सहरको दैनिक व्यस्तताबाट कहिलेकाहीँ अलग हुने र प्रकृतिमा रमाउने चाहना कसलाई हुँदैन! टाढासम्म पुग्ने फुर्सद मिलाउन पनि मुश्किल हुन्छ। खर्चको पनि ख्याल राख्नै पर्यो।
यस्तो बेलामा आफ्नो गच्छेअनुसार नजिकै कतै राम्रो ठाउँ भए हुन्थ्यो जस्तो लाग्छ। ताकि थोरै फुर्सदमा पनि केही रमाइलो गर्न पाइयोस्।
काठमाडौं उपत्यकाका यस्ता ग्राहकका लागि एउटा गज्जबको ठाउँ हुनसक्छ भक्तपुर, रानीकोटमा अवस्थित 'भिलेज हाइल्यान्ड रिसोर्ट'।
वरिपरि हरियाली जंगल छ। निलो आकाशमुनि चाँदीझैं टल्किने हिमशृंखला देखिन्छ। सूर्योदयको अवलोकन त छँदैछ, काठमाडौं उपत्यका पूरै नियाल्न पाइन्छ।
'यहाँ प्राकृतिक वातावरणमा नाच्दै, खेल्दै र खाँदै रमाउन पाइन्छ,' सञ्चालक रामसुन्दर बकेले भने।
भक्तपुरको सूर्यविनायकबाट दक्षिणतर्फ सात किलोमिटर उकालो पार गरेपछि पुगिन्छ दुई हजार मिटर उचाइमा अवस्थित रानीकोट। बकेका अनुसार रिसोर्टबाट गौरीशंकर, धौलागिरि, मनास्लु, लाङटाङ, गणेश र दोर्जे लाक्पा हिमालहरू देखिन्छन्।
'मौसम अनुकूल हुँदा रिसोर्टमा बसेर यी सबै हिमाल हेर्न पाइन्छ,' उनले भने, 'यहाँ आउने भनेकै प्रकृतिसँग रमाउन हो। रिसोर्टले दिने सेवा सुविधा त छँदैछ।'
हालै पर्यटन विभागले भिलेज हाइल्यान्डलाई पर्यटकस्तरीय तीन तारे होटलका रूपमा मान्यता दिएको छ।
साढे पाँच रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा आगन्तुकका लागि दुइटा भवन छन्। ठाउँठाउँमा ससाना सेल्फी टावर छन्। यसै पल्टेर आराम गर्न रमणीय चउर पनि छ। बालबालिका खेल्ने छुट्टै पार्क छ जहाँ पिङ, झोलुंगो र चिप्लेटी छन्।
अघिकांश आगन्तुकहरू प्राकृतिक दृश्य पृष्ठभूमिमा राखेर फोटो खिचाउँछन्, टिकटक बनाउँछन्। आगन्तुकको यस्तो इच्छा विचार गरेर रिसोर्टले सोहीअनुसार सजावट गरेको छ।
उनी भन्छन्, 'खानेबस्ने मात्रै होइन कि फोटोजेनिक स्टुडियोको रूपमा रिसोर्ट विकास गर्ने सोचाइ छ। अर्थात् फोटो खिच्ने ठाउँका रूपमा पनि!'
