विकसित मुलकतिर प्रचलित स्की अर्थात हिउँमा चिप्लिने खेल नेपालमा कति सम्भव होला!
कास्कीको मर्दी पदमार्गमा यही सम्भावनाको खोजी गर्दैछन् स्की खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक कृष्ण थापा।
उनी तीन महिनाअघि पदमार्गको हाइक्याम्प पुगेका थिए। उनले हाइक्याम्प, भ्यु प्वाइन्ट र मर्दी आधार शिविरमा स्की खेल्न सकिने ठहर गरे।
'हिउँद याममा मात्रै होइन, मर्दीमा रहेको हिमनदीमा वर्षा याममा पनि स्की गर्न सकिन्छ,' थापाको ठहर छ।
हाइक्याम्पमा स्की गर्न सकिने देखेपछि थापाले स्थानीयबासिन्दाको साथ खोजे। हाइक्याम्प र सिदिङमा होटल चलाएका पर्यटन व्यवसायी सुदीप गौतमलाई भेटे। गौतम नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव तथा मर्दी पदमार्गका पर्यटन व्यवसायी समितिका अध्यक्ष हुन्।
हाइक्याम्पमा स्की खेलाउन सकिने थाहा पाएपछि गौतमले स्की महोत्सव आयोजना गर्ने निर्णय लिए। प्रशिक्षक थापा आबद्ध संस्था सस्टेनबल हिमालयन फाउन्डेसन र गौतमले संयुक्तरूपमा गत माघ २८ देखि फागुन ३ सम्म महोत्सव आयोजना गर्ने निर्णय लिए। तर कोरोनाका कारण स्थगित गर्न बाध्य भए।
महोत्सव नहुने भएपछि सस्टेनबल हिमालयन फाउन्डेसनले यही फागुन ६ र ७ गते स्की खेलको तालिम आयोजना गर्यो।
उक्त तालिमका एक सहभागी हुन् म्याग्दीका पर्यटक गाइड सनकुमार जुग्जाली। उनले स्की खेल भिडिओमा मात्र देखेका थिए। यसपालि आफैंले अभ्यास गर्न पाए।
झन्डै दुई दशकदेखि पर्यटक लिएर हिमालका फेदहरू घुमिरहेका जुग्जालीले हिउँमा चिप्लिने खेलको आनन्द कति होला भन्ने सोचेकै थिएनन्।
'स्की खेलको अनुभव लिन पाऊँला भन्ने त सोचेको पनि थिइनँ,' उनले भने, 'यति आनन्द आयो कि हिउँमा चिप्लिँदा उडेको अनुभव भयो।'
सनकुमारले प्याराग्लाइडिङ र र्याफ्टिङ खेलेर खुब मजा लिएका थिए तर सबभन्दा बढी मजा स्कीमै भएको उनले सुनाए।
जुग्जालीले भने, 'स्की खेल्न सजिलो छैन। प्राथमिक चरणको तालिममा कयौं पटक लडेँ तर खेलको मजाले अरू कष्ट बिर्साइदियो।'
तालिममा जुग्जालीसहित १३ जना सहभागी थिए। प्रारम्भिक जानकारी र शरीर फुर्तिलो बनाउने व्यायामपछि प्रशिक्षार्थीहरूले स्की खेल्दा लगाउनुपर्ने जुत्ता लगाए। करिब दुई किलोग्रामको गह्रौं जुत्ता स्कीमा जोडे। यति गह्रौं जुत्ताले गोडा चलाउन पनि असहज भयो।
प्रशिक्षक थापाले सहभागीलाई हिउँले ढाकेको समथर भागमा घस्रिन सिकाए। पदयात्राको जस्तै लठ्ठी टेकेर चिप्लिन सिकाए। लड्दै, उठ्दै प्रशिक्षार्थीहरू अघि बढे। प्रशिक्षक थापाले खुट्टामा स्की जोडेर हिँड्न र साथीको सहयोगले हिउँमा चिप्लिन सिकाए। यो खेलमा हिउँमा लड्न जान्नु पर्छ। दायाँ–बायाँ ढल्किँदै लड्न पनि सिकाए।
यसरी लड्दा हात टेकेर अडिने उपाय सिकेपछि प्रशिक्षार्थीहरू समथर ठाउँमा साधारण तरिकाले स्की गर्न सक्ने भए। यसपछि सामान्य भिरालोमा गर्न सिके।
