त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अन्तर्राष्ट्रियसँगै आन्तरिक हवाइ यात्रु आवगमनको संख्या बढेको छ।
सन् २०२० को तुलनामा २०२१ मा अन्तर्राष्ट्रिय हवाइ यात्रु आवगमनको संख्या १९ प्रतिशतले बढेको हो। त्यस्तै आन्तरिक उडानतर्फ ११३ प्रतिशतले बढेको नेपाल उड्यान प्राधिकरणले जनाएको छ।
प्राधिकरणकाअनुसार सन् २०२० मा अन्तर्राष्ट्रिय उडानतर्फ ११ लाख ५ हजार १५९ यात्रुको आवगमन भएको थियो।
यस्तै सन् २०२१ नोभेम्बरसम्ममा १२ लाख ८० हजार २१२ जनाको आवगमन भएको छ। जसअनुसार गत वर्षको तुलनामा यात्रुको संख्या वृद्धि भएको हो।
त्यस्तै आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५३९ जनाको आवगमन भएकोमा २०२१ को नोभेम्बरसम्म यो संख्या ३१ लाख १६ हजार ६७५ रहेको छ। यसबाट हवाइ क्षेत्र विस्तारै पुनरुत्थानको चरणमा रहेको देखिन्छ।
प्राधिकरणको २३औं वार्षिकोत्सव समाहरोलाई सम्बोधन गर्दै महानिर्देशक राजकुमार क्षेत्रीले खोपको विकास र प्रयोग बढेसँगै आगामी दिनमा हवाई यात्रुहरुको संख्या बढ्ने बताए।
महानिर्देशक क्षेत्रीले प्राधिकरणले गरेका मुख्य कामहरुको समीक्षा गरे।
उनले राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तार्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य ९८ दशमलव ७६ प्रतिशत सम्पन्न भएको बताए।
त्यससँगै रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहाय उपकरणहरु जडान कार्य सम्पन्न भएको जानकारी दिए। त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाहरुको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको छ।
त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको बताए। सञ्चालनका लागि कार्यदल गठन गरिएको छ। अहिले कार्यदलले काम गरिरहेको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा वायुयानलाई सुरक्षित अवतरणका लागि मार्गदर्शन गर्न आधुनिक एप्रोच लाइटिंग सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७७–०७८ का लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्क बाहेक २ अर्ब ७ करोड ३२ लाख रुपैयाँ प्रक्षेपण गरेको थियो। तर सो रकममा २७ दशमलव ७१ प्रतिशतले बढ्न गइ २ अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ।
त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ ६० करोड २८ लाख प्रक्षेपण गरिएको थियो। ४८ दशमलव ६४ प्रतिशतले घट्न गई ३० करोड ९६ लाख आम्दानी भएको प्राधिकरणले जनाएको छ।
कोभिड–१९ को प्रभावले आर्थिक वर्ष २०७५–०७६ मा ९ अर्ब ९ करोड १८ लाख रहेको प्राधिकरणको कुल आम्दानी २०७६–०७७ मा २९ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ४९ लाख हुन पुगेको थियो।
त्यस्तै प्राधिकरणले आर्थिक वर्ष पूँजीगत, कार्य सञ्चालन गरी १६ अर्ब ८२ करोड ४८ लाख खर्च गरेको छ।
प्राधिकरणले चालु आर्थिक वर्षको लागि पूँजीगत र कार्य सञ्चालनतर्फ ३६ अर्ब १४ करोड ३९ लाख रकम छुट्याएको छ।