संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गरेको ‘दुवई एक्स्पो २०२०’ मा नेपालीसहित विभिन्न आप्रवासी श्रमिकमाथि बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय मानवअधिकार संस्था इक्विडेमले आप्रवासी श्रमिक माथि चरम विभेद देखिएको जनाएको हो।
संयुक्त अरव इमिरेट्समा हाल चलिरहेको अन्तर्राष्ट्रिय एक्स्पोका सम्बन्धमा एक प्रतिवेदन सार्वजनिक गर्दै इक्विडेमले सो कुरा बताएको हो। त्यहाँ कार्यरत श्रमिकहरूसँग इक्वीडेमका अनुसन्धानकर्ताले छ महिनासम्म प्रत्यक्ष तथा गोप्य अन्तर्वार्ता गरेका थिए।
इक्वीडेमले अन्तर्वार्ता गरेका आप्रवासी श्रमिकहरूमध्ये अधिकांशले आफूले श्रम अधिकारको उल्लंघनको सामना गर्नु परेको बताएका छन्। उनीहरूले जातीय विभेद र धम्की भोग्नु परेको र गैरकानुनी रूपमा भर्ना शुल्क तिर्नु परेको गुनासो गरे।
रोजगारदाताले पारिश्रमिक तथा सेवा सुविधाबापत रकम नदिने, पासपोर्ट नियन्त्रणमा लिने जस्ता हर्कत गर्ने गरेको श्रमिकहरूले गुनासो गरेका छन्।
इक्विडेमले गरेको अध्ययनले ८३ प्रतिशतले गैरकानुनी भर्ना शुल्क तिर्नु परेको तर पनि तलब तथा सेवासुविधा समयमा नपाएको देखाएको छ। एक्स्पोमा काम गर्ने ३७ प्रतिशत आप्रवासी श्रसमकहरूले आफूहरूले तीनभन्दा बढी बाध्यकारी श्रमका काम गर्नुपरेको बताएका छन्। २० प्रतिशतले पाँचभन्दा बढी बाध्यकारी श्रमका अवस्था भोग्न बाध्य रहेको बताएको प्रतिवेदनमा उल्लेख छ।
इक्विडेमका प्रमुख कार्यकारी अधिकृत मुस्तफाकादरीले युएईले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आप्रवासी श्रमिकहरूको हक-अधिकार प्रत्याभूत गर्ने घोषणा गरे पनि कार्यान्वयन नभएको अध्ययनले देखाएको बताए।
'आप्रवासी श्रमिकहरूबीच जातीय विभेद, तथा बाध्यकारी श्रम अभ्यासको अवस्थाबारे अध्ययनले उजागर गरेको छ। रोजगारदाताले धम्की दिने तथा कारबाही गर्ने त्रासले आफ्नो समस्याबारे बोल्नसमेत श्रमिकहरू डराउने गरेको अध्ययनले देखाएको छ,' उनले भने।
आप्रवासी श्रमिकहरूमाथि रहेको विभेद र बाध्यकारी श्रमको अवस्थालाई तत्काल हटाउनु पर्ने उनको भनाइ छ।
इक्विडेमले यससम्बन्धमा विस्तृत छानबिन गर्न र सबै श्रम कानुनहरू कार्यान्वयन गर्न आग्रह गरेको छ। त्यस्तै विभेदहरू हटाएर समान काम तथा समान पारिश्रमिक व्यवस्था गर्न सुझाव दिएको छ।
एक्स्पोमा कार्यरत आप्रवासी श्रमिकहरूको शोषणमा संलग्न व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड बमोजिमको कानुनी कारबारहीको माग गरिएको छ।
युएईले नेपालसहित विश्वभरीका १९२ मुलकमा आफ्नो संस्कृति, व्यापार र नयाँ प्रविधिलाई बढावा दिन भन्दै १ अक्टोवर २०२० देखि ३१ मार्च २०२२ सम्मका लागि एक्स्पो आयोजना गरिरहेको छ। जसमा संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य र भारतलगायतका विश्वका प्रमुख आर्थिक क्षेत्रहरूको सहभागिता छ।
एक्स्पोबाट झन्डै ७ विलियन डलरको व्यापार गर्ने लक्ष्य छ। एक्स्पोको अवधि कोभिड-१९ महामारीका कारण एक वर्ष थपिएको छ। अबको ६ महिनामा २ करोड ५० लाख जनाले एक्स्पो भ्रमण गर्ने अनुमान गरिएको छ।
विश्वका प्रचलित ब्राण्डहरू, प्रायोजक र साझेदार रहेको उक्त एक्स्पोमा बाध्यकारी श्रमको अभ्यास रहनु दुःखद रहेको अध्ययने औंल्याएको छ। श्रमिकहरूको हकअधिकार संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायको असक्षमतालाई समेत उजागर गरेको इक्विडेमले बताएको छ।