दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत बियार्के मिक्केलसनले सोमबार नयाँ लोगो सार्वजनिक गर्दै व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु गरेको बताएका छन्।
दक्षिण एशियाको ई-कमर्स प्लेटफर्म दराजले हाल नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ।
'विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ। र, हामी हाम्रो यात्राको अर्को पाठमा अघि बढ्दै ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायिक गियरहरू परिवर्तन गर्दैछौं। साथै ब्रान्डको विकास र रिब्रान्डिङ गर्ने यो सही समय हो,' संस्थापक एवम् सिइओ बियार्के मिक्केलसनले भनेका छन्।
उनले ब्रान्डको नयाँ रूप र अनुभूतिले कम्पनीको प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्ने समेत बताए। कम्पनीले यो रिब्रान्डिङ रणनीतिसँगै भविष्यमा ग्राहक र बिक्रेताहरूसँग थप नजिकी सम्बन्ध विस्तार गर्ने बताएको छ।
रिब्रान्डको विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो। यो नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। लोगोको बीचमा एउटा तीर छ जसले प्रगति र द्रुत डेलिभरीमा कम्पनी केन्द्रित रहेको जनाउँछ।
रिब्रान्डिङसँगै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ। वर्तमान एमडी लिनो अहलेरिङ पुस महिनाको अन्तिममा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले एमडीको पद सम्हाल्ने कम्पनीले जनाएको छ।
'रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनसँगै दराज नेपालको यो नयाँ सुरुवात हो। हामी ग्राहकहरू र साझेदारहरूसँगको सम्बन्ध थप बलियो बनाउँदै जानेमा हामी विश्वस्त छौं,' आँचले भनेकी छन्।
यसबाहेक दराज नेपालले नयाँ वेबसाइट पनि सुरु गरेको छ, जसमा नयाँ ब्रान्डहरू जोडिने कम्पनीले बताएको छ।