‘पेन्सन राम्रै आउँदो हो। रिटायर्ड लाइफमा आनन्दसँग आराम नगरेर किन पसल चलाएको?’
म्याग्दी सदरमुकाम बेनीबजारमा धौलागिरी कोसेली घर चलाउँदै आएकी मिना राम्जालीले बेलाबेलामा यस्तै प्रश्नहरूको सामना गर्नुपर्छ।
‘पैसा कमाउन भन्दा पनि आफूलाई व्यस्त राख्न कोसेली घर चलाएकी हुँ’, उनी जवाफ दिन्छन्, ‘म त मिहिनेत गर्ने मान्छे। दुःख गर्न मन लाग्छ।’
उनी स्टाफ नर्स हुन्। जीवनका तीन दशक भन्दा लामो समय स्वास्थ्य क्षेत्रमा विताइन्। वि.सं. २०७५ मा जिल्ला अस्पताल म्याग्दीमा कार्यरत रहँदा जागिरबाट राजीनामा दिइन्। उनलाई मेडिकल लाइनको राम्रो ज्ञान छ। उनी औषधी पसल चलाउन सक्थिन्, मनग्गे आम्दानी गर्न सक्थिन् तर चलाइनन्। बरू गाउँघरका उत्पादनसँग बजारका मान्छेलाई जोड्ने काम गरिन्।
मान्छे पैसाकै पछि मात्र दौडनु हुन्न। आखिर कर्म गरेपछि फल त मिलिहाल्छ। कोसेली घरको कमाई राम्रै छ।
‘महिनामा अढाई लाखदेखि तीन लाख रूपैयाँसम्मको व्यापार हुन्छ’, उनले भनिन्, ‘लकडाउनले अचेल व्यापार कम छ।’
उनलाई थकाई लाग्दैन, बिहान ६ बजेदेखि साँझसम्मै काममै व्यस्त हुन्छिन्। एक जनालाई रोजगारी दिएकी छिन्। परिवारका सदस्य मिलेर पसल चलाउँछन्। बिहानैदेखि काममा खटिन्छिन्। खाद्यान्न केलाउन, सुकाउन, प्याकेजिङ गर्न र बेच्नमै दिन वित्छ।
उनकोमा विशेषतः खानेकुरा पाइन्छ। स्थानीय दाल, भटमास, भाँगो, टिम्मुर, मह, घ्यु, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, निगालो टुसाको सुकुटीलगायतका करिब सय थरिका सामान पाइन्छ। साथमा लोकल कुखुरा पनि।
उनी म्याग्दी, पवर्त र मुस्ताङका गाउँघरमा उत्पादन भएका अर्गानिक सामान संकलन गर्छिन्।
कोसेली घर चलाएको धेरै भएको छैन। २०७५ सालमा १५ जना साथीहरू मिलेर ७ लाख ५० हजार रुपैयाँमा खोलिएको थियो।
एक वर्षपछि साथीहरूले समय दिन सकेनन्। त्यसैले वि.सं. २०७६ पुसदेखि उनले कोसेली घरको पुरै स्वामित्व आफैं लिइन्। अहिले ५० लाख रूपैयाँ लगानी पुगिसकेको छ।
‘व्यापारले गति लिँदै थियो। त्यही वर्षदेखि कोरोनाले गर्दा लकडाउन भयो’, उनले भनिन्, ‘अरू त सबै ठिक छ। काम गर्ने मान्छे पाउन भने गाह्रो छ।’
उनका मुख्य ग्राहक म्याग्देली नै हुन्। बेनीबजारमा मात्र होइन, पोखरा, काठमाडौंदेखि विदेशसम्म पुर्याइन्छ कोसेली घरका सामान।
‘ग्राहकले युके, हङकङ, कोरिया धेरैतिर लान्छन्’, उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीहरू स्वदेशको अर्गानिक स्वादमा रमाउन चाहन्छन्। त्यसैले हाम्रो सामान धेरैतिर पुग्छ।’
सुरूमा उनीहरूलाई कोसेली घर चलाउन तत्कालीन मन्त्री नरदेवी पुनले सुझाएकी थिइन्। ‘गाउँमा फलेका चिजलाई बजारमा ल्याएर बेचौं। किसानलाई पनि राम्रो मूल्य तिरौं’, नरदेवीको आग्रह थियो, ‘दुईचार पैसा आम्दानी पनि हुन्छ।’
नभन्दै भयो त्यस्तै। कोसेली घर लोकप्रिय बन्दैछ। बीचमा लकडाउनले समस्या पार्यो। कोरोना शान्त भएसँगै व्यापार राम्रो हुने आशा छ।
बेनीमा उनी ‘मिना दिदी’ का रूपमा सम्मानित छिन्। सकारात्मक सोच, इमान्दारी र मिहिनेतले सफलता मिल्ने उनको अनुभव छ।
‘मिना दिदीले गाउँका किसान र शहरका उपभोक्तालाई जोड्ने काम गर्नु भएको छ’, म्याग्दीका युवा उद्यमी एवं पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘उहाँको मिहिनेत, लगनशीलता र कर्मबाट हामीले सिक्नुपर्छ।’
बेनीको बैंक रोडमा छ उनको पसल। तपाईँ पनि म्याग्दी वा मुस्ताङ घुम्न जानु भयो भने फर्कने बेला ‘धौलागिरी कोसेली घर’ पस्न नबिर्सनुस् है!
सम्पर्क
धौलागिरी कोसेली घर
बेनीबजार, म्याग्दी
मिना राम्जाली–९८४७६२२८०२