नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिबेशन यही फागुन २७, २८ र २९ गते राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। साधारण सभा तथा अधिवेशन कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले बुधवार पत्रकार सम्मेलनबाट जानकारी दिएको छ।
साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ। साधारण सभाको उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ। साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने बताइएको छ।
अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन्।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्ने बताए। महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए।
यसैबीच अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धिसँगै निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेकाप्रति महासंघका महासचिव रोशन दाहालले चिन्ता व्यक्त गरे।