नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नयाँ रणनीतिसहित पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने बताए।
उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा राखे।
यस्तै मन्त्री आलेले बोर्डलाई संघीय संरचनाअनुरुप लैजान तथा कर्मचारीको वृति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए।
कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको बताए।
उनले पर्यटन पुन:उत्थानका लागि व्यवसायीहरुलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयले समेत पहल गरिरहेको जानकारी दिए।
यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउँदै त्यसका लागि पहल गर्न मन्त्रालयलाई आग्रह गरे।
बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले अन्तर्राष्ट्रिय पर्यटन आगमन घटेको सन्दर्भमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको जानकारी दिए। बोर्डले लगत्तै देशका सातै प्रदेशमा पर्यटन मेला आयोजना गर्ने भएको छ।
कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव न्यौपानले बोर्डले प्रकाशन गरेको इन्फोकस २०२१ को विमोचन गरेका थिए। वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।