पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल (टान) को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बास्तोलाले उम्मेदवारी दिने भएका छन्।
टानको पूर्व उपाध्यक्षसमेत रहेका बास्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औं साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
बास्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय इतिहास बोकेको टानलाई अझै सशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।
‘नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन हो। कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई नै पुर्नउत्थान गर्न टानको प्रमुख भूमिका हुने भएकाले मैले टानको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने।
टानमा देशभरका दुई हजारभन्दा बढी व्यवसायीहरू आवद्ध छन्।
को हुन् निलहरि बास्तोला?
२०३५ साल पुस २९ गते सोलुखुम्बु नेचा सल्यान गाउँपालिकामा जन्मेका बास्तोला १६ वर्षको उमेरदेखि पर्यटकीय गतिविधिमा परिचित छन्। उनी २०५२ सालदेखि भने पूर्ण रुपमा पर्यटन व्यवसायमा आवद्ध भएका हुन् ।
२०५८ सालदेखि एशियन हेरिटेज कम्पनीमार्फत सक्रिय बास्तोलाको हाल एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इम्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन्।
बास्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए। साधारण सदस्य लिएसँगै उनले टानको विभिन्न समितिमा रही नेतृत्वदायी भूमिकाका कामहरूको अनुभव बटुलेका छन्।
बास्तोला सन् २०१३-२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७-२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएका थिए।