आफूले लामो समयदेखि गर्दै आएको रेष्टुरेण्ट घाटामा गएपछि उनले चलाउन सकेनन्। त्यसपछि त पैसा कमाउने एउटै बाटो देखे वैदेशिक रोजगारी। तर विदेश जान पनि समय लाग्ने भयो। तबसम्म कैलालीको घोडाघोडी नगरपालिका–१ का पहलवान देउवाले सुखडमै अटो पार्ट्स र मर्मत गर्ने काम थालेका थिए।
यहिबेला हो, उनका केही साथीहरूले भने - विदेश जानुभन्दा यतै मिलेर काम गरौं।
आफ्नै ठाउँमा काम गर्ने कुराले उनको मन उत्साही भैहाल्यो।
सुरूमा ५ जनाको समूह बनाएर उनीहरूले कुखुरा पालन गर्ने सोच बनाएका थिए। त्यसका लागि एक करोड लगानी लगाउने भए। केही रकम जम्मा गरेर कुखुरा फार्म सुरू पनि गरिहाले।
‘खोर बनाउनै करोड पुग्ने जस्तो देखिएपछि लगानी अपुग हुने भयो, कतिपय साथीहरूले लगानी थप नगर्ने पनि भन्न थाले,’ उनले भने।
सुरू भइसकेको काममा पैसा खर्च भइसकेकाले त्यसै छोड्ने अवस्था पनि थिएन। त्यसपछि पहलवान एक्लै चलाउन कस्सिए।
'अरू चारैजना साथीहरूको शेयर फिर्ता गरेर फार्मलाई आफ्नो नाममा लिएँ,' उनले भने,'२०७५ सालदेखि नै कुखुरा पाल्न थालेको थिएँ।'
कुखुरा पाल्न थालेको एक वर्षपछि उनले पनि कोरोनाको महामारी खेप्नुपर्यो।
उनको जिन्दगीमा यस्ता उतारचढावहरू कति आएका थिए, थिए। सानैदेखि पैसा कमाउन जानुपर्ने बाध्यता र चलनले उनलाई धेरै कुरा सिकाएको पनि थियो।
त्यतिबेला गाउँमा केटाकेटी हुर्किन नपाउँदै पैसा कमाउन भारत जाने चलन थियो। भारत गएर पैसा कमाउनेको इज्जतै बेग्लै।
दुई चार महिना बसेर फर्किंदा लाहुरेको शान देखाउन पाइने लोभले स्कुल जान पनि चटक्कै छोडेर किशोरहरू भारत पस्थे।
लोभ र सौखमात्र पनि होइन आर्थिक अवस्था राम्रो नभएका परिवारका केटाकेटीको कलिलो काँधमै जिम्मेवारी आइपर्थ्यो र उनीहरू आफ्नो सपना देख्न नपाउँदै भारत जानेको लर्कोमा मिसिन्थे।
तिनै किशोरमध्ये एक थिए पहलवान। उनी पनि नौ कक्षामा पढ्दा-पढ्दै १४ वर्षकै उमेरमा पैसा कमाउन भारत हिँडेका थिए।
चार वर्ष भारतको काम गरेपछि उनको मनमा फोर्स (सेना) को जागिर गर्ने इच्छा पलायो। २०६० सालतिर आर्मीमा जान उनले फारम भरे।
तर त्यो बेला सामान्य युवाले आफ्नो रहर पूरा गर्न सक्ने गरी देशको परिस्थिति अनुकूल थिएन।
माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा थियो। उनले फारम भरेको थाहा पाएपछि माओवादीले भन्न थाले- शाही सेनामा होइन देश बदल्ने हाम्रो सेनामा लड्नुपर्छ।
बाआमाले बरू लाहुरै जा भनेपछि उनी फेरि भारत पसे।
केही वर्ष भारतका होटलहरूमा काम गरे। ८ वर्ष काम गर्दै सिक्दै गएपछि उनलाई लाग्यो अर्काको होटलमा काम गर्नभन्दा आफ्नै रेष्टुरेन्ट खोल्न सही।
महाराष्ट्रमा केही वर्ष उनले रेष्टुरेन्ट चलाए। फेरि उनको मनले भन्न थाल्यो, यति नै गरेपछि किन अर्काको देशमा गर्नू। आफ्नै देश फर्किनु आफ्नाको बीचमा काम गर्नू।
‘जिन्दगीमा केही त गरौं आफ्नै ठाउँमा गरौं भन्ने लागेर म नेपाल फर्कें,’ उनले भने।
