राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायीक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ।
सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायीक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो। सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष डा. शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गरे।
दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन्। अमेरिकाको न्यूयोर्क शहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब ग्लोबलले हालसम्म १०० भन्दाबढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको नेपाल शाखाका अध्यक्ष डा पोखरेलले बताए।
निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्था, कूटनीतिक नियोगका प्रमुख, सरकारी क्षेत्रका उच्च ओहोदाका व्यक्ति सदस्य रहने उक्त क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन्। दुई वर्ष पहिले नेपालमा शाखा विस्तार गरेको सिइओ क्लब ग्लोबल नेपाल शाखाले नेपाल युएई विजनेश काउन्सिल गठन गरेको छ। हाल नेपालमा उक्त क्लबमा ४५ सदस्य आबद्ध रहेको अध्यक्ष पोखरेलले बताए। उक्त क्लबले शीर्ष तहमा राजनीतिक, व्यापार, व्यवसायलगायतको क्षेत्रमा सहकार्य गराउँदै आएको छ।
नेपालमा दैनिक चार उडान भर्दै आएको कतार एयरवेजले विश्वका १४० भन्दा बढी मुलुकमा आफ्नो गन्तव्य विस्तार गरिसकेको नेपालका सेल्स म्यानेजर बोगटीले बताए।