कृषि उद्योगमा अग्रणी निम्बसले फुडपार्क बनाउने भएको छ। फुडपार्कबाट उच्च पोषण भएका 'रेडी टु इट/इन्स्ट्यान्ट' (तयारी खानेकुरा) उत्पादन गरिने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए।
उनका अनुसार वीरगञ्जमा चार विघा जग्गा किनेर अहिले भवन निर्माणको काम सुरू भएको छ। फुडपार्कबाट मस्यौरा, चामल, दाल, मकै लगायतका उच्च पोषण भएका खाद्य वस्तुबाट तयारी खानेकुरा उत्पादन गरिने छ।
'हाम्रो पहिलो प्राथमिकता भटमास हो। भटमासमा धेरै प्रोटिन पाइन्छ। बढी त्यसैका उत्पादन हुनेछ,' बगरियाले सेतोपाटीसँग भने।
यी खानेकुरा तातोपानी राखेर या सिधै खान मिल्ने प्रकारका हुनेछन्।
'पकाउन भान्साको आवश्यक पर्दैन,' बगरियाले थपे, 'अनि स्वादिष्ट, पौष्टिक दुवै गुणले भरिपूर्ण हुनेछ।'
कम्पनीले अहिले चार/पाँच वटा उत्पादनको परिकल्पना गरिसकेको छ। बगरियाका अनुसार यी उत्पादन नयाँ भने होइनन्, बजारमा भएका खानेकुराकै नक्कल हुन्। तर आफूहरूले ल्याएका खानेकुरामा पौष्टिक तत्व धेरै हुने उनको भनाइ छ।
उत्पादन छनौटका लागि कम्पनीले दुई-तीन जना पोषण वैज्ञानिकहरूलाई जिम्मा दिएको पनि उनले बताए।
'अहिले बजारमा छिटो र सहज तरिकामा खान सकिने चाउचाउ छ। हामीले त्यसलाई विस्थापित गर्न खोजेका होइनौं, सक्दैनौं पनि,' उनले भने,' ग्राहकलाई रोजाइको विकल्प मात्र दिन खोजेका हौं। पक्कै ग्राहकले मन पराउँछन् भन्नेमा म ढुक्क छु।'
बगरिया थप्छन्, 'चाउचाउले पोषणबाहेक सबै कुरा सजिलो पारिदिएको छ। हामीले त्यही बजारमा आएर पोषणसहितको खानेकुरा दिन खोजेका हौं।'
कम्पनीले उक्त उत्पादन स्वदेशमा मात्रै होइन विदेशी बजारमा पनि बिक्री गर्ने लक्ष्य लिएको छ। निर्यातमा सहज होस् भनेर अहिलेदेखि नै अन्तर्राष्ट्रिय मापदण्डअनुसार खानेकुरा उत्पादन गर्ने योजना रहेको उनी बताउँछन्।
यो फुडपार्कबाट आगामी ६ देखि ८ महिनासम्ममा पहिलो उत्पादन बजारमा ल्याइसक्ने बगरियाको भनाइ छ। उनका अनुसार अहिले कम्पनीले जग्गा र भवन गरेर एक अर्बदेखि सवा अर्बसम्म लगानी गर्दैछ। आगामी दिनमा प्रत्येक वर्ष दसदेखि १५ करोड लगानी बढाउँदै र वर्षमा एक-दुइटा उत्पादन थप्दै जाने योजना छ।
निम्बसका यी उत्पादनहरू सुलभ मूल्यमै बिक्री गरिने बताउँदै बगरिया भन्छन्, 'धेरै महँगो हुँदैन, हरेक वर्गले किन्न सक्ने नै हुन्छ।'
आगामी पाँच वर्षभित्रै थप चार/पाँच वटा फुडपार्क सञ्चालनमा ल्याउने योजना पनि कम्पनीको छ। यसनिम्ति पाएमा पुराना उद्योग किन्ने, नपाए जग्गै किनेर प्लान्ट लगाउने योजना हो।
'अहिले पूर्व र पश्चिमतिर सोचिरहेका छौं, पुराना किन्न पाए उत्पादन छिट्टै ल्याउन सकिन्थ्यो,' उनले भने।
नयाँ फुडपार्कबाट फरकफरक उत्पादन गर्ने योजना निम्बसको हो।