दिवाकर गोल्छा ग्रुप कर्पोरेसन अन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले अहिले क्षमताभन्दा आधा मात्र जस्तापाता उत्पादन गरिरहेको छ। कम्पनीको उत्पादन क्षमता वार्षिक एक लाख ४० हजार मेट्रिक टन हो। तर हाल वार्षिक ६० हजार मेट्रिक टन मात्र उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।
गत वर्ष कम्पनीले करिब ५८ हजार मेट्रिक टन जस्ता उत्पादन गरेको थियो। क्षमताभन्दा पनि बजारको मागअनुसार उत्पादन गर्नुपरेको कम्पनीका प्रमुख वित्तीय अधिकारी सुनिल मनोतले बताए।
'विगतमा उत्पादन क्षमता कम थियो तर बजारमा माग धेरै थियो। अहिले क्षमता बढ्दा पनि माग कम छ। उद्योगहरू धेरै भएकाले आपूर्ति धेरै भयो। अनि माग कम,' उनले भने।
हुलासले जस्तापाता, कालो र जिआइ पाइप, विद्युतीय पोल, आलुमिनियमका सामग्री लगायत उत्पादन गर्छ। जस्तापाता अन्तर्गत कम्पनीले रंगीन र सादा बजारमा पुर्याउँदै आएको छ। उत्पादित जस्ता बन्डल र छुट्टाछुट्टै बिक्री गर्ने भएकाले मूल्य सोहीअनुसार निर्धारण गरिएको मनोतले जानकारी दिए।
कोरोना महामारी समयमा भएको लकडाउन खुकुलो भएसँगै हुलास स्टिलको उत्पादन र माग बढ्दै गएको पनि उनले बताए। उनका अनुसार हुलासले कोरोना अघिभन्दा बढी मूल्य र संख्यामा उत्पादित सामग्री बिक्री गरेको छ। जसकारण अघिल्ला वर्षको भन्दा आर्थिक पक्ष पनि सुधार हुने देखिएको छ।
विशेषगरी घर निर्माण, ठूला कारखानादेखि स–साना टहरा बनाउन जस्ता प्रयोग गरिन्छ। एउटा घर बनाउन चारदेखि पाँच बन्डल जस्ता चाहिने उनले जानकारी दिए।
हाल बजारमा वार्षिक डेढ लाख मेट्रिक टन जस्तापाताको माग छ।
'हाम्रो जस्तापाताले कुल बजार मागको ५० प्रतिशत पूर्ति गरेको छ,' मनोतले भने। साढे तीन दशकअघिबाट सञ्चालनमा आएको हुलासले आज पनि बजारमा आधा हिस्सा ओगटेको उनको भनाइ छ।
हुलास स्टिल इन्डस्ट्रिज सन् १९८१ मा स्थापना भएको थियो। सन् १९८९ देखि पहिलोपटक रंगीन पाता उत्पादन सुरू गरेको कम्पनीले करिब चार दशकदेखि बजारमा निरन्तर आफ्ना उत्पादन पुर्याइरहेको छ। ३५ जना कर्मचारीबाट सुरू कम्पनीमा अहिले ८ सय कर्मचारी छन्।
मनोतका अनुसार स्टिल कम्पनी स्थापना हुनुअघि भवन तथा संरचनालाई चाहिने हार्डवेयर सामग्री भारत, चीन, कोरिया र रूसबाट आयात हुन्थे। अहिले कच्चा पदार्थका एचआर सीट मात्र भारतबाट आयात हुन्छ। यसबाट जस्तापाता, पाइप, पोल लगायत सामग्री उत्पादन गरिन्छ।
'अहिले हुलासले उत्पादनको वार्षिक ५ प्रतिशत हाराहारी भारत निर्यात पनि गर्छ,' मनोतले भने, 'विगतमा छोटो समयमै हुलासले ग्राहकबाट राम्रो प्रतिक्रिया पायो। पूर्वदेखि पश्चिमसम्म पुगेपछि सबैको मन जित्यो। त्यसैले आज हुलास भए अरू किन खोज्ने भन्न सक्षम छौं।'
हुलासका उत्पादनमध्ये सबभन्दा बढी माग जस्तापाताकै रहेको पनि उनी बताउँछन्। उनका अनुसार दशकअघि ३० प्रतिशत उपभोक्ताले रंगीन जस्तापाता प्रयोग गर्थे भने ७० प्रतिशतले सादा। अहिले करिब ६० प्रतिशतले रंगीन र ४० प्रतिशतले सादा जस्ता लिन्छन्।
उपभोक्ताहरू गुणस्तरमा पनि सचेत भएका उनको अनुभव छ।
'घर भनेको जीवनमा एकपटक बनाउने हो। घर मात्र होइन, छाना पनि बलियो र टिकाउ हुनुपर्छ भन्ने सोच तथा ज्ञान मान्छेमा फैलिएको छ,' उनले भने।
कम्पनीले कालो पाइप र जिआइ पाइप पनि उत्पादन गरिरहेको छ। तर पछिल्लो समय प्लास्टिक पाइपको चलन बढेसँगै जिआइ पाइपको माग ह्वात्तै घटेको उनले बताए।
'विगतमा जिआइ पाइपको माग उच्च थियो। तर जब पोलिथिन पाइप आयो, जिआइ पाइप बनाउने धेरै उद्योग नै बन्द भए,' मनोतले भने।
अहिले जिआइ पाइप लगाउनै पर्ने ठाउँमा मात्र प्रयोग गरिने उनको भनाइ छ।
हुलासले पहिले वार्षिक ६ हजार मेट्रिक टन जिआइ पाइप उत्पादन गर्थ्यो। अहिले जम्मा चार सय मेट्रिक टनमा झरेको छ। कालो पाइपको माग भने बढेको र वार्षिक १७ हजार १३३ मेट्रिक टन उत्पादन भइरहेको उनले जानकारी दिए।
त्यस्तै कम्पनीले ७ देखि १३ मिटरसम्म लम्बाइका पोलहरू पनि उत्पादन गर्छ।
'बजारमा हुलासप्रति पहिले जुन विश्वास थियो, आज पनि उत्तिकै छ,' उनी भन्छन्, 'हुलासले ग्यारेन्टी दिएको छ। गुणस्तर घटाएको छैन। हुलासका जस्तापाता कम्तीमा बीस वर्ष टिकिरहेका छन्।'
हुलास इन्डस्ट्रिजमा हालसम्म आठ अर्बभन्दा बढी लगानी पुगिसकेको छ। कम्पनीको वार्षिक कारोबार ११ अर्बभन्दा माथि रहेको उनले जानकारी दिए।
'हामी आगामी दिनमा प्रि–फेब्रिकेटेड निर्माण सामग्री ल्याउने योजनामा छौं,' मनोतले भावी योजना सुनाए, 'अहिले अध्ययन क्रममै छौं।'