रिसोर्टमा तीन महिनाअघि एउटा आधुनिक पिङ राखिएको छ। अचेल शनिबार पिङमा भिडै लाग्छ।
'शनिबार एकदिनमै डेढ सयभन्दा बढी मानिस पिङ खेल्नै पनि रिसोर्ट आउँछन्,' उनले भने, 'अरू दिनमा पचास जनासम्म हुन्छन्।'
पिङ खेलाउन दुई जना कामदार खट्छन्।
यहाँ अहिले २१ वटा डिलक्स कोठा छन् जसमा ६० जनासम्म अटाउँछन्। उन्नाइस वटा कोठा थप्ने योजना छ। त्यस्तै ४० जना अटाउने क्षमताका दुइटा हल छन्। यिनमा सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरू हुन्छन्। बिहेजस्ता शुभकार्यको भोज पनि हुन्छ।
रामसुन्दरले कोरोना फैलिरहेको समयमा रिसोर्ट सुरू गरेका हुन्। तैपनि उनी निराश हुनु परेको छैन। आगन्तुकले रूचाउने सुविधाहरू क्रमिक रूपमा थप्दैछन्। केही निर्माण क्रममा छन् त केही निकट भविष्यमा निर्माण हुनेछन्। स्पा, पुल हाउस र नाचका लागि कोठा बनाउने तयारी छ। यहाँ आउने अधिकांशको माग डिजे रूमको छ। त्यसका लागि चाँडै कोठा तयार हुने उनले बताए। ब्युटी पार्लर र सैलुन पनि बन्दैछ।
रिसोर्टको रेस्टुरेन्टमा स्थानीय परिकार बन्छन्। सोलुखुम्बुमा बुङ भनिने आलु यहाँको मुख्य आकर्षण हो। केही वर्षअघि सोलुखुम्बु घुम्न जाँदा रामसुन्दर त्यहाँको होटलमा बसेका थिए। त्यहाँ खाएको आलुको स्वादले मन तानेकाले त्यही आलुको स्वाद दिएको उनी बताउँछन्।
'यो आलु सोलुखुम्बुको लेकमा फल्ने भएकाले स्वाद अलग्गै छ। एक पटक रोपेपछि चार वर्षसम्म फल्छ,' उनले भने, 'काठमाडौंका कुनै पनि होटलमा यसको स्वाद पाइँदैन। यही आलु यहाँको विशेषता बनेको छ।'
रामसुन्दर बेकरी परिकार पनि थप्दै छन्। शाकाहारी आगन्तुकलाई लक्षित गरेर बेकरी परिकार राखेको उनको भनाइ छ। खानाकै लागि पुग्ने आगन्तुक पनि धेरै हुन्छन्। शनिबार परिवार र युवायुतीका जोडी बढी आउँछन्। धेरैले रिसोर्टको थाली सेट मन पराउँछन्।
धेरैजसो आगन्तुक बाल्कोनीमा बसेर हिमाली शृंखला र काठमाडौं उपत्यकाको दृश्य हेर्दै खाना खान रूचाउँछन्। एक पटकमा सय जनाले खाना खान सक्ने बाल्कोनी छ।
'यहाँ आउनेमध्ये अधिकांशको रोजाइ बाल्कोनी नै हुन्छ,' रामसुन्दर भन्छन्, 'बाल्कोनीकै कारण पनि रानीकोट रुचाइएको जस्तो लाग्छ।'
बेलुकाको खाना र बिहानीको खाजासहित एक रात बस्न एक जनालाई तीन हजार पाँच सय रूपैयाँ लाग्छ।
रामसुन्दरका अनुसार रिसोर्टमा छोटो समयमै आगन्तुकको चहलपहल राम्रो छ। रात बिताउनेको संख्या पनि सन्तोषजनक छ। बिहान सूर्योदय हेनेगरी रात बिताउने पाहुनाहरू आउँछन्। फाटफुटबाहेक कोठा खाली रहँदैन।
होटलमा राति बल्ने झिलिमिली बत्ती पनि एउटा आकर्षण हो। भक्तपुरका सूर्यविनायक, जगाती र अन्य केही ठाउँबाट त्यो उज्यालो देखिन्छ।
रिसोर्टमा पुग्ने धेरैले सोध्छन्– राति झिलिमिली हुने ठाउँ यही हो?
रामसुन्दरका अनुसार रातको झिलिमिली बत्ती नै रिसोर्टको विज्ञापन बनेको छ।
रामसुन्दर सूर्यविनायकका स्थायी बासिन्दा हुन्। जग्गा किनबेच कामका क्रममा उनले २०६० सालमा रानीकोटमा जग्गा किनेका थिए। रिसोर्ट बनाएर चलाउँला भन्ने चाहिँ सोचेका थिएनन्। उनी पर्यटन प्रवर्द्धनमा पनि लागेका थिए। एकाएक उनलाई होटल व्यवसायमा रूचि जाग्यो। उनले चितवनको सौराहामा होटल खोल्न ठाउँ खोजी गरे। अन्ततः उनलाई आफ्नो जग्गा भएको रानीकोट नै उपयुक्त ठाउँ हो भन्ने लाग्यो।
