यती एअरलाइन्सको मोबाइल एपमा नयाँ फिचर थपिएको छ। यसमा ‘सहज यात्रा’ अफर थपिएको हो, जसको मद्दतमा यती एयरलाइन्सका यात्रुले पठाओमा यात्रा गर्दा छुट पाउन सक्नेछन्। यसैको लागि राइड सेअरिङ एप पठाओ र यती एयरलाइन्सबीच सोमबार सम्झौता भएको छ।
सम्झौताअनुसार अब यती मोबाइल एप वा वेबसाइटमार्फत् टिकट खरिद गरेर यात्रा गर्दा यात्रुहरूले पठाओको कार लाइट (ट्याक्सी) सेवामा ५० प्रतिशत अर्थात् एक सय ७५ रुपैयाँसम्मको छुट पाउन सक्छन। त्यस्तै मोटरसाइकल र स्कुटर सेवामा यात्रुले २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले काठमाडौं उपत्यकाका यात्रुलाई घरदेखि एयरपोर्ट र एअरपोर्टदेखि घरसम्म जानका लागि सहज होस् भनेर उक्त अफर सार्वजनिक गरेको बताउँछन्।
'यती मोबाइल एप वा वेबसाइटमार्फत् टिकट खरिद गर्ने बित्तिकै यात्रुले मोटरसाइल र कार दुवैको लागि छुट कोडहरू एसएमएसमार्फत् प्राप्त गर्न सक्ने छन्,' उनले भनेका छन्, 'यात्रुले पठाओमा उक्त कोड प्रयोग गरेर राइड बुक गर्दा तुरुन्त छुट पाउन सक्नेछ। यद्यपि यी कोडहरू ७ दिन भित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ।'