दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी (इन्नोसिएसआर)ले जेबी इको ब्रिक्सले नेपालसँग नवीनतम तथा वातावारण मैत्री इँटा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ।
कम्पनीले यसअघि इको ब्रिक र शिवशक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेको थियो। त्यसलाई निरन्तरता दिँदै जेबी इको ब्रिक्स नेपालसँग पनि सम्झौता गरेको हो।
कृष्णमान भुजुले संचालन गरिरहेको जेबी इको ब्रिक्सले हाल वार्षिक पाँच करोड इँटा उत्पादन गर्दै आएको छ। भक्तपुर, मकवानपुर र धादिङमा रहेका इँट्टा भट्टाबाट जेबी इको ब्रिक्सले माटो पोलेर परम्परागत प्रविधिबाट इँटा उत्पादन गर्दै आएको छ।
‘जनशक्ति र कोइला अभाव भएपछि मैले इँटा उत्पादनको लागि विकल्प खोजिरहेको थिए, अध्ययनको क्रममा मैले गुड ब्रिक्स सिस्टम फेला पारे, जुन प्रविधिले पोल्नु नपर्ने गरि ईंट्टा उत्पादन गर्दछ,’ सञ्चालक भुजेलले भने। यसबाट नेपालमा गुणस्तरीय उत्पादन बृद्धि हुने उनले बताए।
‘इन्नोसिएसआरको प्रविधिसँग काम गर्न तत्पर छु, म आशा गर्छु कि इन्नोसिएसआर र जेबी इको ब्रिक्सको सहकार्यले नेपालको इँटा उत्पादन उद्योगमा नयाँ आयाम आउने छ’ उनले भने।
कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्तिसमेत अभाव हुँदा नेपालको इँटा उत्पादन उद्योगलाई समस्या भईरहेको छ। गुड ब्रिक्स सिस्टमले यसको समाधान दिदै वातावरणमैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरी गुणस्तरीय इँटा उत्पादन गर्दछ।
इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकल हो, जसले अन्तराष्ट्रिय स्तरको मापदण्ड पूरा हुने गरि इँटामा माटो र सिमेन्टको पकड बनाउन काम गर्दछ।
यस प्रविधिमार्फत हाइड्रोलिक मसिनको प्रयोग बाट उद्योग भित्रनै रहि हरेक सिजन ईंट्टा उत्पादन गर्न सकिन्छ। यसले हरेक इँटामा समान गुणस्तर कायम हुन्छ। साथै यस प्रविधिमा परम्परागत इँटा उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्छ भने इँटालाई पोल्नु पनि पर्दैन।
इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक साम युन्सुक लिकाअनुसार गुड ब्रिक उत्पादन प्रविधि नेपालका इँटा उत्पादकहरु माझ लोकप्रिय हुदैछ। हाल नेपालका २५ वटा ईंट्टा उत्पादकहरु उनीहरुको माटो र मसिन परिक्षणको पर्खाइमा छन्।
उनकाअनुसार यस प्रविधिले इँटा उत्पादन उद्योगमा देखिएका समस्या समाधान गर्नुका साथै अन्य थुप्रै फाइदामा पनि दिएको छ। यसले इँटा उत्पादकलाई धेरै आम्दानी दिएको छ, ग्राहकलाई गुणस्तरीय इँटा उपलब्ध भएको र पुरै देशले स्वच्छ हावा पाएको छ। हाल यस प्रविधिबारे बुझ्न चाहनेको संख्या बढ्दै गएको र त्यसले नयाँ सम्झौता हुने क्रम बढेको कम्पनीले उल्लेख गरेको छ।