नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए।
'पुँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ। फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ। यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन,' उनले भने।
कोभिड पछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के-के उपायहरू हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउँदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए।
उनले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सिमित अवधिको लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने समेत बताए।
त्यस्तै, राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन र अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सकिन्छ।
त्यस्तै, उनका अनुसार नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले रेमिट्यान्सलाई औपचारिक रुपमा नेपाल ल्याउन वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्नेमा जोड दिए।
ढकालले पोखरा आन्तरिक पर्यटनको हव बन्दै गएको बताउँदै कोभिडपछि पोखराको आर्थिक गतिविधि पुनः लयमा फर्किन लगाउने बताए। लेखनाथ महोत्सवले आन्तरिक उत्पादनलाई प्रबन्धनमा सहयोग पुग्ने बताउँदै उनले लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव सबै जिल्ला-नगर उद्योग वाणिज्य संघहरूलाई प्रेरणाको श्रोत भएको उल्लेख गरे।