क्याम्पस पढ्न गुल्मीबाट बुटवल झरेकी थिइन् नानुमाया केसी।
उनलाई बुटवल मन परेन। त्यहाँबाट पाल्पा लागिन् र तानसेन बजारमा बसेर त्रिभुवन क्याम्पस पढ्न थालिन्।
यो २०६० सालतिरको कुरा हो। एफएम रेडियोको क्रेज बढ्दो थियो। नानुमायालाई रेडियोमा बोल्ने हुटहुटी जाग्यो। उनले श्रीनगर एफएममा सिनेमासम्बन्धी कार्यक्रम तयार पार्न थालिन्। रेडियो विज्ञापनहरूमा आवाज पनि दिन्थिन्।
तर छ महिनामै रेडियोको जागिर छाडेर उनी आफ्नै व्यवसाय गर्ने धूनमा लागिन्।
उनी ब्युटिपार्लरको काम सिक्न चाहन्थिन्। त्यसका लागि २० हजार लाग्ने भएपछि उनले मन मारिन् र एउटा मार्केटिङ कम्पनीमा जागिर खाइन्। जागिरकै सिलसिलामा दाङको तुलसीपुर आएर काम गर्न थालिन्।
यसैबीच ओखलढुंगा बस्ने पुष्पराज श्रेष्ठसँग उनको बिहे भयो। विवाहपछि मार्केटिङको कामले मात्र घरव्यवहार धानिँदैन भन्ने नानुमायाले बुझिन्। त्यसपछि त आफ्नै व्यवसाय गर्ने उनको इच्छा झनै प्रबल भएर आयो।
व्यवसाय त गर्ने तर के?
धेरै सोचविचार गरेपछि उनलाई सिलाइकटाइ गरूँ कि भन्ने लाग्यो।
उनी छ-सात कक्षा पढ्दादेखि नै झ्यालढोका, खाट र सोफामा राखिने लेस बुनेर खर्च जोहो गर्थिन्। आमाले स्विटर, टोपी लगायत बुनेको हेर्दाहेर्दै बुन्न सिकेकी थिइन्। उनका बुनाइ गाउँले दिदी-भाउजूहरूले किन्थे। एसएलसीपछि तीन महिनाको खाली समय गाउँमै सिलाइकटाइ तालिम पनि लिएकी थिइन्। तर लामो समय यो काम नगरेकाले उनलाई व्यवसाय थाल्नुअघि आफ्नो सीप तिखार्नुपर्ने थियो।
यही सोचेर नानुमायाले तुलसीपुरका थुप्रै सिलाइकटाइ पसल चहारिन्। कोही उनलाई सिकाउन तयार भएनन्। आखिरमा तुलसीपुरकै पुरानोमा गनिने 'चिनो टेलर' का सञ्चालक राजी भए।
उनलाई त्यहाँ कपडा काटेर सिलाउन दिइन्थ्यो। उनी अर्काले कपडा काटेको एकटक हेर्थिन्। कुन पोसाकका लागि कहाँबाट कसरी काटिँदो रहेछ खुब ध्यान दिन्थिन्। त्यो नाप आफ्नो कापीमा टिपेर घर लैजान्थिन् र त्यसलाई आफ्नै ढंगले अध्ययन गर्थिन्।
यसरी अर्काले काटेको र सिलाएको हेर्दै त्यही आधारमा घरमै पुराना कपडा काट्ने र सिलाउने अभ्यास गर्न थालिन्।
त्यति बेला उनीहरू तुलसीपुरको हात्तीखौवामा डेरा बस्थे। श्रीमान-श्रीमतीसँग दुई जोरभन्दा बढी फेर्ने कपडा थिएन। अभ्यास गर्नधरि कपडा नभएपछि उनले घरबेटी र छरछिमेकसँग पुराना कपडा मागिन्। धन्न उनको सिलाइ रूचि देखेर एसएलसीपछि नै दाइले भारतबाट मेसिन किनेर ल्याइदिएका थिए। त्यो मेसिन उनले विवाहपछि आफूसँगै ल्याएकी थिइन्।
'दाइले ल्याइदिएको मेसिन र छरछिमेकसँग बटुलेका पुराना कपडाबाट मेरो अभ्यास चल्यो,' नानुमायाले भनिन्, 'मिडी, पेटीकोट, ब्लाउजजस्ता सामान्य पोसाकमा हात बसेपछि सिलाइकटाइ पसल खोल्ने आत्मविश्वास आयो।'
आत्मविश्वास त आयो तर पसल खोल्न पैसा थिएन।
नानुमायाले श्रीमानसँग सल्लाह गरिन्। कोठामा १३ हजारमा किनेको एउटा टिभी थियो। उनीहरू त्यही बेचेर पसल खोल्ने तयारीमा लागे।
यो योजना घरबेटीले थाहा पाएछन्। उनले नानुमायाको मेहनत देखेका थिए। त्यसैले ५ हजार सापट दिन तयार भए।
