निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।
सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं-सुर्खेत रुटमा उडान गर्दै आएको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए।
गुणले काठमाडौं-सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं-सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८:३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९:५० बजे उडान भर्ने जनाएको छ।
प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २:३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३:५० बजे उडान गर्ने बताए। बुद्ध एयरले भने दैनिक बिहान ७:२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ। रासस