महिला उद्यमीका कथा
कोक्रो भन्नासाथ तपाईं के सम्झिनु हुन्छ? साना नानीबाबुलाई सुताएर हल्लाउने झोलुंगो, होइन त!
आज हामी त्यस्तै क्रोक्रो बनाउने नेपाली ब्रान्डका बारेमा कुरा गर्दैछौं। ब्रान्डको नाम हो- कोक्रोमा।
यसले कोक्रो मात्र बनाउँदैन, नानीबाबुलाई न्यानो पार्न चाहिने लुगा बनाउँछ। दौरासुरूवाल, पजामा (टिसर्ट-सुरूवाल), टोपी, पञ्जा, मोजा र यस्तै अन्य आवश्यक सामग्री अनि तोरीको सिरानी पनि।
यी सामान उत्पादन गरेर बेच्ने काम गर्छिन् काठमाडौंकी ३८ वर्षीया रेवती गुरुङ। उनले यसरी व्यवसाय गरेको तीन वर्ष भयो। यस अवधिमा उनले कोक्रोमा ब्रान्ड विकास गरिसकेकी छन्।
कोक्रोमाले भर्खर जन्मेका बच्चादेखि सात वर्ष उमेरसम्मका केटाकेटीका लागि लुगा उत्पादन गर्छ। यिनको मूल्य सय रूपैयाँदेखि चार हजार रूपैयाँसम्म पर्छ।
'कोक्रोमाले नवजात शिशुका लागि आवश्यक सबै लुगा बनाउँछ,' रेवती भन्छिन्, 'मौसमअनुसारको लुगा उत्पादन हुन्छ। सधैं र सबभन्दा बढी माग भोटो र दौरासुरूवालको छ।'
रेवतीका अनुसार कोक्रोमाले सुती कपडाको लुगा बनाउँछ। सुती जाडो र गर्मी दुवै मौसममा उपयुक्त मानिन्छ। यस्ता लुगाको माग वर्षभरि नै उस्तै रहने उनको भनाइ छ।
अंग्रेजी भाषा र विकास अनुसन्धान विषयमा स्नातकोत्तर सकेकी रेवतीको रूचि भने व्यापारमा थिएन। परिवारका सदस्य पनि व्यापारमा थिएनन्। परिवारजनको इच्छा त उनलाई अंग्रेजी विषयको 'प्रोफेसर' बनाउने थियो।
अध्ययन र अन्य कामका क्रममा देश–विदेश घुमेकी रेवतीको व्यापारमा लाग्नुको पृष्ठभूमि रोचक छ।
रेवती सन् २०१६ मा 'लैंगिक, साँस्कृतिक र राजनीतिक' विषय अध्ययनका लागि फिनल्यान्ड पुगेकी थिइन्। उनले त्यहाँ बालमृत्युदर कम गर्न सरकारले नवजात शिशुलाई 'बेबी बक्स' उपहार दिएको देखिन्। उनको कोर्समा पनि यससम्बन्धी पाठ थियो। रेवतीलाई त्यो बक्स साह्रै मन पर्यो।
एक वर्षको कोर्स सकेर उनी स्वदेश फर्किन्। फर्किँदा काठमाडौंमा डकुमेन्ट्री निर्माणको एउटा कार्यशाला चलिरहेको थियो। फिनल्यान्डकै एक साथीसँग उनी कार्यशालामा सहभागी भइन्।
यसपछि उनी गरिबी निवारण कोष र विश्व बैंकको एक परियोजनामा काम गर्न पुगिन्। त्यहाँ उनको जिम्मेवारी थियो महिला उद्यमशीलताका विषयमा डकुमेन्ट्री बनाउने। यसनिम्ति महिला उद्यमीसँग कुरा गरेर उनीहरूको व्यावसायिक स्टोरी तयार गर्नु पर्ने थियो।
उनको पहिलो डकुमेन्ट्री बौद्धमा रहेको 'द्रिचु' कम्पनीबारे थियो। द्रिचुले धागो र कपडा बनाउँथ्यो। करिब ६ वर्षअघिको भुइँचालोको समयमा स्थापित द्रिचुले छोटो समयमै ४० जनालाई रोजगारी दिएको थियो।
