नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ।
बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कूटनीतिक पहल गरिदिन चेम्बरले आग्रह गरेको हो।
चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरूको पहिचान गर्नुपर्ने बताए।
बेलायतसँग वार्षिक २ अर्ब हाराहारीमा मात्रै व्यापार भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले जडीबुटी, खानिजन्य वस्तुहरू, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न दुई पक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल गरिदिन मल्लले आग्रह गरे।
नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो दश वर्षदेखि व्यवसायिक उच्चस्चरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदूत आचार्यको ध्यानाकर्षण गराए।
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, ऊलनलगायत गरी गत वर्ष दुई अर्ब तीन करोड रुपैयाँको व्यापार गरेको थियो।
बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरालगायत दुई अर्ब २६ करोड रुपैयाँको आयत गरेको छ। मल्लले बेलायती लगानीकर्ता पूर्वाधार, जलश्रोत, होटल र पर्यटन क्षेत्रमा लगानी गर्न पहल गरिदिन आचार्यलाई आग्रहक गरेका छन्।
सुन-चाँदीको तयारी गरगहना, जिन्सको पेन्टलगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको मल्लले बताए। नवनियुक्त राजदूत आचार्यसँग बेलायतस्थित नेपाली राजदूतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले आग्रह गरे।
बेलायतसँगको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई उच्चस्तरीय आर्थिक सम्बन्धमा परिणत गर्नका लागि आफूले सक्दो पहल गर्ने आचार्यले बताए।
आफ्नो कार्यकालको सुरूमै दुई देशका व्यापारीबीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आचार्यको भनाइ छ।
बेलायतले पछिल्लो समय जलवायु परिवर्तन विरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको आचार्यले बताए।
नेपाल विकासशील राष्ट्रमा गएपनि भुपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफूले पहल गर्ने आचार्यको भनाइ छ।