जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विटघन गरेको छ।
पटक-पटक तोकिएको मितिमा साधारण सभा नगरेकाले पुनः साधारण सभा गर्नका लागि सहमति दिन नसकिने प्रशासनले जनाएको हो।
संस्थाको विधानको दफा २६(४) मा भएको व्यवस्था बमोजिम २१ दिनभित्र अध्यक्ष निर्वाचन हुनुपर्छ। वर्तमान कार्यसमितिको वैधानिक कार्यकाल असोज ७ गते नै सकिएको हो।
गत असार ४ गते प्रशासनले संस्थाको विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष मनोनयन नहुँदासम्मका लागि दैनिक अत्यावश्यक बाहेक संस्थालाई आर्थिक दायित्व सिर्जना हुने नियुक्ति सम्बन्धी काम सञ्चालन नगर्न पत्राचार गरेको थियो।
भदौ ५ गते पुनः पत्राचार गर्दै सुरक्षा मापदण्ड पालना गरी असोज ७ गते निर्वाचन सहितको साधारण सभा सञ्चालन गर्न अनुमति दिएको थियो। तर संघले दशैं तिहार र छठपर्व देखाई मंसिर २७ गते साधारण सभा गर्ने निर्णय भएको जानकारी प्रशासनलाई दिएको थियो।
यो मितिमा साधारण सभाका लागि स्वीकृति दिए पनि विभिन्न कारण देखाई पुस २३ गते का लागि सारिएको थियो। पुस २३ बाट फेरि पुस ३० गतेका लागि मिति सारियो। उक्त मितिमा पनि साधारण सभा हुन सकेन।यसरी पटक-पटक समय दिँदा पनि हुन नसकेपछि प्रशासनले कार्यसमिति विघटन गर्ने निर्णय गरेको जनाएको छ।