भारतबाट फर्केर उनले होटल खोले। घोडाघोडीको सुख्खड बजारमा होटल खोलेको होटल भारतमा झैं चलेन।
'यहाँ त उधारो दिनपर्ने भो,' उनले भने, 'उधारो दिएपछि त होटल डुब्यो नि।'
त्यसपछि भने उनले तेस्रो मुलुकतिर कमाउन जाने सोचले पासपोर्ट बनाए। बुवाबाट उनको हिस्सामा परेको डेढ कठ्ठा जमिनमा खेती गरेर केटाकेटी पाल्न उनले सम्भव देखेका थिएनन्।
त्यसैले उनी विदेश जान खोजेका थिए। तर आखिर उनलाई कृषिले तान्यो।
साथीभाइ मिलेर खोलेको कुखुरा फार्म एक्लै चलाउन थालेपछि यसमा आउने चुनौती पनि उनले एक्लै सामना गर्नुपर्यो।
कोरोना महामारी लाग्ने बेला उनको फार्मका कुखुरा मासु बनाउन योग्य थिए।
‘बेच्न तयार भएका १० हजार कुखुरा थिए,' उनले भने,'लकडाउनका कारण बेच्न, बाहिर पठाउन नपाएपछि ती मरे।' उनका अनुसार त्यतिखेर एउटा कुखुराको मोल ६ सय थियो।
१० हजार कुखुरा मर्दा मात्र साठी लाख जति क्षति भयो। उनको फार्ममा अण्डा पनि थिए। ती पनि बेच्न नपाएर कुहिएर गए।
यतिन्जेल उनले कृषि कर्म गर्ने हो भने आफैं नै १६/१७ घण्टा खटिनुपर्ने रहेछ भन्ने थाहा पाइसकेका थिए।
उनी बिस्तारै आफू २४ सै घण्टा खटिन तयार भए।
त्यसपछि फेरि उनले फार्म र ग्यारेज दुवै धितोमा रोखेर बैंकबाट ऋण लिए।
किनभने कुखुरामात्रै पाल्नुभन्दा बहुउद्देश्यीय कृषि गर्ने सोच बनाइसकेका थिए।
ऋण लिएर उनले १७ बिघा जमिन भाडामा लिएका छन्। प्रतिबिघा २४ हजार भाडा तिर्ने बताए। हरेक २ वर्षमा १० प्रतिशतले भाडा बढ्छ।
यो जमिनमा कुखुरा फार्म, बाख्रा, बंगुर, माछा, टर्की, लौकाट, बटै, हाँस पालन गरेका छन्। उनको फार्ममा अहिले २ हजार बोइलर कुखुरा, ३ हजार लोकल कुखुरा, २ सय बाख्रा र १ सय बंगुर छन्।
१५ कठ्ठा जमिनमा ड्रागन फ्रुट र ७ बिघामा केरा खेती लगाएका छन्।
आफ्नो फार्म हाउसबाट उत्पादन हुने अण्डा, केरा र मासु स्थानीय बजारमै खपत भइरहेको उनले बताए।
फार्मका कर्मचारी र आफ्नो परिवारले खान भनेर उनले ४ बिघा जमिनमा धान रोपाइँ गरेका छन्।
माछालाई चाहिने खाना सुंगुर पालनबाट मिल्छ। घाँस खेतीबाट बाख्रा पालनमा सहजता भएको छ। एक अर्को व्यवसायलाई जोडेर उनले कृषि गरिरहेको बताए।
पछिल्लो दुई वर्षमा यसमा लागत बढेर दस करोड पुगेको उनी बताउँछन्। ठूलो क्षेत्रफल जमिनलाई विभिन्न भागमा बाँडेर अलग-अलग किसिमका खोर र कार्यालय भवन बनाउन मात्र ५ करोड जति लगानी लागिसकेको उनी बताँउछन्।
आफ्नो फार्ममा २५ जना कर्मचारीलाई उनले रोजगारी दिएका छन्। अलग-अलग ठाउँमा काम गरिरहेका छन्।
अहिलेसम्म लगानीमै जोड दिएको उनले बताए।
'अब फिर्ता आउन थालिसक्यो,’ उनले भने।
साथीभाइले डुब्छ भने पनि हार नखाएका उनी लकडाउनपछि थप लगानी गरेर जोडले लागेको बताउँछन् ।
अहिले उत्पादित मासु तथा अण्डा, कुखुरा, बाख्रा, केरा आदि बेच्नलाई प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान पाएर गाडी किनेका छन्।