पहिलो डकुमेन्ट्री राम्रो ठहरिएपछि रेवती उत्साहित भइन्। तेह्रथुम, जनकपुर, दाङ, नवलपरासी, म्याग्दी, दैलेख लगायत जिल्ला पुगेर महिला उद्यमी र उनीहरूका उत्पादनबारे थप डकुमेन्ट्री बनाइन्।
'त्यो प्रोजेक्टका लागि एक वर्षमा हस्तकलाका आठ वटा डकुमेन्ट्री बनाउनु पर्ने थियो,' रेवतीले भनिन्, 'छालाको जुत्ता र झोला, मिथिला आर्ट, ढाका कपडा लगायत नेपाली उत्पादनका डकुमेन्ट्री बनाएँ।'
परियोजनाको काम सकियो। फुर्सद मिल्यो। त्यही बेला रेवतीमा आफू पनि उद्यमी बन्न सोच पलायो। हस्तकलाको माध्यमबाट स्वदेशी उत्पादन विश्वबजारमा पुर्याउन सकिन्छ कि भन्ने लाग्यो।
'मैले एक वर्ष डकुमेन्ट्री मात्र खिचिनँ, आँखाअगाडि देखेका उत्पादनसँग म यति रमाएँ कि बयान गर्नै सक्दिनँ,' प्रशन्न मुद्रामा उनले भनिन्, 'द्रिचु र हस्तकलामा रमाएका महिलाहरू मेरा लागि रोल मोडल बनिदिए।'
महिला उद्यमी बनेर आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा चिनाउने उनको सपना झन् झन् बलियो हुँदै गयो। इच्छाशक्ति भए असम्भव केही छैन भन्ने लाग्यो।
उद्यमी त हुने तर के उत्पादन गर्ने!
उनले फिनल्यान्डमा देखेको बेबी बक्स सम्झिन्। त्यो बेबी बक्सलाई स्वदेशी हस्तकलासँग जोड्ने विचार गरिन्। रेवतीले योजना बनाइन्- बच्चाका लागि कोक्रो त सधैंको आवश्यकता हो। कोक्रोसँगै स्वदेशी कपडाको न्यानो लुगा बनाएर सेट तयार गर्छु र त्यसकै व्यापार चलाउँछु।
कोक्रो बनाउन सामान कसरी जुटाउने? कसले बनाउँछ? लुगा बनाउने स्वदेशी कपडा कहाँबाट ल्याउने?
योजना बुने पनि रेवती रनभुल्ल परिन्।
आफ्नो अवधारणा परिवारमा सुनाइन्। सहयोग पाउने छाँट देखिएन। नजिकका अरू केहीलाई पनि सुनाइन्।
'एमए पढेकी मान्छेले कोक्रो बुनेर, भोटो सिलाएर बस्ने' भन्दै खिसिट्युरी गर्ने लक्षण पो देखियो!
उनी निराश भइनन्।
'मसँग केही आइडिया छैन त के भयो, इच्छाशक्ति छ नि!' मनमा हुटहुटी झन् बढ्यो।
सुरूमा रेवतीले फिनल्यान्डमा देखेको बेबी बक्स जस्ताको तस्तै बनाउने प्रयास गरिन्। बनाइन् पनि। तर आफैंलाई चित्त बुझ्दो भएन।
'जुन बेबी बक्स मैले फिनल्यान्डमा देखेकी थिएँ, त्यही बनाउन धेरै मेहनत गरेँ,' उनी भन्छिन्, 'तर हाम्रो समाज र सँस्कृतिअनुसार उपयुक्त नहुने रहेछ।'
पहिलो प्रयास असफल भएपछि उनलाई बेबी बक्ससँग मिल्दोजुल्दो नेपाली कोक्रो सम्झना भयो। उनले व्यवस्थित कोक्रो बनाएर त्यसैमा शिशुका लुगा सेट राख्ने र प्याकेजमै बेच्ने आइडिया बनाइन्। फिनल्यान्डमा पनि बेबी बक्समा सिरानी र लुगा सेट देखेकी थिइन्।
उनले फिनल्यान्डको मोडललाई नेपाली सँस्कृतिमा ढालिन्। त्यसमा कोक्रो, तोरीको सिरानी, टोपी, भोटो, दौरासुरूवाल, पञ्जा, पजामा लगायत राख्ने विचार गरिन्।