'स्की गर्दा शरीर सन्तुलनमा राख्न जान्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। हिउँमा चिप्लिँदै जाने बाटोबाहेक अन्त ध्यान जानु हुँदैन,' प्रशिक्षक थापाले भने, 'भिरालो ठाउँमा स्की गर्दा गति नियन्त्रण गर्न र मोडिन शरीरको सन्तुलन मिलाउन जान्नुपर्छ। यति बेला खेलाडीको एकाग्रता अनिवार्य हुन्छ।'
जुग्जाली सामान्य भिरालोमा स्की गर्न सक्ने भएका छन्। तीव्र गतिमा स्की गर्न र हावामा उड्न जानिसकेका छैनन्। यस्तो सिप विकास गर्न लामो समय अभ्यास आवश्यक पर्ने प्रशिक्षक थापा बताउँछन्।
उनका अनुसार स्कीमा खेलाडी स्वतन्त्र हुन्छ। आफैंले सन्तुलन मिलाएर शरीर नियन्त्रणमा राख्नुपर्छ।
'अगाडिको बाटो हेरेर गति बढाउने, घटाउने र मोडिने सिप चाहिन्छ। यसो गर्न धेरै अभ्यास गर्नु पर्छ,' थापाले भने।
गाडी चालकले ट्रायल दिएजस्तै स्कीमा चिप्लिँदै घुमाउरो बाटो पार गर्न, मोडिन र गति नियन्त्रण गर्न सिकेको जुग्जालीले बताए। उनलाई स्की खेल सिक्दा बालापनको याद आयो।
'हामी सानोमा हिलोमा चिप्लेटी खेल्थ्यौं,' उनले भने, 'हिउँमा चिप्लने खेल खेल्दा मलाई बाल्यकालको याद आयो।'
सफा हिउँमा हिमालयको दृश्य हेर्दै चिप्लनुको मजा बयान गर्नै नसकिने उनको भनाइ छ। स्की निकै महँगो खेल मानिन्छ। प्रशिक्षक थापाका अनुसार स्की सन् ६० को दशकदेखि प्रचलनमा आएको हो।
नर्वेका हिमाली क्षेत्रमा हिउँ पर्दा मानिसहरू एक ठाउँबाट मानिस अर्को ठाउँमा जान स्की गर्थे। उनीहरू काठका फलेक प्रयोग गर्थे। हिउँमा काठ तेर्स्याएर चिप्लिँदै यात्रा गर्दागर्दै स्की खेल विकास भएको थापाले बताए।
थापाले आफूले पहिलो स्की क्याडामा खेलेको बताए। त्यसपछि उनले स्की छाडेका छैनन्। उच्चस्तरको तालिम लिएर स्की खेलको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाणपत्र लिएका छन्। उनले स्कीको प्रशिक्षण दिएको १५ वर्ष भयो।
थापाको स्थायी घर तनहुँको वसन्तपुर हो। उनी २७ वर्षदेखि बेलायती सेनामा कार्यरत छन्। सेनामा भर्ती हुनुअघि उनले प्रत्यक्षरूपमा हिउँ देखेका थिएनन्। नेपालका हिमाली क्षेत्र पुगेकै थिएनन्।
पोखराको जनप्रिय कलेजमा पढ्दा पढ्दै बेलायती सेनामा भर्ती भए। तालिम सकिएपछि हिमालय क्षेत्रको पल्टन रोजे। सेनामै उनले हिमाली भूगोल चिने। हिउँ, चट्टान र शिखर आरोहण लगायतको शिक्षा अभ्यास गरे।
यही क्रममा उनले क्यानडामा स्की खेल्न पाए। युरोप र अमेरिकाका हिमालमा पनि स्की खेले। अहिले छुट्टिको मौकामा मर्दीमा स्की तालिम दिन नेपाल आएको उनले बताए।
छुट्टीमा आउँदा पदयात्रामा जाने गरेको थापाले बताए। पदयात्रा क्रममा हिउँ फेला परे स्की पनि गर्छन्। ढोरपाटन, धौलागिरि, मनास्लु, गोसाइकुण्ड लगायतका स्थानमा स्की गरेको उनले बताए।
थापा सन् २०११ देखि नेपालमा स्की खेल विकासको सम्भावना खोजिरहेका छन्। उनले मर्दी पदमार्गमा प्रारम्भिकदेखि उच्चस्तरको स्की खेलको सम्भावना देखेका छन्। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न पनि मर्दी पदमार्ग उचित रहेको उनको भनाइ छ।
