इकमर्स कम्पनी भेषभूषा सञ्चालनमा आएको छ।
स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू उपलब्ध गराउने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा ल्याइएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत तृष्णा आचार्यले बताइन्।
उनका अनुसार भेषभूषाले सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्रान्डहरूलाई उत्कृष्ट अनलाइन बिक्री प्रणाली सहितको बहुआयमिक इकमर्श प्लेटफर्म बनाउनेछ।
‘भेषभूषा यस्तो प्लेटफर्म बनोस्, जहाँ हरेक नेपालीले आफ्नो उद्देश्य र पेशा पहिरनका सामान छनौट गरी जीवनशैलीलाई सहज बनाउन सकुन,’ उनले भनिन्।
हालका लागि सौन्दर्य, फेसन र जीवनशैली मन पराउनेहरूले विभिन्न ब्रान्डको सामग्रीका लागि भेषभूषा डटकममा गई अर्डर गर्न सक्नेछन्। कम्पनीले हजारभन्दा बढी सामग्री वेबसाइटमा राखिसकेको छ। त्यस्तै, कम्पनीले आगामी १५ दिनभित्र अफिसियल भेषभूषा एप्स सञ्चालनमा ल्याउने जनाएको छ।
तत्कालका लागि कम्पनीको बिक्री तथा डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र छ। भविष्यमा देशैभरी डेलिभरी गर्ने र सौन्दर्य तालिम तथा प्रतियोगितासँगै सीप सिकाउने कम्पनीको उद्देश्य छ।
सात जनाको संयुक्त लगानीमा भेषभूषा सञ्चालनमा आएको हो। हाल कम्पनीमा दक्ष, प्राविधिक र व्यवस्थापकीय गरी २५ जना कर्मचारी छन्।
कम्पनीले अरू ब्रान्डका सामानहरू बिक्री गर्नेछ। भविष्यमा नेपाली रैथाने सभ्यता र संस्कारको मौलिकता र सुगन्ध बोकेको नेपाली सामानहरू उत्पादन र प्रबन्धन गर्ने जनाएको छ।
इकमर्स क्षेत्रमा ठूलो ग्याप देखेको र त्यसलाई पूरा गर्नका लागि भेषभूषा ल्याएको कम्पनीका अध्यक्ष दीपक पाण्डे बताउँछन्।
कम्पनीमा अहिले हुलास वेलनेस, जिसिजी इन्टरनेसनल, केटिएम क्विन्स्, जुजो लगायतका करिब ३ दर्जन अन्तराष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सामानहरू उपलब्ध छन्। ती ब्रान्डका उत्पादनलाई भेषभूषासँग जोड्दै जाने पाण्डेले जानकारी दिए।
‘हामीले सुरु गरेको यो व्यवसाय सबै उपभोक्ताले आवश्यकता महशुस गरेजस्तै हुने कुरामा हामी विश्वस्त छौं। हाम्रो कार्यप्रणाली अत्याधुनिक र विश्वस्तरीय छ,’ उनी भन्छन्।
भेषभूषालाई पूर्ण रुपमा उत्पादन, बिक्री र ज्ञान बाड्ने साझा कनवर्जेन्स प्लेटफर्मका रुपमा विकास गर्ने कम्पनीको लक्ष्य छ।