बुढो बाजेको पेडा पसल। पुरानो बुढाको पेडा पसल। असली पुरानो बुढाको पेडा पसल...!
पूर्वी तराईको जिल्ला सप्तरी हुँदै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेले अवश्य सम्झिनुभयो बरमझियाका पेडा पसलहरू।
बरमझियाको पेडा सम्झनासाथ धेरैको मुख रसाउँछ। बाटोमा खान, घर लैजान र अफन्तलाई कोसेली दिन त्यहाँको पेडा नकिन्नेहरू अपवादमा पर्छन् भन्दा अतिशयोक्ति नहोला।
दूधको परिकार खुवा र पेडाका लागि प्रसिद्ध छ बरमझिया। तर काठमाडौंबाट टाढा छ। सार्वजनिक बसमा एकाबिहानै हिँडे पनि अपराह्न तीन बजेतिर पुगिन्छ। आठ–नौ घन्टाको यात्रा। अनि त काठमाडौं बस्नेले बरमझियाको पेडा खाने यात्राको मौका पर्दा मात्रै हो। पेडा सम्झिनेबित्तिकै खान, ल्याउन त कल्पना मात्र हुने!
अब भने अवस्था यस्तो छैन। यो कल्पनालाई साकार बनाइदिएका छन् सिरहाका आनन्दप्रसाद साहले।
साढे दुई वर्षदेखि उनी काठमाडौं उपत्यकाका बासिन्दालाई बरमझियाको पेडा खुवाउँदैछन्। त्यो पनि घरघरै पुर्याएर।
'काठमाडौंको बजारमा नपाइने बरमझियाको पेडा मैले घरघरमा पुर्याइरहेको छु,' आनन्दले सेतोपाटीसँग भने।
आनन्द आफैं पनि पेडाका पारखी हुन्। काठमाडौं बसिरहँदा बरमझियाको पेडा सम्झेर तलतल हुन्थ्यो। सोच्थे- अरूलाई पनि मलाई जस्तै हुँदो हो नि! पेडा खान किन बरमझियासम्म पुग्ने, बरमझियाको पेडा काठमाडौंमा ल्याउन सकिन्न र!
काठमाडौंबासीलाई चाहेका बेला बरमझियाको पेडा खुवाउने विचार उनमा आयो। घरमा सल्लाह गरे। पढे-लेखेका छोराछोरीले बरमझियाबाट पेडा मगाउने र अनलाइनबाट बेच्ने आइडिया बनाए।
छोरीले फेसबुकमा 'बरमझिया बाजेको पेडा' नाम राखेर एउटा पेज बनाइन्। पेजमा बरमझियाको पेडा झल्किने एउटा लोगो राखिन्। पेडा, खुवा, खाजा र घ्यूको प्रचार सामग्री राखिन्। आनन्दको ठेगाना र फोन नम्बर पनि राखिन्।
एक–दुई दिनमै सकारात्मक परिणाम देखियो। अर्डरभन्दा पनि जिज्ञासा धेरै थियो।
कतै नक्कली त होइन? बरमझियाकै हो? त्यहाँबाट पेडा कसरी काठमाडौं आइपुग्छ?
आनन्दले आफ्नो योजनाअनुसार सबै जवाफ दिए। सोध्नेहरूको चित्त बुझेको देखियो। पेडा ल्याइदिनू भनेर म्यासेज र फोन आउन थाल्यो।
बरमझियाबाट गाडीमा हालेर दैनिक पेडा पठाउने र काठमाडौंमा आफूले पाउने व्यवस्था उनले मिलाए। सुरूमा एकै पटक पाँच किलोको माग आयो। आनन्दले पेडा मगाएर डेलिभरी दिए। उपभोक्ताहरू बरमझियाकै पेडा हो भनेर विश्वस्त भए।
'एक पटक खानेले दोहोर्याएर मगाउन थाले। ग्राहकहरू थपिँदै गए। केही दिनमै माग दोब्बर भएर दस किलो भयो,' आनन्दले काठमाडौंमा बरमझियाको पेडा बिक्री हुन थालेको सुरूआती समय सम्झिए, 'दिनदिनै माग बढ्दै गयो। म एक्लैले डेलिभरी दिन नसक्ने भएँ। अनि एक जना सहयोगी राखेँ।'
अहिले आनन्दलाई भ्याइनभ्याइ छ भन्दा हुन्छ। उनी हरेक दिन बेलुका अर्डर जम्मा गर्छन्। बरमझियामा सम्पर्क गर्छन् र पेडा मगाउँछन्। उताबाट रात्रिबसमा हालेर पठाइदिन्छन्। आनन्द बिहान कोटेश्वर पुगेर गाडीबाट पेडा लिन्छन्, अनि घर फर्कन्छन्।
अनि बिहान दस बजेपछि सुरू हुन्छ अर्डरअनुसार डेलिभरी दिने काम। यसमा सघाउने उनको साधन हो मोटरसाइकल। आनन्दका अनुसार हाल दैनिक सरदर २० किलो पेडा अर्डर आउँछ। ग्राहकको संख्या र माग बढ्दो भने छ।
'घरमा खान एक–दुई किलोको दरले अर्डर आउँछ। दसैं, तिहार, तिज जस्ता चाडपर्व र पूजाहरूमा बढी अर्डर आउँछ,' उनले भने, 'एकै जनाबाट ३० किलो अर्डर पनि आएको छ। सिधै फोन गरेर पेडा ल्याइदिनुस् भन्नेको संख्या बढ्दैछ।'