आइडिया तयार भयो। बाँकी रह्यो बजार अध्ययन गर्ने काम। यो समय थियो सन् २०१८ को। उनी बजार घुम्न थालिन्। लुगा बनाउने उपयुक्त कपडा खोजिन्।
एकदिन पत्रिका पढ्दै गर्दा रेवतीले कारागारका कैदीले बुनेका कपडा नबिकेको भन्ने समाचार देखिन्। त्यही दिन उनी सुन्धारास्थित कारागार पुगिन्। कैदीबन्दीले तयार पारेका कपडा हेरिन्। चित्त बुझ्यो।
कपडाको मेसो मिल्यो। अब सिलाउने ठाउँ चाहियो। आफैं सिलाइ मेसिन किन्ने र कालिगढ राख्ने गरी उनीसँग पुँजी थिएन। व्यापार कस्तो हुने हो भन्ने भर पनि भएन। खोजी गर्दा लुगा सिलाउने ठाउँ टुंगो लाग्यो। सोचेअनुसार लुगा सेट तयार हुने भयो।
अब चाहियो कोक्रो। रेवती बेतको कोक्रो बनाउने ठाउँमा पुगिन्। पहिलो पटक बीस वटा कोक्रो बनाउन अर्डर दिइन्। केही दिनमा कोक्रो र लुगासहितको प्याकेज तयार भयो।
रेवती सेट बेच्ने चरणमा पुगिन्। उनलाई आफ्नो उत्पादनको ब्रान्ड चाहियो। कोक्रोमा सबै सामान हालेको नियालेपछि उनको दिमागमा फुर्यो 'कोक्रोमा'।
यही नाम राखेर उनले सन् २०१९ मा वेबसाइट सार्वजनिक गरिन्। रेवतीले सकेसम्मको सीप लगाएर प्रचारप्रसार गरिन्। मानिसहरूले मन पराए पनि। तर सेटै किन्ने ग्राहक आएनन्। उनले सेटको दाम ३५ हजार रूपैयाँ राखेकी थिइन्। ग्राहकले महँगो ठाने। असफल हुने छाँट देखियो।
'कोक्रो, भोटो, दौरासुरूवाल, पञ्जा, मोजा, सिरानी लगायत सबै मिलाएर बीस सेट बनाएकी थिएँ। धेरैले मन पराए तर कसैले किनेनन्,' उनले भनिन्, 'परिणाम उल्टो भइदियो। मलाई त डिप्रेसन जस्तो पो भयो।'
डकुमेन्ट्रीबाट कमाएको पैसा व्यवसायको अध्ययन र सेटको तयारीमा सकियो। उत्पादन बिक्री नभए पनि पछि हट्ने विकल्प थिएन। रेवतीले सेट फुटाएर बेच्ने विचार गरिन्। कपडा झोलामा बोकेर आफन्त र साथीसंगीकहाँ पुगिन्। उनीहरूलाई सम्झाइन्, बुझाइन्। बिक्री पनि हुन थाल्यो।
लुगा किन्नेहरूले सकारात्मक प्रतिक्रिया दिए। सबै लुगा एक महिनामै बेचिसकिन्। तर झोलामा बोकेर बेच्दै हिँडेर त कुशल उद्यमी बन्ने सपना पूरा हुन्थेन। लगानी बढाएर ठूलो व्यापार गर्न पैसा थिएन। रेवती आफैंभित्र अन्यौलमा थिइन्।
व्यवसायकै सिलसिलामा घुम्दै गर्दा एक दिन उनी काठमाडौंको बौद्ध स्तुपनजिक एउटा क्याफेमा पसिन्। उनले भनिन्, 'कफी पिउँछु, आधा घन्टा बस्छु, जे गर्नु छ, आज यहीँबाट निर्णय लिएर निस्किन्छु। यही सोचेर क्याफे पसेकी थिएँ।'
नजिकै अर्को कुर्सीमा एक विदेशी महिला थिइन्। कारणवस ती महिलाको उडान छुटेको रहेछ। समय कटाउन उनी बौद्ध स्तुप पुगेकी रहिछन्। रेवती र ती विदेशी महिलाबीच कुरा हुन थाल्यो।
तिनले सोधिन्, 'चिन्तित जस्ती देखिन्छ्यौ नि! तिमीले बोकेको सामान के हो?'
