सोमबार निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक उत्सव सम्पन्न भएको छ। निर्यात व्यवसायलाई देशको अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा स्थापित गर्ने उद्देश्यले काम गरिरहेको महासंघको विधिवत स्थापना भएको पहिलो पर्षमा नै नेपालको निर्यात व्यवसायले १ खर्बको आँकडा पार गरेको छ।
प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनाको अवधिमा नेपालको कुल निकासी ९५.५ प्रतिशतले वृद्धि भइ ११८.८५ अर्ब रुपैयाँ तथा कुल पैठारी ५१.१ प्रतिशतले वृद्धि भइ ९९९.३४ अर्ब पुगेको छ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिना अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१०.९ रहेकोमा आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा निकासी- पैठारी व्यापारको अनुपात १:८.४ रहन आएको छ।
महासंघका अनुसार नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७१.५९ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षका सो हिस्सा बढेर ८१.२४ प्रतिशत पुगेको छ। नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरूको निर्यात भारतमा भइरहेकाले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो।
निर्यातको मौद्रिक परिमाणमा वृद्धि भएको देखिएता पनि अपेक्षाकृत तेस्रो मुलुकमा हुने निर्यातलाई बढाउन नसकेको देखिन्छ। निर्यात व्यवसाय भारतसँगको अत्याधिक निर्भरता तुलनात्मक रूपमा कम गर्न तेस्रो मुलुकमा निर्यात वृद्धि गराउने महासंघको मुख्य उद्देश्य बनेको छ।
महासंघ स्थापनाको दोस्रो वर्ष मात्र भए पनि नीति-निर्माणको तहदेखि निजी क्षेत्रको वृहत सञ्जालसम्ममा यसले आफ्नो उपस्थिति र महत्व स्थापित गरिसकेको छ। विगत दुई वर्षको अधिकांश समय अर्थतन्त्र कोभिड-१९ को प्रभावमा परेको भएता पनि महासंघले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। निर्यात प्रवन्धनसँग जोडिएका विभिन्न प्रश्नहरूमा महासंघ गत वर्षभर क्रियाशील रह्यो।
महासंघले निरन्तर रूपमा निर्यात व्यवसाय प्रर्वद्धनको लागि सरकारको सल्लाहकारको रूपमा भूमिका खेलेको छ। जसको फलस्वरुप निर्यात जगतका लागि महत्वपुर्ण उपलब्धीहरू हासिल भएको महासंघका अध्यक्ष रामबहादुर गुरुङले बताए।