउँछन्।
'ठूला होटलमा आएका भारतीय पर्यटकले गरेका केही बुकिङ रद्द भइरहेका छन्। यो कोरोनाको नयाँ भेरिएन्टको प्रभाव हो,' उनले भने।
पोखरास्थित होटल क्राउन हिमालय नयाँ वर्षका लागि पूरा प्याक भइसकेको छ। क्राउन हिमालय तीन तारे होटल हो जहाँ ३८ वटा कोठा छन्। ३० प्रतिशत छुटमा बुकिङ अफर दिएकाले पनि छिट्टै बुकिङ भइसकेको सञ्चालक आग्रह अर्यालले जानकारी दिए। तर उनको होटलमा पनि भारतीयका बुकिङ रद्द भइरहेको छ।
'८० प्रतिशत आन्तरिक पर्यटक र २० प्रतिशत भारतीय पर्यटकले बुकिङ गरेका छन्,' उनले सेतोपाटीसँग भने, 'ओमिक्रोनका कारण भारतीय पर्यटकले भने बुकिङ रद्द गरिरहेका छन्।'
विगतका वर्षमा पोखरामा नयाँ वर्ष पाँच दिनसम्म मनाइन्थ्यो। तर यस वर्ष घटाएर तीन दिन मनाउने कार्यक्रम छ। लकडाउनले ठप्प पारेको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै छ। विदेशी पर्यटक कम भए पनि क्रिसमस र नयाँ वर्षमा राम्रै व्यवसाय हुने व्यवसायीहरूको अपेक्षा छ।
नयाँ वर्षको चहलपहलसँगै सौराहाका पनि ५० प्रतिशत होटल बुक भइसकेका छन्। अग्रिम बुकिङ गर्नेको संख्या कम भए पनि नयाँ वर्षको दुई दिनअघि सौराहाका सबैजसो होटल पर्यटकले भरिने जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे बताउँछन्।
'सौराहा घुम्न आउनेभन्दा ९० प्रतिशत आन्तरिक पर्यटक हुन्छन्। उनीहरू दुई दिनअघि मात्र होटल बुक गर्छन्। त्यसकारण अन्तिमसम्म शतप्रतिशत होटल प्याक हुन्छन्। पोहोर-परारको तुलनामा यसपालि नयाँ वर्षमा उत्साह देखिएको छ,' क्षेत्रीय होटल एसोसिएसन सौराहाका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले भने।
कोरोना महामारीपछि पर्यटन क्षेत्र खुलेसँगै शुक्रबार र शनिबार पर्यटकीय क्षेत्रहरूमा पनि आन्तरिक पर्यटककै बाक्लो उपस्थिति देखिएको छ।
तर पछिल्लो समय फेरि देखिएको नयाँ कोरोनाका कारण पर्यटकीय गतिविधिमा असर परेको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन्।
'कोरोना प्रभाव कायम छ, नयाँ भेरियन्टका कारण बाह्य पर्यटकको संख्या झन् कम भएको छ,' उनले भने।
शाक्यका अनुसार विगतमा नयाँ वर्षका लागि ५० प्रतिशत होटल भारतीय पर्यटकले बुकिङ गर्थे। अहिले मुश्किलले २० प्रतिशत छ।