'मैले त्यो पैसा लिएर श्रीमानलाई कपडा सिउने मेसिन किन्न नेपालगन्ज पठाएँ। अनि दुइटा मेसिन राखेर तुलसीपुर बजारमा पसल सुरू गरेँ,' नानुमायाले भनिन्।
यो २०६४ सालतिको कुरा हो। पसल खोलेको दुई दिनसम्म एक जना ग्राहक पनि आएनन्। सटरको भाडा महिनाको एक हजार ५ सय रूपैयाँ थियो। आफू बस्ने कोठाको पाँच सय तिर्नुपर्थ्यो। ग्राहक आउँदै नआए पसल कसरी धान्ने होला भनेर उनी चिन्तित भइन्।
नानुमाया ती महिलालाई आज पनि झल्झल्ती सम्झन्छिन् जो तेस्रो दिन ब्लाउज सिलाउन र साडीमा फल्स राख्न आएकी थिइन्।
'उहाँ मेरो पहिलो ग्राहक हुनुहुन्थ्यो। उहाँको कपडा काटेर ब्लाउज सिलाएको र साडीमा फल्स हालेको म कहिल्यै बिर्सन्नँ,' उनले १४ वर्षअघिको घटना सम्झँदै भनिन्, 'मलाई यो पनि याद छ, त्यो कामको मैले ६५ रूपैयाँ ज्याला पाएकी थिएँ। पसल सुरू गरेपछिको त्यो पहिलो कमाइ मेरो निम्ति लाख बराबर थियो।'
बिस्तारै उनको पसलमा दिनको एक-दुई जना ग्राहक आइरहन थाले। यसले उनको हौसला बढ्यो।
व्यवसायको टर्निङ प्वाइन्ट भने त्यसपछि आयो, जब उनको पसलको ठ्याक्कै अगाडि रहेको बुटवल वस्त्रालयका साहुजीले आफ्ना ग्राहकलाई कपडा सिलाउन नानुमायाकहाँ पठाइदिन थाले।
यसले नानुमायाको व्यवसाय चम्कियो। उनी साताकै १४ सय रूपैयाँसम्म कमाउन सफल भइन्।
एउटा कुर्ता-सलवार सिलाएको ज्याला नै जम्मा ८० रूपैयाँ पर्ने बेला साताको चौध सय भनेको ठूलो कमाइ थियो।
'त्यतिखेर तुलसीपुर बजारमै सिलाइ पसल चलाएर बसेका महिला थिएनन्। त्यही भएर पनि मेरो पसल सबैको आँखामा परेको थियो,' उनले भनिन्।
उनले सिलाइ सिक्न चाहने महिलालाई तालिम पनि दिइन्। कुनै समय महिनामै २१ जनासम्मलाई सिकाउने गरेको उनी बताउँछिन्।
तालिम दिन थालेपछि उनको कमाइ बढ्दै गयो। उनले दुइटा मेसिनबाट तीनवटा र तीनबाट चार बनाइन्। कालिगढहरूलाई रोजगार पनि दिन थालिन्।
'म रातदिन मेहनत गर्थेँ। श्रीमानले पनि आइरन गर्न र अरू काममा सघाउनु हुन्थ्यो,' उनले भनिन्।
बिस्तारै उनीकहाँ स्थानीय महिलाहरू विभिन्न डिजाइन देखाउँदै अर्डर लिएर आउन थाले। यसको निम्ति उनलाई थरीथरीका कपडाको खाँचो पर्थ्यो। उनी कपडा किन्न सुनौलीसम्म पुग्थिन्। पछि काठमाडौंबाट ल्याउन थालिन्।
ग्राहकले ल्याएको डिजाइनअनुसार सिलाउँदा सिलाउँदै उनले आफ्नै डिजाइनका कपडा तयार पार्न सुरू गरिन्। निरन्तर मेहनतका कारण उनी आज तुलसीपुरमा 'बेस्ट डिजाइनर' को पहिचान बनाउन सफल छिन्। उनको 'बागेश्वरी बुटिक' तुलसीपुरकै 'नम्बर वान' बुटिकमा गनिन्छ।
नानुमायालाई अचेल कामको भ्याइनभ्याइ छ। सिजनमा महिनाकै ४-५ लाखसम्म कारोबार गर्छिन्। तुलसीपुरमा उनका दुइटा पसल छन्। एउटा त्यही घरमा छ जहाँ उनले बाह्र वर्षदेखि चलाइरहेकी छन्। अर्को बुटिक तुलसीपुर-७ स्थित आफ्नै घरमा सुरू गरेकी छन्। दुवै ठाउँमा गरी १३ जना कालिगढ काम गर्छन्।
नानुमायासँग काम गर्ने कालिगढमध्ये महोत्तरीका वृज मोहन एक हुन्। उनी साडीको किनारमा बुट्टा भर्छन्। एउटा साडीमा बुट्टा भरिसक्न पाँच दिनसम्म लाग्छ। त्यसरी बनाएको साडी बुट्टा हेरेर १५ हजारदेखि २५ हजारसम्म पर्छ।
