पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दै गएको छ। देशभर साना-ठूला होटलको संख्या बढ्दो क्रममा छ।
पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो। त्यसयता करिब पचास वर्षको इतिहासमा डेढ सयभन्दा बढी तारे होटल सञ्चालनमा आएको पर्यटन विभागको तथ्यांक छ।
विभागको तथ्यांकअनुसार हालसम्म देशभर एक सय ६५ वटा तारे होटल छन्। यी सबैमा गरी दस हजार ३० वटा कोठा छन्। तिनमा १६ हजार दुई सय ४१ वटा बेड छन्।
सरकारले नेपालको पर्यटन क्षेत्रमा सम्भावना देखेर प्राथमिकतामा राखेसँगै होटल व्यवसायमा लगानी बढेको होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ।
भ्रमण वर्ष, लगानी सम्मेलन जस्ता कार्यक्रमले पर्यटन व्यवसायमा होटलको आकर्षण थपिएको हानका प्रमुख कार्यकारी अधिकृत टेकेन्द्र बहादुर महत बताउँछन्।
'पछिल्लो समय ठमेलजस्तो पर्यटकीय नगरीको भयो। पर्यटकका लागि ट्रेकिङ, ट्राभल्स कम्पनी खुल्ने क्रम बढ्यो,' उनले भने, 'सुविधा थपिँदै जाँदा पर्यटक आवागमन राम्रो भयो। अनि कम्पनीका व्यवसायीहरू आफैंले धमाधम होटल खोल्न थाले। विस्तारै होटल व्यवसाय प्रतिष्ठाको विषय बन्यो।'
उनका अनुसार पछिल्लो तथ्यांकले होटल व्यवसायले १५ खर्ब रूपैयाँ लगानी ओगटिसकेको देखाउँछ।
'देशभर हालसम्म होटल व्यवसायमा लगभग १५ खर्ब बढी लगानी भइसकेको छ। यो केही समयअघि गरिएको सर्वेक्षण हो,' उनले सेतोपाटीसँग भने।
होटल क्षेत्रले ठूलो मात्रामा पुँजी तानिरहे पनि पछिल्लो दुई वर्षमा यो लगानी धराशायी बन्दै गएको हानका उपाध्यक्ष विनायक शाहले बताए। झन्डै दुई वर्षयता संसारभर फैलिएको कोरोना भाइरसले सबभन्दा बढी असर पर्यटन क्षेत्रमा पारेको छ।
यसको असर प्रत्यक्ष रूपमा होटलमा परेको उनी बताउँछन्। एक चरणको महामारी नसकिँदै अर्को लहरले गाँज्दै गएपछि पर्यटकीय गतिविधि बढ्न नसकेको उनको भनाइ छ।
'पूर्ण रूपमा लकडाउन नभए पनि होटल व्यवसायलाई महामारीले नराम्ररी थला पारेको छ,' शाहले भने, 'एकातिर लगानी बढ्दो क्रममा छ। अर्कातिर बन्द भइरहने अवस्थाले जोखिम उत्तिकै छ। होटल चल्न सकेका छैनन्।'
होटल क्षेत्रको लगानी जोखिममा पर्न नदिन र व्यवसायीहरूलाई हतोत्साही हुन नदिन महामारीलाई लक्षित गरेर सरकारले विभिन्न रणनीति ल्याउन आवश्यक रहेको उनी बताउँछन्।
सरकारले पर्यटन क्षेत्रको राहतका निम्ति घोषणा गरेका कार्यक्रम तथा नीतिहरू कार्यन्वयन गर्न र अर्थतन्त्र उकास्न पनि यो क्षेत्र व्यवस्थापन गर्न जरूरी रहेको शाहले बताए।
तथ्यांकअनुसार हालसम्म देशभर पाँचतारे होटल १७ वटा छन्। यस्ता होटल सबभन्दा धेरै बागमती प्रदेशमा खुलेका छन्। १७ मध्ये बागमती प्रदेशमा मात्र ११ वटा पाँचतारे होटल सञ्चालनमा छन्।
त्यस्तै प्रदेश नम्बर १ मा एउटा, गण्डकीमा दुइटा र लुम्बिनी प्रदेशमा तीन वटा पाँचतारे होटल छन्।
