पोखराको सेदीदेखि सराङकोटसम्म सञ्चालनमा आएको केबलकार पहिलोपटक एक जापानी नागरिकले कल्पना गरेका थिए।
नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधानसभा चुनावमा होमिएका जापानी नागरिक ताकासी मिहहाराले आफ्नो चुनावी घोषणापत्रमा सेदी–सराङकोट केबलकारको योजना सार्वजनिक गरेका थिए।
ताकासीले चुनाव त जितेनन्, तर उनको चुनावी योजना चौध वर्षपछि गत शुक्रबारबाट सार्थक भएको छ।
दु:खको कुरा चाहिँ के भने, आफ्नै परिकल्पनामा बनेको केबलकार हेर्न ताकासी हामीबीच छैनन्। दुई वर्षअघि नै पेटको क्यान्सरले उनको मृत्यु भएको अन्नपूर्ण केबलकार कम्पनीका निर्देशक तीर्थ त्रिपाठीले बताए।
'ताकासी नरहे पनि उहाँले देखेको सपना पूरा भएको छ,' त्रिपाठीले सेतोपाटीसँग भने।
पहिलोपटक पर्यटकका रूपमा नेपाल घुम्न आएका ताकासी यहाँको प्रकृति र संस्कृतिले लोभिएर यहीँ बस्न थालेका थिए। उनी सुरूमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहका घरमा बस्थे।
यहाँ रहँदाबस्दा उनलाई ट्रेकिङ एजेन्सी चलाउन मन लाग्यो। उनले केही नेपाली युवाको साथ लिएर ट्रान्स हिमालय ट्रेकिङ एन्ड टुर्स कम्पनी खोले।
नेपालमा बस्दाबस्दै उनले नेपाली केटीसँग विवाह गरे। उनीहरूको छोरी जन्मियो। उनले नेपाली नागरिकता पनि लिए।सगरमाथा आधारशिविरमा होटल एभरेस्ट भ्यू खोले। त्यो संसारकै अग्लो स्थानमा रहेको होटलमा पर्ने त्रिपाठीले बताए।
उनले पोखराको सराङकोटमा पनि होटल खोलेका छन्। नेपाली व्यवसायीसँग मिलेर खोलेको होटल अन्नपूर्ण भ्यू अहिले पनि सञ्चालनमा छ।
ताकासी र त्रिपाठीको चिनाजान जापानमै भएको थियो।
पहिलो संविधानसभा चुनाव क्रममा उनी जापान पुगेर त्यहाँ रहेका नेपालीसँग सहयोग माग्दै थिए। त्यति बेला त्रिपाठी जापानमै रेस्टुरेन्ट चलाउँथे।
जापान जानुअघि त्रिपाठीको घान्द्रुक र अन्नपूर्ण आधारशिविर (एबिसी) मा होटल थियो। अहिले उनको होटल स्थानीयले नै चलाउँछन्।
जापानमा जब ताकासीसँग भेट भयो, त्रिपाठी उनीबाट प्रभावित भए। उनी ताकासीलाई चुनावमा सघाउन नेपाल फर्किए।
'मेरो साथी नेपालमा चुनाव लड्दैछ, भेटौं न भनेर मेरो जापानी साथीले भन्यो,' त्रिपाठीले भने, 'त्यहाँ भेटेपछि मैले नेपाल आएर उनलाई भोट दिएँ। उनका लागि अरूसँग भोट पनि मागेँ।'
ताकासीले त्यही बेलाको चुनावी घोषणापत्रमा सेदी–सराङकोट केबलकारको योजना समावेश गरेका थिए।
पर्यटकीय नगरी पोखरामा साहसिक खेलका अनेक माध्यम छन् तर केबलकार छैन। त्यही भएर त्रिपाठीले ताकासीसँग सल्लाह गरेर घोषणापत्रमा उल्लिखित केबलकारको योजना अघि बढाउने प्रस्ताव गरे। त्रिपाठी आफैं पनि जापानको रेस्टुरेन्ट व्यवसाय छाडेर नेपालमै बस्न थालेका थिए।
ताकासीले प्रस्तावमा सहमति जनाए।
त्यसपछि त्रिपाठीले केबलकार योजना अघि बढाउन टिम बनाउन थाले। पोखरा, काठमाडौं, चितवन लगायत ठाउँमा हाउजिङ र घरजग्गा कारोबार गरिरहेका कालु गुरूङलाई पनि आफ्नो योजना सुनाए।
गुरूङले योजना मन पराएपछि उनकै अध्यक्षतामा अन्नपूर्ण केबलकार कम्पनी स्थापना भयो।