रेवतीले आफ्नो व्यवसाय र आर्थिक अभावबारे ती विदेशीलाई सुनाइन्। कफी खाउन्जेलको गफ न हो, कुरा सकियो। ती महिलाले इमेल ठेगाना दिइन्, तिम्रो व्यवसायबारे लेख्नू है भनिन्। रेवती आफ्नो बाटो लागिन्।
केही दिनपछि रेवतीले सम्झनास्वरूप एउटा इमेल लेखिन्, व्यवसायको कुरा पनि थोरै लेखिन्।
केही बेरमै इमेलको प्रतिक्रिया आयो। लेखिएको थियो, 'म तिमीलाई पाँच हजार डलर सहयोग गर्छु। तिमी तीन वर्षमा आफ्नो खुट्टामा उभिनुपर्छ, काम राम्रो गरेर देखाउनुपर्छ।'
एउटा नेपाली उखानले तँ आँट् म पुर्याउँछु भन्छ। यही उखान रेवतीको जीवनमा यथार्थ भएर आयो। अपरिचित विदेशीसँगको एकै छिनको भेटले अपत्यारिलो ढंगले व्यवसायको क्षितिज छ्यांग पारिदियो।
वचनअनुसार ती विदेशीले पैसा पठाइन्। कोक्रोमा ब्रान्डले गति लिने पक्का भयो।
रेवतीले त्यही पैसाले लुगा सिलाउने दुइटा मेसिन, कटिङ टेबल र अन्य आवश्यक सामान किनिन्। दुई जना सहयोगी राखिन्। घरमै सानो कोठामा सामान बनाउन थालिन्। सहयोगीमध्ये एक जना लुगा सिलाउँथिन्। अर्की धुने, आइरन लगाउने लगायत काम गर्थिन्। रेवती तयारी लुगा बेच्न झोला बोकेर पसल–पसल चहार्थिन्।
तीन जनाको मेहनतले पहिलो एक महिनामा ४० हजार रूपैयाँको लुगा बिक्री भयो।
'अर्को महिना ८० हजारको बिक्री भयो। महिनैपिच्छे कारोबार बढ्दै गयो,' रेवतीले भनिन्, 'त्यो बेलाको खुसी शब्दमा भन्न सक्दिनँ, म त नाचेँ।'
पहिलो खुट्किलोमा झन्डै असफल बनेकी रेवतीको व्यवसायको फड्को अहिले उक्लिँदो छ। पछिल्लो एक वर्षमा मात्र डेढ करोड रूपैयाँको कारोबार गरेको उनले बताइन्।
कोरोना लकडाउन हुँदा कोक्रोमाले स्वदेशी बजारलाई लक्षित गरेर ठूलो मात्रामा मास्क उत्पादन गर्यो।
'व्यवसाय राम्रो हुँदै थियो। लकडाउन भयो। निर्यात गर्न सकिएन,' रेवतीले भनिन्, 'यता बजारमा मास्क अभाव भयो। मास्कबाट पनि कारोबार गर्न सक्यौं।'
घरको कोठामा सीमित कोक्रोमा अहिले बौद्धको व्यावसायिक क्षेत्रमा सरेको छ। लुगा सिउने कारखाना जोरपाटीमा छ भने बौद्धमा व्यावसायिक स्टल हो। उनले १६ जनालाई रोजगारी दिएकी छन् जसमा १५ जना महिला छन्। उत्पादनका सबै काम महिलाले गर्छन्, एकजना पुरुष डेलिभरी गर्न बजार जान्छन्।
रेवतीले कोक्रोमाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याएकी छन्। अमेरिका, अस्ट्रेलिया, जापान, स्विट्जरल्यान्ड र भारतबाट दौरासुरूवाल र भोटोको अर्डर आउने गरेको उनले बताइन्। त्यस्तै काठमाडौंका अस्पतालहरूमा पनि खपत हुन्छ। सबभन्दा बढी खपत मेडिसिटी अस्पतालमा छ। अनलाइन बजार 'दराज' बाट पनि कोक्रोमाका सामान किन्न पाइन्छ। यहाँबाट पनि धेरै अर्डर आउने गरेको रेवतीले बताइन्।
अब केटाकेटीले लगाउने सबै किसिमका लुगा उत्पादन गर्ने सोचमा छिन् रेवती।
भन्छिन्, 'सकेसम्म नेपाली उत्पादन, त्यसमा पनि परम्परागत शैलीको तर आधुनिक तरिकाले बनाउन मन छ। दौरामा हुडी राखेर बनाएका थियौं, माग ह्वात्तै बढ्यो।'
रेवतीले कपडा बुन्न आफ्नो छुट्टै तान राख्ने पनि सोचेकी छन्।
सबै तस्बिरः सविना कार्की
(कोक्रोमाको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८४१९०८५२८)
महिला उद्यमीका यी कथाहरू पनि पढ्नुहोस्ः
अमेरिकाबाट फर्केर खुसीले खोलिन् ५० लाखमा युनिसेक्स सैलुन
युएईद्वारा पुरस्कृत सरिता भन्छिन्ः कीरा पालेको सुहाएन भन्थे, गरे नहुने के रहेछ र!