निकटका साथीभाइसँग सल्लाह गरे।
'रानीकोटको जंगलमा रिसोर्ट खोलेर के हुन्छ र! जंगलमा को जान्छ र,' भन्ने कुरा पनि भयो। तर उनी पछि हटेनन्। डाँडामा राम्रो रिसोर्ट बनाएर आगन्तुकहरूलाई एकसाथ हिमाल र सहर अवलोकन गराउने टुंगोमा पुगे।
रामसुन्दरले २०७१ सालमा रिसोर्ट बनाउन थालेका हुन्। काम चल्दै गर्दा भुइँचालो आयो, धेरै दिन काम रोकियो। उनी भ्रमण वर्ष–२०२० ताकेर काम गर्दै थिए।
नभन्दै २०७६ कात्तिकमा रिसोर्टले सेवा सुरू गर्यो। सहरको भिडभाडबाट थोरै पर खुला आकाशमुनि स्वच्छ हावामा रमाउने आगन्तुक संख्या अपेक्षाअनुसार नै बढ्यो। दोहोर्याई तेहर्याई आउनेहरू पनि धेरै भए।
छ महिना हुनै लागेको थियो, एकाएक कोरोना संक्रमणले देशमा लकडाउन भयो। पाहुना आउन ठप्प भयो। लगानी फस्ने पो हो कि भन्ने चिन्ता भयो। दिन फिर्लान् भनेर पर्खिनुको विकल्प थिएन।
'पहिलो चरणको लकडाउनमा पूरै बन्द भयो,' रामसुन्दरले भने, 'दोस्रो चरणको लकडाउनमा साथीभाइ र चिनजानका मानिसहरू आए।'
कोरोना सामान्य हुँदै गएपछि रिसोर्ट फेरि खुल्यो। अहिले नेपाली आगन्तुकको चहलपहल बढी छ। शनिबार पाँच सयभन्दा बढी हुन्छन्, अन्य दिन सय जनासम्म पुग्छन्।
रामसुन्दर भन्छन्, 'कोरोनापछि नेपालीहरू घुम्न बढी रूचाउन थालेका छन्। सहरबाट छोटो गन्तव्यमा रमाउन खोज्नेको रोजाइमा रानीकोट पनि परेको छ।'
धेरैजसो आगन्तुक शुक्रबार साँझ पुग्छन्। अनलाइन र फोनमार्फत अग्रिम बुकिङ हुन्छ।
उनका अनुसार रिसोर्टमा हाल मासिक सरदर ५० लाखको कारोबार हुन्छ। चौबीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। कोरोना सन्त्रासपछि आन्तरिक पर्यटकले नै होटल र रिसोर्ट चलेका छन्। विदेशी पर्यटकको संख्या न्यून छ।
'आन्तरिक पर्यटकले अर्थतन्त्र जोगाएका छन्,' उनले भने।
छोटो समयमै आकर्षक पर्यटकीय गन्तव्य बनेको रानीकोटमा विदेशीहरूको संख्या पनि बढ्दैछ। सामाजिक सञ्जालबाट हाइल्यान्ड रिसोर्टको प्रचार भएको छ। यहाँ आउनेहरूले फोटो र भिडिओ सामाजिक सञ्जालमा राख्छन्, त्यही हेरेर आउनेहरू पनि धेरै भएको उनले बताए।
जाडो मौसममा हुस्सुको घुम्टोले छोप्नु र गर्मीमा उपत्यका छर्लंग देखिनु रानीकोटको मुख्य विशेषता हो। भौगोलिक वातावरण नै रमणीय र पर्यटकीय रहेको उनको भनाइ छ।
रानीकोट हाइकिङका लागि पनि प्रसिद्ध छ। काभ्रेको पनौती र कुसादेवीबाट रानीकोट पुग्ने हाइकिङ रुट छ। सूर्यविनायकबाट पाँच किलोमिटर पिच र दुई किलोमिटर कच्ची हिँडेपछि रानीकोट पुगिन्छ। रानीकोट भक्तपुरको गढी पनि मानिन्छ। बाघभैरव मन्दिर छ। धार्मिक हिसाबले पनि आन्तरिक पर्यटक पुग्छन्।
रिसोर्ट वरपरको जंगलमा जीप सफारीको सम्भावना देखेका छन् रामसुन्दरले। प्रकृतिले दिएको उपहार सदुपयोग गरेर रानीकोटलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उनको सोच छ। हाइल्यान्ड रिसोर्ट व्यवस्थापन जिम्मेवारी छोरालाई दिएर उनी नयाँ पर्यटकीय गन्तव्यको खोजीमा लागेका छन्।
'काभ्रेमा सय रोपनी क्षेत्रफलमा नमूना एड्भेन्चर पार्क बनाउने सोच छ,' उनले भने, 'सोलुखुम्बुमा चाँडै एउटा रिसोर्ट सुरू गर्दैछु।'
सहरको तुलनामा गाउँका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन्। होटल क्षेत्रमा लगानी गर्न डराउनु नपर्ने रामसुन्दरको निष्कर्ष छ।
सबै तस्बिरः सविना कार्की/सेतोपाटी