उनीहरूले केबलकार बनाउन जग्गा खरिद गरे। मन्त्रिपरिषदबाट वन क्षेत्रको भोगाधिकार लिए र करिब आठ वर्षअघिबाट केबलकारको संरचना निर्माण सुरू भयो।
अन्नपूर्ण केबलकारको लागत सुरूमा ८० करोड रूपैयाँ थियो। त्यति बेला ३०-३० जना अट्ने दुइटा डिब्बा मात्र राख्ने योजना थियो। एउटा माथि जाने, अर्को तल झर्ने।
'हामीले बसजस्तो केबलकार निर्माण गर्न खोजेका थियौं,' त्रिपाठीले भने, 'पछि अहिलेको प्रविधिअनुसार ८ जना अट्ने १६ वटा डिब्बा राख्ने गरी योजना परिवर्तन गर्यौं।'
यति मात्र होइन, केबलकारसँगै सेदी र सराङकोटमा रेस्टुरेन्टको संरचना थपियो। चढ्ने र ओर्लनै दुवै ठाउँमा रेस्टुरेन्ट बनेका छन्। केही संरचना निर्माणाधीन छन्।
पूर्वाधारहरू थपिएपछि केबलकार निर्माण समयमा पूरा भएन। त्यसमाथि लगानी जुटाउनेदेखि केबलकारका सामग्री जापानबाट मगाउँदा निकै झन्झट बेहोर्नुपरेको त्रिपाठी बताउँछन्।
'समयमा बनाउन सकेको भए कोरोना महामारी सुरू हुनुअघि नै चलाइसक्थ्यौं,' उनले भने।
महामारीले दुई वर्ष निर्माणको काम प्रभावित भएको कम्पनीले जनाएको छ। लकडाउनका कारण जापानबाट सामान र प्राविधिक ल्याउन नसक्दा ढिलाइ हुन पुगेको कम्पनीका अध्यक्ष गुरूङले बताए।
'ढिलै भए पनि पोखरामा केबलकार चलाउन पाउँदा खुसी लागेको छ,' उनले भने।
फेवातालको मुहानतर्फ पामे जाने बाटोमा पर्छ, सेदी। खपौंदीदेखि नै सेदीबाट सराङकोट केबलकार आउजाउ गरेको देख्न सकिन्छ। कम्पनीका अनुसार केबलकार सञ्चालन गर्न दुई अर्ब रूपैयाँभन्दा बढी खर्च भएको छ। यसमा नेपाली व्यवसायी र केही जापानी लगानी रहेको निर्देशक त्रिपाठीले जानकारी दिए।
उनका अनुसार केबलकारको क्षमता ३८ डिब्बा छ। अहिले सामान बोक्न एउटा र पर्यटक घुमाउन १७ डिब्बा छन्। अब चारवटा डिब्बा थप्ने तयारी भइरहेको छ। पर्यटकको चाप बढ्यो भने डिब्बा थप्ने कम्पनीको योजना छ।
'महामारीअघि जस्तै पोखरामा पर्यटक आउन थाले हामी डिब्बा थप्छौं,' त्रिपाठीले भने, 'हाम्रो उद्देश्य पूरा भएको छ, नाफा त बिस्तारै कमाउँला नि।'
अन्नपूर्ण केबलकार सञ्चालनमा आएसँगै नेपालमा केबलकार कम्पनीको संख्या चार पुगेको छ। नेपालकै पहिलो मनकामना केबलकार, दोस्रो चन्द्रागिरि केबलकार र तेस्रो कालिञ्चोक केबलकार छन्।
सेदीदेखि सराङकोटसम्म २.१६ किलोमिटर दुरीमा केबलकार चल्छ। अन्नपूर्ण केबलकारले उक्त दुरी १० मिनेटमै पार गर्छ। फेवाताल, विश्व शान्ति स्तुप र पोखरा सहर हेर्दाहेर्दै केबलकार सराङकोट पुग्छ जहाँबाट अन्नपूर्ण शृंखलाका सम्पूर्ण हिमाल छ्यांगै देखिन्छन्।
अन्नपूर्ण केबलकारले सेदीदेखि सराङकोट दुईतर्फी आउजाउ गर्न टिकट शुल्क सात सय रूपैयाँ तोकेको छ। केबलकार सञ्चालनमा आएको पहिलो दिनमै १ हजार ३ सयभन्दा बढीले चढेका थिए। कम्पनीले टिकटमै प्रतियात्रु पाँच लाख रूपैयाँको बिमा गरिदिएको छ।
केबलकारको सराङकोट स्टेसनमा रेस्टुरेन्टसहित साहसिक खेलहरू रक क्लाइम्बिङ, जिपलाइन लगायत सञ्चालन गर्ने कम्पनीको योजना छ।