रूकुम पश्चिमको सानी भेरी गाउँपालिका- ५ का ३० वर्षीय हरिबोल भारती रूकुमेली सामुदायिक अस्पतालमा लेखापालका जागिरे थिए। दश वर्ष जति काम गरेर यही वर्ष उनले जागिर छोडे। ब्यवस्थापन संकायबाट मास्टर्स डिग्री गरेका उनले लेखापालको जागिरबाट ३५ हजार मासिक तलव बुझ्थे।
जागिरमा उनको मन रमाएको थिएन। परिवार पाल्ने जिम्मेवारीले थिचिएका काँध पनि ३५ हजारले उकासिदैनथ्यो।
उस्तै अवस्था थियो २५ वर्षीय ध्रुवकुमार पुनको पनि। एकै गाउँठाउँका उनीहरू नाताले मामा–भान्जा पर्छन्। नेपाली विषय लिएर स्नातक गरेका पुनले एक वर्षदेखि घोराहीस्थित एउटा रेमिट्यान्समा काम गर्दै आएका थिए। १५ हजार मासिक तलब बुझ्थे।
यी दुवै घरका जेठा सन्तान थिए। दुवैका काँधमा घर परिवारको जिम्मेवारी उस्तै। घरको आर्थिक अवस्था दुबैको कमजोर।
परिवारकै खुसी धान्न जागिरबाट मात्रै सम्भव थिएन।
लाखौंलाख खर्चेर अवैध रूपमा अमेरिका लगायतका देश जाने फेसनै चलेको छ गाउँमा। उनीहरूलाई पनि त्यसैगरी विदेश जान सल्लाह दिने धेरै साथीभाइ र आफन्त थिए। तर, उनीहरूको मनले मानेन।
भेटेका बेला दुवैले सुख दुःखका कुरा गर्थे। जिम्मेवारी र भविष्यका कुराले दुवैलाई पिरोलेको थियो।
एकदिन उनीहरूबीच व्यवसायिक कृषिबारे कुराकानी भयो। विस्तारै उनीहरूले कृषिका कुरा गर्न थाले। योजना बुन्न थाले।
मामा भान्जाको सल्लाह मिल्यो। दुवैले जागिर छोडे। अब के गर्ने? दाङमै बसेर सम्भावना नियाल्न थाले। अनेक कृषि फार्म चहारे।
हरिबोल त्यहीँ क्रममा घोराहीका फत्तबहादुर बाँठाको च्याउ फर्ममा पुगेछन्। बाँठा रूकुमकै बासिन्दा हुन्। उनकोमा बसेर हप्ता दिन जति च्याउ खेतिको तरिका हेरे।
उनको मनले च्याउ खेती गर्ने निधो गर्यो। त्यसपछि उनी योजना लिएर मामा ध्रुवकुमारकहाँ गए।
ध्रुवकुमारलाई पनि भान्जाको योजना मन पर्यो। मामा– भान्जा मिलेर जग्गाको खोजी गर्न थाले।
तुलसीपुर बजारको सेरोफेरोमा एयरपोर्ट आसपासमा उनीहरुले एउटा खाली जग्गा देखे।
त्यो खाली जग्गा दुई जना मानिसको रहेछ। उनीहरूले दुवैलाई भेटेर आफ्नो योजना सुनाए।
जग्गा धनीहरू पनि वर्षौंदेखि खाली रहँदै आएको जग्गाबाट सित्तैमा केही पैसा मिल्ने कुराले खुसी भए।
‘भगवानले पनि तँ आँट म पुर्याउँछु भन्छन् रे,’ ध्रुवकुमारले सेतोपाटीसँग भने, ‘हामीलाई पनि त्यस्तै भयो। जग्गा धनी खोजी गर्यौं, भेट्यौं। उनीहरू राजी भइहाले।’
१७ कठ्ठा जग्गाको वार्षिक ८० हजार बुझाउने सर्तमा गएको असोजदेखि पाँच वर्षका लागि जग्गा लिजमा लिए।
त्यसपछि उनीहरूले काठमाडौंबाट एक जना ट्रेनर झिकाए। आउने जाने खर्च र दैनिक भत्ता दिएर च्याउसम्बन्धी तालिम लिए।
एक महिनापछि दुवैले आफ्नो आफ्नो फर्म दर्ता गरे। ध्रुवकुमारले गिताञ्जली च्याउ तथा तरकारी फर्म दर्ता गरे। हरिबोलले आयूष्मा च्याउ तथा तरकारी फर्म।
फर्म दर्ता गर्दा पहिले उनीहरू तुलसीपुर ६ को वडा कार्यालय पुगे। त्यहाँबाट सिफारिस लिएर तुलसीपुर उपमहानगरपालिकाको कार्यालय गए। त्यहाँबाट पनि सिफारिस भएपछि घोराहीस्थित घरेलु तथा साना उद्योगमा पुग्नुपर्ने रहेछ। हप्ता दिन भित्रै फर्म दर्ता भएको हरिबोल बताउँछन्।
बैंकमा ऋण लिन धितो राख्ने जग्गा जमिन उनीहरूको थिएन। त्यसैले ऋण लिन बैंक धाउनै परेन। केही पैसा आफैसँग थियो केही गाउँघरबाटै ब्याजमा ऋण लिएर काम सुरू गरे।
बाँसहरूबाट चार वटा जति ठूला टहरा निर्माण गरे। आफूपनि रातदिन काममा खटिए। ज्यालामा केही मानिसलाई काम गराए।
