नगर विकास कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको लागि लगानी प्रस्ताव गरेको छ।
कोषले शुक्रबार सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको छ।
त्यसका लागि इच्छुकले लिखित कागजातहरूसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ। प्राप्त भएको प्रस्तावहरू कोषको नियमअनुसार छनोट गरी आवश्यक कार्य अगाडि बढाउने जनाएको छ।
कोषले जारी गरेको सूचनाअनुसार थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्क सम्भाव्य स्थान रहेका छन्।
त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ।
प्रस्ताव पेश गर्दा पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, संघ संस्थाको नवीकरणसहितको दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयहरु पेश गर्नुपर्ने कोषले जनाएको छ।