दिनभरिमा कार्यालय व्यवस्थापन र खोरतिरको केही काम उनी आफू पनि गर्छन्। काम गरेपछि त्यसको फल पाइन्छ भन्ने उनलाई विश्वास छ।
‘संघर्ष गरे हुँदो रहेछ, यसलाई सफल गराउँछु भनेर लागेको छु, केही वर्षमै यसले मलाई लगानी भन्दा कैयौं बढी मुनाफा दिनेछ, अहिलेसम्म त लगानी लगाइरहेको छु, मुनाफा भने, राम्रै देखेको छु,’ उनले भने।
गत वर्ष उनले ७ लाख राजश्व सरकारलाई तिरेको बताए।
अहिले परिवार र साथीभाइले उनको फार्म हाउस देखेर बधाई दिन थालेका छन्। थप सहयोग चाहिए भन्नु है भन्ने पनि धेरै छन्।
‘देख्नेहरू खुसी लाग्यो भन्छन्, मलाई कृषिमा काम गर्न आनन्द पनि लागिरहेको छ,’ उनले भने।
‘कृषि क्षेत्रमा फार्म र मेरो नाम धेरैले चिन्न थालेका छन्, सरकारी सहयोग पाएर गर्छु भन्ने मलाई लाग्दैन, आफैंले गरेर यसलाई सफल बनाउने मेरो सपना छ,’ उनले भने।
उनले पालेका पशुपंक्षीमा लाग्ने रोग, त्यसको उपचार गर्ने मान्छे र औषधी नपाएर समस्या हुने गरेको बताए।
‘कृषि प्रधान देश भन्छौं तर किसानको पहिचान भने छैन, भारतबाट चोरेर ल्याएका कुखुरा, माछा, केरा देखाएर कृषक बन्ने पनि छन्, आफ्नै मेहनत गरिरहेका पनि छन्, सरकारले चिन्न सक्नुपर्छ,’ उनले भने।
राज्यले किसानहरूको वर्गीकरण गर्नसके राम्रो हुने उनको सुझाव छ।
कृषि कर्ममा लागेकाहरूलाई राज्यका तर्फबाट बजारीकरणको व्यवस्था गरिदिए सहज हुने उनले बताए।
उनका अनुसार भारतबाट आयात हुने माछा, मासु, अण्डा, केराले स्वदेशको बजार बिगारेको छ।
‘भारतमा किसानहरूलाई उत्पादन लागत कम हुन्छ त्यही त्यहाँको सामान बजारमा सस्तोमा जान्छ, हाम्रोमा उत्पादन लागत महँगो हुन्छ, यहाँको उत्पादन स्वास्थ्यका लागि फाइदाजनक भएपनि महँगो भयो भन्दै उपभोक्ताले खरिद गर्न मान्दैनन् तर, भारतबाट आएको सामान विषादी भए पनि सस्तोमा पाइन्छ भन्दै खरिद गर्छन्,’ उनले भने।
घोडाघोडी नगरपालिकाका कृषि अधिकृत जनकसिंह धामीले पहलवानको प्रशंसा गरे।
देउवाजस्ता व्यवसायिक कृषिमा लागेकाहरूबाट समाज र राज्य दुवैलाई फाइदा हुने उनी बताउँछन्।
‘उहाँहरूको व्यवसाय देखेर यहाँ गरेपछि त हुँदोरहेछ भन्ने धेरैलाई परेको छ। कृषिमा आकर्षण बढेको छ। अरू मान्छे पनि उत्साहित भएका छन्,’ उनले भने।
धामीले यस्ता कृषि उद्यम गर्नेलाई बेला मौकामा सहयोग र समन्वय नगरपालिकाले गर्ने गरेको बताए।
कृषकलाई अनुदान, अगुवा उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमले व्यवसायिक किसानलाई हौसला थप्ने उनको विश्वास छ।
नगरपालिकाका स्थानीय राम बहादुर बिष्टले देउवाको बहुउदेश्य कृषि फर्म देखेर आफुलाई लोभ लाग्ने गरेको बताए।
‘उहाँको फर्ममा बाख्रा, कुखुरा, भैसी, बंगुर, देख्दा रमाइलो लाग्छ, पहिला यो ठाउँ सुनसान थियो अहिले उहाँले गरेको कामका कारण यहाँ चहलपहल बढेको छ, स्थानीय मान्छेले रोजगार पाएका छन्, स्थानीय स्तरमा यो काम गर्नु राम्रो हो,’ उनले भने।