'पहिलो पटक स्कीको अनुभव लिऊँ भन्नेलाई मर्दी उपयुक्त छ। अन्तर्राष्ट्रिय खेलाडीले अर्को ठाउँमा पनि खेल्न सक्छन्,' थापा भन्छन्, 'पोखराबाट नजिकै भएकाले पनि मर्दी पदमार्ग स्कीका लागि उत्कृष्ट छ।'
थापाका अनुसार स्की खेलका लागि हिउँ मात्र भएर हुँदैन। एक घण्टाभित्र हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पताल पुग्न सक्ने हुनुपर्छ। मर्दी पदमार्गबाट बढीमा १५ मिनेटमा पोखरा पुगिन्छ।
स्की खेल्न संसारका उत्कृष्ट गन्तव्यभन्दा मर्दी कम नरहेको थापाको भनाइ छ।
'सहरबाट यति छोटो दुरीमा स्की खेल्न पाइन्छ, वरिपरि आठ हजार मिटर अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन्,' उनले भने, 'मर्दीमा स्की खेल प्रवर्द्धन गर्न सकिन्छ।'
हिउँ पर्न सुरू भएपछि नेपालका हिमाली क्षेत्रमा ढोका बन्द गरेर हिँड्नु पर्ने अवस्था स्कीले अन्त्य गर्ने उनको विश्वास छ।
'हिउँ पर्न थालेपछि नेपालमा पर्यटक सिजन सकिन्छ। व्यवसायी र रैथानेहरू ढोका लगाएर तलतिर झर्छन्,' थापा भन्छन्, 'स्की खेल प्रवर्द्धन गर्न सकियो भने हिमाल आरोहण गर्नभन्दा स्की खेल्न धेरै पर्यटक आउन सक्छन्।'
स्की खेलका लागि नेपालको हिमालय क्षेत्र उत्कृष्ट भए पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न नसकेको थापाको भनाइ छ।
'नेपालमा स्की खेल विकास गर्न सबैभन्दा पहिला नेपालीले खेल्न सिक्नु पर्छ,' उनी भन्छन्, 'यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न सकिन्छ।'
हिमाल आरोहणबाट भन्दा स्कीबाट बढी फाइदा लिन सकिने थापाको विश्वास छ। खेलाडीले मात्र नभई पदयात्रामा जाने पर्यटकले पनि स्कीको अनुभव गर्न सक्ने थापाले बताए।
सस्टेनबल हिमालय फाउन्डेसनमा आबद्ध शान्ता नेपालीले मर्दी पदमार्गमा निःशुल्क स्की तालिम चलाएको बताइन्। आगामी वर्ष स्थानीयवासीसँग मिलेर स्की सम्बन्धी थप कार्यक्रम ल्याउने उनको भनाइ छ।
पर्यटन व्यवसाय चलाउने एचएसटी एडभेन्चरका सञ्चालक प्रभात अधिकारीले आफ्नो कम्पनीले ट्रेकिङ, प्याराग्लाइडिङ र र्याफ्टिङसँगै स्कीको पनि प्याकेज बनाएको बताए।
उनले भने, 'मनास्लुमा स्की गर्न पाँच हजार अमेरिकी डलरको प्याकेज छ।'
स्की खेल्न हेलिकप्टरबाट खेलाडी लैजाने, उद्धार गर्ने, उपचार गर्ने लगायतको जनशक्ति आवश्यक पर्ने भएकाले धेरै रोजगारी सिर्जना हुने पनि उनको भनाइ छ। आफ्नो कम्पनीले मनास्लु, मेरापिक, लाङटाङ र धौलागिरिमा स्की खेलाएको पनि उनले बताए।
मर्दी पर्यटन व्यवसायी समितिका अध्यक्ष गौतमले मर्दी आउने पदयात्रीले स्कीको अनुभव लिन सक्ने बताए। उनले भने, 'अन्नपूर्ण शृंखलाका उपयुक्त ठाउँमा पनि स्की खेल प्रवर्द्धन गर्ने योजना छ।'
स्कीको माध्यमबाट हिउँद याममा गुणस्तरीय पर्यटक भित्र्याउन सकिने उनको विश्वास छ।
सबै तस्बिर सौजन्यः शान्ता नेपाली