व्यवसायीहरूको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल ब्याजदर कायम गरेर लगानी योग्य वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।
ब्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको चेम्बर अफ कमर्सले बताएको छ।
पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भइरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अघि राष्ट्र बैंकलाई सात बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल ब्याजदर कायम गर्नुपर्ने बताएको हो। आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदरको व्यवस्था गर्न ढिलाई गर्न नहुने चेम्बरको माग छ।
गर्भनर महाप्रसाद अधिकारीलाई भर्चुअल रूपमा सुझाव दिने क्रममा यसअघि अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल ब्याजदर कायम गरिनुपर्ने बताएका थिए।
बैंकहरूले आधार दरमै गरेको वृद्धि घटाउने पहल गर्न पनि चेम्बरले राष्ट्र बैंकसँग आग्रह गरेको छ। कोभिडको महामारीले प्रभावित अर्थतन्त्रको पुर्नउत्थानका लागि बैंकहरूले आधार दरमा एक्कासी गरेको ३ देखि ४ प्रतिशतको वृद्धिले व्यवसायीहरूलाई समस्यामा पारेको चेम्बरले बताएको छ।
रेमिट्यान्समा १ प्रतिशत ब्याज थप गर्ने राष्ट्र बैंकको नीतिको चेम्बरले स्वागत पनि गरेको छ। यसले रेमिटट्यान्सको आप्रवाह थप बढ्ने चेम्बरको भनाइ छ।
मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि आयतलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्ने नीति ल्याउन पनि चेम्बरले जोड दिएको छ। भन्सार विन्दुहरूमा कारोबार मूल्यलाई मान्यता दिनु अत्यन्तै आवश्यक रहेको चेम्बरले राष्ट्र बैंकलाई बुझाएको सात बुँदे सुझावमा उल्लेख छ।