देशभर चारतारे होटल पनि २६ वटा छन्। त्यस्तै ३५ वटा तीनतारे, ४४ वटा दुईतारे र ३८ वटा एकतारे होटल भएको तथ्यांकले देखाउँछ।
पर्यटन विभागका अनुसार यी एकतारे र दुईतारे होटल प्रायः २०५० सालअघि दर्ता भएका हुन्। यीमध्ये ४० प्रतिशत होटल हाल आधिकारिक रूपमा सञ्चालनमा छैनन्।
तीस-चालीस वर्ष पुराना यी होटल सञ्चालनमा नआउनुको कारण कारण खुलाउँदै विभागका एक अधिकारीले भने, 'उनीहरू नवीकरण गर्न आउँदैनन्। यत्तिकै दर्ता खारेज गर्ने कानुन छैन। त्यस्ता होटलमध्ये ४० प्रतिशत हाराहारी सञ्चालनमै छैनन्। कति होटल के भए भन्नेबारे यकिन तथ्यांक विभागसँग पनि छैन।'
एकातिर कोरोनाका कारण होटल क्षेत्र धराशायी बन्दैछ, अर्कातिर तारे होटल निर्माण पनि धमाधम भइरहेका छन्।
विभागकाअनुसार अहिले निर्माणाधीन होटल नै दर्जन बढी छन्। सेराटन, समिट, काठमाडौं अलफ्ट, सिल्भर हेरिटेज, अन्नपूर्ण भ्यू, सेञ्चुरियन लगायत होटल निर्माण भइरहेका छन्। हालसालै खुलेका नयाँ होटल पनि छन्। यसबाहेक केही समयपछि निर्माण गर्ने भनेर केही होटलका परिकल्पना पनि सार्वजनिक भइसकेका छन्।
पछिल्ला दुई वर्षमा मात्र १८ वटा तारे होटल सञ्चालमा आएको विभागको तथ्यांक छ।
यी १८ मध्ये दुइटा पाँचतारे होटल हुन्। काठमाडौंमा रहेको किङ्स वेरी र सिटी लिमिटेड केही महिनाअघि मात्र सञ्चालनमा आएका हुन्।
त्यस्तै ८ वटा चारतारे होटल सञ्चालनमा आएका छन्। ती होटल हेरिटेज होटल एन्ड स्वीट्स, हिमाल वाटरपार्कस् एन्ड भिलेज, होटल सिराइचुली, होटल माउन्ट कैलाश, होटल मौर्य, होटल स्टारलाइट, न्यान्स होटल र होटल ल्यान्डमार्क हुन्।
सोही अवधिमा तीन वटा तीनतारे होटल सञ्चालनमा आएका छन्- होटल नब्या, होटल दा फ्लेमिंगो र मिराज हस्पिटालिटी।
चारवटा दुईतारे होटल पनि थपिएका छन्- होटल जेम्स्, भादगाउँ, जनजीविका र एम्ब्रोसिया।
यसबाहेक काठमाडौं उपत्यकामा चार वटा हेरिटेज बुटिक होटल पनि सञ्चालनमा छन्- होटल द्वारिका, इमिरो प्लाजा, पँबेरा, मनास्लु। मौलिक कला र सँस्कृति झल्काउने खालका होटल बुटिक अन्तर्गत पर्छन्।
त्यस्तै पाँचतारे डिलक्स होटल एउटा मात्र छ। त्यो हो झापामा रहेको मेची क्राउन।
सामान्यतया काठमाडौंमा डिलक्स होटल हुन एक सय ५० कोठा चाहिन्छ भने उपत्यकाबाहिरको हकमा सय कोठा भए पुग्छ।
अर्ब बढी लगानीमा बन्ने ठूला होटलहरूले महँगा पर्यटक तान्न सक्ने सम्भावना धेरै हुने व्यवसायीहरू बताउँछन्। सुविधा सम्पन्न तारे होटलले देशको पर्यटनमा टेवा पुग्ने र फाइदा पनि हुने भएकाले जोखिमबीच पनि लगानी भइरहेको छ।
महामारीको चपेटा सकिएपछि पर्यटकीय गतिविधि बढ्ने र होटल क्षेत्र उकासिने आशामा धेरै व्यवसायीहरूले ठूलो लगानीमा स्तरीय होटल निर्माण गरिरहेका छन्। यस्ता व्यवसायीमा स्थापित व्यापारिक घरानादेखि गैर आवासीय नेपालीहरूसम्म पर्छन्।