बिजौरीकी रोशनी ठकुराल पनि साँझ-बिहान लेहेंगा, कुर्ता-सलवार र ब्लाउज सिलाउन आउँछिन्।
'घरमा श्रीमान, छोराछोरी, आमाबुवा सबैको खर्च मैले नै धानेकी छु,' ठकुरालले भनिन्, 'नानुमाया दिदीका कारण हामीले श्रम गरेर बाँच्ने आधार पाएका छौं।'
नानुमायाका ग्राहक उनको कामबाट खुसी छन्। तीमध्ये तुलसीपुर-१२, एयरपोर्टकी अस्मिता डाँगी नियमित आउँछिन्। राप्ती बबई क्याम्पसमा बिबिएस पढ्ने उनले प्राय: नानुमायाकै पसलमा कपडा सिलाउने गरेको बताइन्।
'यहाँ कपडा राम्रो पाइन्छ, फिनिसिङ पनि एकदमै राम्रो हुन्छ,' उनले भनिन्।
नानुमाया अहिले पनि कपडाको नाप लिने, काट्नेजस्ता काम आफैं गर्छिन्। उनले डिजाइन गरेर बनाएका एउटै कपडाको मूल्य ४५ हजारसम्म गर्छ। बेहुला–बेहुलीका लागि पोसाक किन्नुपरे बागेश्वरी बुटिक नै पहिलो रोजाइ बन्ने गरेको छ।
पछिल्लो समय कुनै विवाह वा पारिवारिक समारोहमा परिवारका सबै सदस्य एउटै कपडाको पोसाक लगाएर जाने चलनले नानुमायाको बेफुर्सदी अझै बढेको छ।
'मैले डिजाइन गरेका कपडा विभिन्न चाडपर्व, विवाह र विशेष अवसरमा खोजी खोजी लगाइएको देख्दा म फुरूंग हुन्छु,' उनले भनिन्, 'भविष्यमा यसैगरी काम गरिरहन पाऊँ भन्ने इच्छा छ।'
स्थानीय बजार मात्र होइन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, बुटवल, काठमाडौंसम्म उनका डिजाइनको माग बढ्दै गएको छ। नानुमायाले फेसबुकमा 'बागेश्वरी बुटिक' नामको पेज पनि खोलेकी छन्। आफ्ना नयाँ डिजाइन उनी त्यही पेजमा राख्छिन्। त्यही हेरेर देश-विदेशबाट अर्डर आउँछन्।
गएको दसैंमा मात्र अस्ट्रेलिया, जापान, अमेरिका, पोर्चुगल, साइप्रस लगायत देशमा पाँच लाख रूपैयाँभन्दा बढीका डिजाइन कपडा कुरियरबाट पठाएको उनले बताइन्।
कुनै दिन घरबेटीसँग ५ हजार सापटी मागेर व्यवसाय थालेकी नानुमायाले अहिले तुलसीपुर-७ मा झन्डै डेढ कठ्ठा क्षेत्रफलमा घर बनाएकी छन्। अरू केही घडेरी पनि जोडेकी छन्।
सफलताको सिँढी चढ्दा चढ्दै बीचमा कल्पनै नगरेको बज्रपात उनले भोग्नुपर्यो- उनका श्रीमान पुष्पराजको करेन्ट लागेर मृत्यु भयो।
'हामी जिरोबाट संघर्ष गर्दै यहाँसम्म आएका थियौं। उहाँले दुःखभरि मलाई साथ दिनुभयो,' नानुमायाले भनिन्, 'अहिले सुखी जीवन बिताउने बेला, खुसी हुने र रमाउने बेला उहाँ मलाई एक्लै पारेर जानुभयो।'
श्रीमान गुमाएपछिको पीडामा केही समय उनले सबै काम छाडेकी थिइन्। निर्माणाधीन घर पनि लथालिंग भएको थियो। तर नानुमायाले एक्ला छोरा प्रशन्नबाबु श्रेष्ठलाई हेरेर हिम्मत बटुलिन्। घर निर्माण पूरा गरिन् र फेरि आफ्नो पेसामा फर्किइन्।
'रूँदै बसे झनै कमजोर भइन्छ,' उनले भनिन्, 'म एक्लै भए पनि हिम्मतले उठेँ, लथालिंग घरदेखि पसल सबै सम्हालेँ।'
'यो हामी दुवैले देखेको सपना हो। मैले बीचमै छाड्नु भनेको उहाँको सपना अधुरो पार्नु हो। अब यसलाई निरन्तर अघि बढाउने निधो गरिसकेँ। सुखदु:ख जे पर्छ, त्यसलाई खुसी खुसी सामना गर्दै अघि बढ्नु नै जिन्दगी हो,' नानुमायाले भनिन्।