झन्डै एक दशकअघि स्थापित ‘कित्ली क्याफे एन्ड ग्यालरी’ अमेरिकाबाट फेरि सक्रिय भएको छ।
यसका सञ्चालकद्वय सायद अशोक र समुना केसी अध्ययनका सिलसिलामा अमेरिका आएपछिका केही वर्ष निष्क्रिय रहेको ग्यालरीले अमेरिकामा नेपाली किताबको कारोबार सुरू गर्दै आफ्ना पूर्ववत् योजनाअनुरूप काम थालेको हो।
सञ्चालकहरूका अनुसार यो एउटा व्यापारिक प्रयोजनका लागि मात्र नभएर कलात्मक गतिविधिका लागि समेत स्थापना भएको संस्था हो।
काठमाडौं, सुन्धारास्थित काठमाडौं मलको सबैभन्दा माथिल्लो तलामा स्थापित तत्कालिन ‘थिएटर मल’को बार्दलीमा चिया घरको रूपमा सञ्चालित कित्लीले आफूलाई फिल्म तथा किताब लाइब्रेरीका रूपमा समेत स्थापना गराउने कोशिस गरेको थियो। जहाँ चिया पिउँदै किताब पढ्ने तथा फिल्म हेर्ने अवसर मिल्थ्यो।
बेलाबेला नाटक, फिल्म तथा कला–साहित्यका विविध विषय तथा आयामबारे छलफलसमेत चलाउने रूपमा सक्रिय संस्थाले छोटो फिल्म ‘गाँठो’ समेत निर्माण गरेको थियो। यसले नेपाल तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भाग लिएको थियो। यो फिल्म अहिले दक्षिण एसियाली फिल्मको महोत्सव तथा प्रदर्शन गर्ने संस्था ‘तस्वीर’ले आफ्नो ‘ओटिटी’ माध्यममा प्रदर्शनमा राखेको छ।
आफ्ना नियमित ग्राहकलाई सःशुल्क सदस्यतासमेत वितरण गर्ने संस्थाले क्याफे सञ्चालन तथा सदस्यता वितरणबाट संकलितमध्ये पाँच प्रतिशत रकम जम्मा गरी नाटक तथा अन्य कलात्मक गतिविधिका लागि आर्थिक खाँचोमा परेका व्यक्ति तथा समूहलाई सहयोगसमेत गर्थ्यो।
जसमध्ये आकांक्षा कार्की निर्देशित ‘दयालु रुख’ र नम्रता केसी निर्देशित ‘स्वान लेक’को निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको कित्ली क्याफे एण्ड ग्यालरीको सञ्चालक कम्पनीका रुपमा हालै अमेरिकामा दर्ता गरिएको समुना इन्ककी कार्यकारी निर्देशक समुना केसीले बताइन्।
केसीले आर्थिक सहयोगको काम आफूहरू अमेरिका आए पनि जारी रहेको जानकारी दिइन्।
'किताब कारोबार एउटा पाटो भयो,' केसीले भनिन्, 'हाम्रो अर्को मुख्य काम सहयोग कोषसमेत हो। जसलाई हामीले अलि फराकिलो तवरमा विस्तार गर्ने उद्देश्यले फेरि सञ्चालनमा ल्याएका छौं। अब भने कलात्मक गतिविधिका लागि मात्र नभई सिर्जनात्मक व्यवसाय गर्न चाहने नेपाल या नेपालबाहिर बस्ने नेपालीका लागि उपलब्ध गराउने छौं।'
यसका लागि किताब बिक्रीबाट आएको पाँच प्रतिशत रकम कोषमा जम्मा गरिने उनले बताइन्।
अमेरिकामा बसोबास गर्ने नेपालीका लागि प्रौढ साहित्य मात्र नभई बाल साहित्यका पुस्तकमा समेत जोड दिइएको संस्थाका अर्का सञ्चालक सायद अशोकले जानकारी दिए।
'यो काम सुरू गरेको केही महिना भयो,' अशोकले भने, ‘एक्सपर्ट फ्रम नेपाल डटकममार्फत् बिक्री गरिएको केही महिनामै आएको नेपाली किताबको मागले हामी निकै उत्साहित छौं।'
धेरैले नेपाली साहित्यका किताब दैलोमै आइपुग्नुलाई व्यावसायिकभन्दा बढी सामाजिक उत्तरदायित्वको रुपमा बुझिदिएकाले झनै बढी हौसल्ला थपिएको उनले बताए।
उनले केही समयमा नेपाली साहित्यबाहेक नेपालबारे बुझ्न सघाउने नेपाली तथा अन्य भाषाका ऐतिहासिक, समाज तथा मानवशास्त्रीय किताब घरदैलोमै उपलब्ध गराउने योजना रहेको पनि जानकारी दिए। साथै उनले सहयकार्य तथा एकल पहलमा फिल्म निर्माणसमेत गर्ने बताए।