अनलाइन बजार दराज नेपालका निवर्तमान प्रबन्ध निर्देशक लिनो अलरिङले नवनियुक्त प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई थप उचाइमा पुर्याउने विश्वास रहेको बताएका छन्।
शुक्रबार सेतोपाटीसँग कुरा गर्दै लिनोले योभन्दा अगाडि कार्लसन वागोनलिट ट्राभल र अमेजनजस्ता कम्पनीमा काम गरिसकेकी आँचलले दराजलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
दराज नेपाल भित्रिएदेखि नै लिनोले नेतृत्व गरेका हुन्।
‘साढे तीन वर्ष मैले काम गरेँ, यो समय मेरा लागि निकै महत्वपूर्ण रह्यो। टिम बलियो भएका कारण पनि अगाडि बढ्न सहज भयो। मैले काममा मजा लिएँ,’ उनले भने।
छोटो समयमा दराजले उपभोक्ताको विश्वास जितिसकेको उनको दावी छ। जसका लागि आफ्नो र टिमको निकै महत्वपूर्ण योगदान रहेको उनले बताए।
भौगोलिक हिसाबले उपत्यका बाहिरका विभिन्न स्थानमा सेवाविस्तार गर्न चुनौतीपूर्ण रहे पनि आफू र टिम केन्द्रित भएर खटेकै कारण उपत्यका बाहिर क्रमबद्ध रूपमा सेवा विस्तार गर्दै लैजान सफल भएको उनले बताए।
लिनोका अनुसार दराज नेपालका ४७ भन्दा बढी सहरमा विस्तार भइसकेको छ।
‘सुरूमा हामीसँग सयदेखि दुई सयको हाराहारीमा मात्रै बिक्रेताहरू थिए। हाल १५ हजारभन्दा बढी बिक्रेता हाम्रो प्लेटफर्ममा जोडिएका छन्। अहिले १३ लाख बढी उत्पादन हामीले राखेका छौं,’ उनले सेतोपाटीसँग भने।
दराजले विभिन्न समयमा महत्वपूर्ण क्याम्पियनहरू गर्दै गइरहेको उनले बताए। यसले इ-कमर्श क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे। नयाँ प्रबन्ध निर्देशक आँचललाई सफल कार्यकालको शुभकामनासमेत उनले व्यक्त गरे।
‘दराज नेपालको टिममा सबैजना नेपाली नै हुनुहुन्छ। इ-कमर्श क्षेत्रमा चुनौती त छँदैछन्। चुनौतीलाई चिर्दै आँचलजीले महत्वपूर्ण योगदान पुर्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले थपे।
लिनो केही समयपछि सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा जाँदैछन्। त्यसपछि आँचलले पदभार ग्रहण गर्नेछिन्। उनी दराजको प्रबन्ध निर्देशक हुने पहिलो महिला हुन्।
उनले दराजको नेतृत्व गर्न पाउँदा निकै उत्साहित भएको बताइन्।
नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए, मिनेसोटामास्थित सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट गणित र अर्थशास्त्रमा स्नातक सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकी छन्। यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्यान्ड, साउदी अरब र इजिप्टजस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग पुर्याएकी थिइन्।
दराज अहिले रि-ब्रान्डिङ हुँदैछ। दराजले आफ्नो नयाँ लोगोसमेत सार्वजनिक गरिसकेको छ। यसले दराजलाई थप नविनता प्रदान गर्ने विश्वास कम्पनीको छ।