सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन–६ का लागि आवेदन खुलेको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आइडिया स्टुडियोले सिजन–६ का लागि आवेदन खुलाएको हो।
सिजन–६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडिया स्टुडियोले जनाएको छ।
आइडिया स्टुडियोले सिजन–५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूलाई स्थान दिइसकेको छ। त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन्। ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन्।
सिजन ६ का लागि आवेदन दिन ‘आइडिया स्टुडियो डटकम डट ओआरजी डट एनपी’ वा फोन सम्पर्कबाट पनि गर्न सकिने बताएको छ।
आइडिया स्टुडियोले नयाँ उद्यमीहरुको व्यापार अवधारणा उत्कृष्ट बनाउन सल्लाह दिने र उक्त विचारलाई एपीवान टेलिभिजनमार्फत प्रसारण गरिने बताएको छ। त्यसमध्ये ४ व्यवसायका (मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र इनोेभेसन) का लागि योग्य आइडियाहरू बीज लगानीका लागि योग्य हुनेछन्।
स्टुडियो कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्थापना भएदेखि नै आइडिया स्टुडियो नेपालले आफ्ना प्रमुख कार्यक्रमहरूमार्फत ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको बताए।
उनले भने, ‘आइडिया स्टुडियो सिजन–६ का लागि हामी आर्थिक लगानीको लागि मात्र नभई ज्ञान, समय, श्रोत र विश्वासका हिसाबले पनि मानिसहरूलाई आफ्ना विचारलाई वास्तविकतामा ल्याउन प्रोत्साहन र सशक्त बनाउन मञ्च प्रदान गर्न तयार छौं।’
आइडियाले सन् २०१६ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाँउ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ।