नेपालको पर्यटनमा बाह्य पर्यटकको हिस्सा ठूलो छ। तर पर्यटकको आवगमन भने न्यून छ। कोरोना माहामारीको प्रभावले सन् २०२१ मा डेढ लाख पर्यटक भ्रमणमा आएका छन्।
अघिल्ला वर्षको तुलनामा यो संख्या न्यून हो। सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए।
कोरोना लकडाउनअघि भने पर्यटक आवगमनको संख्या उत्साहित थियो। सन् २०१९ मा नेपाल भित्रने विदेशीको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो।
माहामारीपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्किसकेका छन्। यद्यपी पर्यटन क्षेत्र भने अझै चलायमान बन्न सकेको छैन।
पछिल्लो समय देखिएको ओमिक्रोन भाइरसका कारण पनि पर्यटकीय क्षेत्रमा प्रभाव देखिएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्ता टोक राज पाण्डेले बताए।
यस वर्ष नेपाल आउनेमध्ये सबैभन्दा बढी भारतीय छन्। ६४ हजार ६ सय ७३ जना भारतीय पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। भारतपछि सबैभन्दा बढी अमेरिकाबाट २२ हजार ८ सय ५३ जना पर्यटक आएका छन्।
यस्तै संयुक्त अधिराज्य (बेलायत) बाट ८ हजार ६ सय ८० जना, उत्तरी छिमेक चीनबाट ६ हजार १ सय ९६ जना र बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।