नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा औद्योगिक क्षेत्रमा लगानी बढाउन नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ। संघले बिहीबार उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई यस्तो आग्रह गरेको हो।
संघकी अध्यक्ष सृजना राणाले महानिर्देशक तिवारीलाई संघले नेपालको औद्योगिक विकास तथा समग्र आर्थिक विकासका लागि पुर्याउँदै आएको योगदानबारे जानकारी दिइन्। नेपालमा औद्योगिक लगानी वृद्धि गर्न विभागको भूमिका महत्वपूर्ण रहेको उनले बताइन्। विदेशी लगानी भित्र्याउन बनेका नियमहरूलाई अझ सहज बनाइनुपर्ने उनको सुझाव छ।
संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला लगानीहरूका लागि विभागले सहजीकरण गर्नुप्र्ने बताए। यसको लागि क्षेत्रगत रूपमा न्यूनतम लगानीको परिमाण तोकिनु उपयुक्त हुने बताउँदै उनले नीतिमा परिमार्जन गर्न अनुरोध गरे। उनले सन् ९० को दशकमा डाबर, नेपाल लिभर, सूर्य नेपालजस्ता कम्पनीहरू नेपाल आएको बताउँदै त्यही समयमा जस्तो लगानीमैत्री वातावरण बनाउन आवश्यक औंल्याए।
त्यस्तै संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी विषयमा समस्या रहेको बताए। नेपालमा संचालित भारतीय तथा विदेशी लगानीका कम्पनीहरूले प्रतिलिपी तथा ट्रेडमार्क दर्ता सम्बन्धी समस्या भोग्नु परेको उनको गुनासो थियो। दर्ता प्रक्रियालाई सहज बनाइनु पर्ने उनको माग छ। उनले पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६ अन्तर्राष्ट्रिय प्रचलन अनुकुल समय सापेक्ष सुधार गर्न आग्रह गरे।
उक्त कार्यक्रम, छलफल र सुझावपछि विभागका महानिर्देशक तिवारीले खुशी व्यक्त गरे। उनले नेपालमा उद्योगहरू स्थापना गर्न तथा सोको लागि विदेशी लगानी भित्र्याउनु आवश्यक रहेको बताए। जसका लागि उद्योग विभागले सक्दो सहयोग गर्ने उनले बताए। विभागले सुधारका केही प्रयासहरू पनि गरेको उनको दावी छ।
महानिर्देशक तिवारीका अनुसार विभागले एकद्वार प्रणालीमार्फत लगानीकर्तालाई सजिलो गर्ने प्रयास गरिरहेको छ। उनले नेपाल(भारत साझेदारी सम्मेलन, काठमाडौं(कोलकता फोरमलगायतका कार्यक्रम आयोजना गर्नेमा विभाग सकारात्मक रहेको बताए। नेपाल इनोभेसन सेन्टर स्थापना गरी युवा स्टार्टअपहरूलाई प्रोत्साहन गर्न विभाग सकारात्मक रहेको उनको भनाई छ।