च्याउका लागि आवश्यक पराल उनीहरूले आसपासका गाउँघरबाट किनेर ल्याए।
पराल काट्न चाहिने मेसिन, पानीका लागि सानो पोखरी, प्लाष्टिक ब्याग (बल) सबै तयार पारे।
मामाको एक हजार बल र भान्जाले पनि उत्तिकै संख्यामा बल गरि दुई हजार बल च्याउ उत्पादनका लागि चार वटा टनेल भित्र झुण्ड्याएर राखे। ती बल झुण्ठ्याउन डोरी प्रयोग गरिएका छन्।
अहिले सम्म मामा–भान्जाले फार्ममा १४ लाख जति खर्च गरिसकेका छन्। यो विउ समेतको खर्च हो।
उनीहरूले अहिले काने च्याउ लगाएका छन्। यसको बिउ दाङमा महङ्गो परेपछि काठमाडौंबाटै मगाए। दुई सय ग्राम बिउ काठमाडौंमा ३५ रूपैंयामा पाइन्थ्यो भने भने दाङमा एक सय २०।
दुई सय ग्राम बीउबाट एउटा बल तयार हुन्छ। ‘एक हजार बलमा बिउ राख्दा ढुवानी सहितको खर्च हामीलाई लगभग ४० हजार पर्न गयो,’ ध्रुवकुमारले भने।
असोजतिर च्याउ खेती थाल्ने योजनामा काम सुरू गरेका उनीहरूले पुस महिनादेखि उत्पादन गरि बजारमा च्याउ पुर्याइसकेका छन्।
उनीहरूले दैनिक दुई क्वीइन्टलसम्म च्याउ उत्पादन गरि बिक्रि गर्दै आएको बताउँछन्।
सँगै काम सुरू गरे पनि उनीहरूले आफ्नो उत्पादनको अलग–अलग व्यवहार तथा हिसाव किताब राख्छन्।
ध्रुवकुमार सँधै बिहान सवेरै उठेर झकीझकाउ गोलाबाट च्याउ टिप्छन् र तौल गर्छन्। अनि कहिले अटोरिक्सा र कहिले आफैं मोटरसाइकलमा नजिकैको सब्जिमण्डीमा लगेर छोड्छन्।
‘म दैनिक ८० देखि १०० केजीसम्म च्याउ बेच्छु,’ उनले भने ‘च्याउ बिक्दैन कि भन्ने चिन्ता छँदै छैन।’
पुनले आफ्ना नियमित ग्राहकलाई समेत च्याउ पुर्याउन नसकेको बताए।
होलसेलमा बेच्दा १ सय ३० रूपैंया केजी र फुटकरमा बेच्दा १ सय ८० रूपैया किलोमा च्याउ बेच्दै आएको पुनले जानकारी दिए।
उनले दैनिक कम्तिमा पनि १२ हजारसम्मको च्याउ बेच्ने गरेको बताए।
हरिबोलले पनि त्यति नै च्याउ बेच्दै आएका छन्।
दुवैले आफ्ना फार्ममा आफै खटिएर काम गर्छन्। बरू श्रीमती र भाइबहिनीलाई पनि सहयोगका लागि बोलाएका छन्।
भविस्यमा आसपासमै मसरूम कटेज खोल्ने उनीहरूको योजना छ।
च्याउ खेती कसरी गर्ने?
हरिबोलले च्याउ खेती कसरी गर्ने भन्ने तरिका पनि हामीलाई सुनाए।
च्याउका लागि पराल अनिवार्य हुन्छ। त्यसलाई टुक्रयाएर काट्ने। काटेको पराल भिजाउने। त्यसमा ब्याक्टेरीयाहरू नरहोस् भन्नका लागि आगो बालेर बफ्याउने (स्टिम गर्ने)।
पानीमा उमालेको परालका टुक्राहरू ४/५ घन्टा यत्तिकै राख्नुपर्छ। जब मनतातो हुन्छ अर्थात १५ देखि २० डिग्री सेलसियसको तापक्रममा हुन्छ त्यतिखेरै च्याउको बीउ राखेर प्लाष्टिकमा प्याकिङ गर्नुपर्ने हुन्छ।
त्यसरी राखेको प्लाष्टिकमा २५ देखि २८ डिग्रीसम्मको तापक्रम मेन्टेन गर्नुपर्छ। यसरी बिउ राखेको १८ देखि २२ दिनमा च्याउ बिक्रिका लागि तयार हुन्छ।
एक पटक बनाएको बलमा बिउ राखेपछि आवश्यक तापक्रम मिलाउन सके तीन/तीन महिनामा च्याउले यसैगरी उत्पादन दिइरहन्छ।
एउटा बलबाट पाँचदेखि आठ केजीसम्म च्याउ उत्पादन हुने उनीहरू बताउँछन्।
‘पहिले हामीले लगानी सँगै रातदिन मेहनत पनि गर्यौं,’ हरिबोलले भने ‘अब हामीले फाइदा लिन सुरू गरेका छौं।’
आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन्।
एक जनाले दिनको १२ हजारसम्म कमाउने र सबै खर्च कटाएर आधा बढी बचत गर्ने गरेको ध्रुवकुमार बताउँछन्।
‘झनै हामी त आफैं मेहनत गरिरहेका छौं। त्यसैले बिक्रिको ८० प्रतिशत फाइदा हुन्छ,’ उनले भने।