तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ। इलाम नगरपालिका र तारा एअरबीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको हो।
सम्झौता अनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार काठमाण्डौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए।
इलाममा हवाई उडान सम्झौताको लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। १६ यात्रु क्षमता सिटको जहाजको एकतर्फी भाडा आठ हजार ७०० तोकिएको छ। सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ।
‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो। यसलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ। त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ,’ शाहले भने।
हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो आफ्नो अपेक्षा रहेको उनले बताए। इलाममा,सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगरलगायत थुप्रै पर्यटकीय केन्द्रहरु छन्।