बेल्ला मोटर्स प्रालिले गरेको विज्ञापन अनुसारको सेवासुविधा उपलब्ध नगराउँदा ग्राहक तथा बिक्रेताले ठगिएको गुनासो गरेका छन्। कम्पनीले भने अनुसारको इञ्जिन तथा माइलेज गाडीमा उपलब्ध नहुँदा ठगिएको उनीहरूको गुनासो छ।
झापाको विर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरेर बेल्ला मोटर्स प्रालिको आधिकारिक बिक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रालिले बेल्लाको गैरजिम्मेवारीका कारण आफूहरू ठगिएको जनाएको छ।
बेल्ला मोटर्सले हेटौंडामा एसेम्बल प्लाण्ट राखेर तीन चक्के मालबाहक सवारी उत्पादन गर्दै आएको छ।
कम्पनीसँग गाडी बिक्री गरेर भुक्तानी गर्ने सहमति अनुसार कारोबार थालिएको तर गाडीमा समस्या आएपछि बेल्ला मोटर्स गैरजिम्मेवार बनेको आरती बुद्ध अटोमोबाइल्सका सञ्चालक टिका ओडारीले आरोप लगाए।
आरती बुद्धले बिक्री गरेको चार वटै गाडीमा समस्या आएपछि कम्पनीलाई जानकारी गराइएको तर कम्पनीले समस्या समाधानमा कुनै चासो नदिएपछि गाडी फिर्ता लिएर आफूले ग्राहकको पैसा फिर्ता दिएको ओडारीले बताए। उनले कम्पनीलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी गरिसकेको र ग्राहकको समेत पैसा आफूले नै पैसा फिर्ता गर्नुपर्दा दोहोरो मारमा परेको गुनासो गरे।
बेल्ला मोटर्सका बजार प्रतिनिधि निर्मल पाण्डे, आरती बुद्धका सञ्चालक ओडारी र गाडी खरिदकर्ताहरूबीच समस्या समाधानका लागि २०७८ मंसिर १९ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा लिखित सहमति भएको थियो।
बेल्ला मोटर्स र आरती बुद्धबीच भएको असमझदारी तथा गाडीमा आएको समस्याका बारेमा एक हप्ताभित्रमा समाधान गर्ने सहमति पत्रमा उल्लेख छ।
तर, लामो समयसम्म पनि कम्पनीले समस्या समाधानका लागि कुनै पहल नगरेको र पछिल्लो समयमा आएर गैरकानुनी अभिव्यक्ति दिन थालेका कारण आफूहरू ठगिएको ओडारीले गुनासो गरे। उनले कम्पनीलाई तत्काल गाडी फिर्ता लिएर आफ्नो पैसा फिर्ता गर्न आग्रह गरेका छन्।
गाडीमा समस्यै समस्या छन् : ग्राहक
बुद्धशान्ति-३ का दीपक भट्टराईले गएको फागुनमा बेल्ला मोटर्सको तीन चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी किने।
गाउँमा काठ, सिमेन्ट, धानपराल लगायतका वस्तु ढुवानी गरेर नेपालमै केही गर्ने सपनाका साथ भट्टराईले ६ लाख ४२ हजारमा उक्त गाडी किनेको बताए।
स्नातक तहमा अध्ययनरत् भट्टराई विदेशिनुको साटो नेपालमै रोजीरोटीको व्यवस्था मिलाउने योजनाका साथ गाडी किनेको बताउँछन्। उनले ३ लाख ५० हजार रुपैयाँ आरती बुद्धमा नगद बुझाए भने बाँकी रकम सहकारीबाट फाइनान्स गराएर गाडी लगे।
तर, गाडी लगेर कुदाउन थालेको एक हप्ता नहुँदै समस्या आएको उनको भनाइ छ। भट्टराईका अनुसार गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिए पनि गाडीले ६ देखि १० किलोमिटर मात्र माइलेज दियो। गाडीमा इञ्जिन छिटो ओभरहिट हुने, आफैं इञ्जिन बन्द हुने समस्या रहेको उनको भनाइ छ।
गाडीमा कमाइको साटो उल्टो खर्च हुने, कम्पनीले सर्भिस नदिने बुझेपछि भट्टराईले तीन महिना कुदाएर गाडी फिर्ता गरेको बताए।
भट्टराईजस्तै नेपालमा नै स्वरोजगार बन्ने उद्देश्यले विर्तामोड-३ का आस्मादिन खानले पनि बेल्ला मोटर्सको तीन पाङ्ग्रे गाडी किनेका थिए। उनी वैदेशिक रोजगारीका लागि कतार गएर फर्किएका व्यक्ति हुन्। उनका अनुसार गाडी चाबी अफ गरेर राखेको स्थानमा आफैं स्टार्ट हुने समस्या रहेको बताए। उनले पनि गाडी किनेको केही महिनामा नै आरती बुद्धलाई गाडी जिम्मा लगाएको बताए।
कन्काई-३ का वेदप्रकाश जैनले त एक महिनामा चार जना ड्राइभर नै फेरेको बताए। गाडीले ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको आशंकामा चालक फेरेको जैनले सुनाए।
तर जति चालक फेरे पनि माइलेज नबढेपछि गाडीमा नै समस्या भएको बुझेर गाडी फिर्ता गरेको उनले सुनाए। स्थानीय एक पसलमा काम गर्ने जैनले १२ धुर जग्गा धितो राखेर गाडी किनेको तर गाडीका कारण आफूले ठूलो क्षति व्यहोर्नु परेको दुखेसो पोखे।
अर्का बाह्रदशी-५ का रासिद आलमको पनि पीडा उही छ। गाडी किनेको केही समयमा नै इन्जिनमा समस्या आएको उनले बताए। माइलेज नदिने, इञ्जिन ओभरहिट हुने समस्या आएका कारण आफूले गाडी फिर्ता गरेर आफ्नो पैसा फिर्ता लिएको आलमको भनाइ छ।