पेडा मगाउनेमा सरकारी कार्यालयका र अन्य संस्थाका कर्मचारी पनि धेरै भएको उनी बताउँछन्। त्यसैले कहिलेकाहीँ उनी पेडा पुर्याउन सिंहदरबार पनि छिर्छन्। आनन्दका ग्राहक ललितपुर र भक्तपुरमा पनि छन्। सबैभन्दा बढी अर्डर त काठमाडौंमै छ। महाराजगञ्ज, लाजिम्पाट र बालुवाटारबाट धेरै माग आउने उनले बताए।
आनन्द सकेसम्म चाँडो डेलिभिरी दिन प्रयास गर्छन्। आफूले पुर्याउन नसक्ने अवस्थामा ग्राहकको स्वीकृति भए पठाओ सेवा पनि प्रयोग गर्छन्। उनले भने, 'ग्राहकले नै भाडा तिर्ने गरी पठाओबाट पनि डेलिभरी दिन्छु।'
पेडाको यस्तो व्यापारको कमाइबाट आनन्द सन्तुष्ट छन्। भन्छन्, 'सबै खर्च कटाएर मासिक ३० हजार रूपैयाँसम्म वचत गर्दैछु।'
उनी बरमझियाबाट पेडा मगाएर काठमाडौंमा प्रतिकिलो एक हजार रुपैयाँमा बेचिरहेका छन्। परल मूल्यमा बस भाडा, डेलिभरी खर्च र आफ्नो पारिश्रमिक जोडेर मूल्य तय गरेको उनको भनाइ छ। घ्यू लिटरको एक हजार चार सय र खाजा (क्रिस्पी र पेस्ट्री) किलोको सात सय रूपैयाँमा बेच्छन्।
आनन्दलाई बरमझियाको पेडा अहिले आएर काठमाडौंसम्म ल्याएर खुवाउने जोश कसरी चल्यो त?
यसमा उनको बालापनको सम्झना जोडिएको छ। कुनै बेला आनन्दका बुबा बरमझियामै पेडा बनाएर बेच्थे। उनको बाल्यकाल बुबासँग पेडा व्यापारमै बितेको थियो। तर उनले बुबाको व्यवसाय सम्हालेनन्।
आफ्ना बुवाले गरेको व्यवसायमा उनलाई फर्काइदिने भूमिका उनकी छोरीले खेलेकी हुन्।
झन्डै तीन वर्षअघिको कुरा हो। आनन्दकी छोरीले एक दिन अनलाइनमा पेडा अर्डर गरिन्। घरमै डेलिभरी भयो। तर बरमझियाको पेडाको स्वादले लठ्याएका उनीहरूलाई मिठो लागेन।
लगत्तै आनन्दले आफन्तमार्फत बरमझियाबाटै पेडा मगाए। परिवारजन वरिपरि बसेर स्वाद मानी मानी खाए।
'बरमझियाको जस्तो मिठो पेडा अन्त पाइँदैन,' आनन्द भन्छन्, 'एक पटक खानेले अन्तको मन पराउँदैन।'
त्यहीँपछि उनले यो काम थालेका हुन्।
अहिले विदेश जानेहरूले पनि पेडा मगाउने गरेको उनले बताए। उनका अनुसार उपत्यका बाहिरका सहरमा पनि बरमझियाको पेडाको माग छ। तर उनले व्यापार विस्तार गर्न सकेका छैनन्।
आनन्द दिनभरि ग्राहकलाई पेडा पुर्याउनमै व्यस्त हुन्छन्।
'बरमझियाको पेडाको स्वाद लिन कि त त्यहीँ पुग्नुपर्थ्यो कि आफन्त आउँदा कोसेली आउँथ्यो,' उनी भन्छन्, 'अहिले म हातमै पुर्याइदिन्छु।'
आनन्दको स्थायी घर सिरहाको गोलबजार नगरपालिका हो। उनको जिरा, धनियाँ, बेसार, खुर्सानी लगायत मरमसलाको व्यापार छ। यसबाटै उनको सबै व्यवहार चलेको छ।
काठमाडौं आउनुअघि सिरहामा उनको मसला मिल पनि थियो। लगातार २५ वर्ष उनले यही व्यवसाय गरे। छोराछोरी काठमाडौंमा पढ्थे। सिरहामा आनन्द र उनकी श्रीमती बस्थे। छोराछोरीसँगै बस्ने चाहनाले उनीहरू पनि काठमाडौं आएका हुन्।
आएर उनले आफू बसेकै ठाउँ, शान्तिनगरमा मसला पसल खोले।
'बुढाबुढीले नै मसलाको व्यापार बुझेका थियौं,' आनन्द भन्छन्, 'काठमाडौं आएर पनि यही काम गर्यौं। व्यापार राम्रो छ, बस्नखान पुगेको छ।'
सात वर्ष भयो काठमाडौंमा उनीहरूले मरमसलाको व्यवसाय गरेको। अब आफ्नो यो व्यवसायसँगै बुवाले थालेको पेडाको व्यापार पनि अगाडि बढाइरहेका छन् उनी।
(आनन्दप्रसाद साहको सम्पर्क नम्बरः ९८६२९२०२८२, ९८४१९४६२७४। फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्)