सरकारले बुधबार देशभरका रात्रिकालीन व्यवसायहरू २४ सै घन्टा सञ्चालन गर्न दिने निर्णय गरेपछि सम्बन्धित व्यवसायीहरू उत्साहित भएका छन्। यसले समग्र रात्रिकालीन व्यवसायमा कोरोना महामारीपछि सुरू भएको मन्दी अन्त्य हुने र रोजगारी अवसर तीन गुणा बढ्ने विश्वास उनीहरूको छ।
रात्रिकालीन व्यवसायमा होटल, रेस्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ लगायत पर्छन्। व्यवसायीहरूका अनुसार यसअघि दोहोरी साँझ रातको १२ बजेसम्म र क्लबहरू दुई बजेसम्म सञ्चालन हुँदै आएका थिए।
कोरोना महामारीका कारण बन्द प्रायः भइसकेको रात्रिकालीन व्यवसायलाई सरकारले ढिलै भए पनि बुझेको ठमेलस्थित नाइट क्लब एलओडी (लड अफ द ड्रिंक्स) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रवीन श्रेष्ठ बताउँछन्।
'अहिले दैनिक चार घन्टा सञ्चालन भइरहेको छ। कोरोनाका कारण थला परेको रात्रिकालीन व्यवसाय २४ सै घन्टा खुलेपछि अब तंग्रिने अपेक्षा गरेका छौं,' श्रेष्ठले भने, 'अब कर्मचारीहरूको पनि माग बढ्छ।'
उनका अनुसार एलओडीमा अहिले डेढ सय कर्मचारी छन्। धेरै समय खुल्ने भएपछि सिफ्टअनुसार काम लगाउनुपर्ने हुन्छ। त्यसकारण कर्मचारी बढाउनु पर्ने उनले बताए।
योसँगै रात्रिकालीन व्यवसाय हुने ठाउँहरू, काठमाडौंमा विशेषगरी ठमेल र दरबारमार्ग थप गुलजार हुनेछन्। रातको दस बजेपछि काठमाडौंका क्लबमा मानिसको चहलपहल बाक्लिन सुरू हुन्छ। नाच्दै, गाउँदै एकआपसमा झुम्दै रमाउनेहरू मध्यरातमा पनि क्लब पुग्छन्।
'हाम्रै क्लब २ बजेसम्म मात्र सञ्चालन भइरहेको छ। अब दिनैभरि खुल्दा व्यवसायी र सेवाग्राही दुवैलाई फाइदा हुनेछ,' उनी बताउँछन्।
मध्यरातमा मानिसको घुँइचो लाग्ने यी व्यवसाय केही समययता धरापमा पर्न थालेका थिए। केही व्यवसायी विस्थापित हुने अवस्थामा पनि पुग्दै थिए। व्यवसायीहरूले २०६८ सालदेखि रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए। रात्रिकालीन व्यवसायी ठमेल पर्यटन विकास उपसमितिका संयोजक दावाङ तामाङका अनुसार उनीहरूले यसबारे थुप्रै पटक आवाज उठाएका थिए।
'हामीले रातभर सञ्चालन गर्न पाउनुपर्छ भनेर थुप्रै पटक भन्यौं। सम्बन्धित निकायलाई दबाव दियौं,' उनले भने, 'पाहुनाहरू रातभर रमाउन चाहन्छन् तर व्यवसायीले आधा रातमा बन्द गर्नुपर्ने बाध्यता थियो।'
आफूहरूकै माग र दबावपछि सरकारले ०६८ सालमै दोहोरी रातको १२ बजेसम्म र क्लब २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको पनि उनले बताए।
'यसपछि त्यही निर्णयमा टेकेर हामीले ज्ञापन पत्रहरू बुझायौं। एक दशकपछि सरकारले बल्ल निर्णय गर्यो,' उनले थपे, 'व्यवसायीलाई राहत मिलेको छ।'
स्वतन्त्रपूर्वक व्यवसाय सञ्चालन गर्न पाएसँगै अब व्यवसायीहरूले सुरक्षाका लागि ब्राउन्सर, सुरक्षागार्डको थप व्यवस्था गर्नुपर्नेछ। नेपाल लोकदोहोरी व्यवसायी संघकाअनुसार देशभर एक हजार सात सयभन्दा बढी रात्रिकालीन व्यवसायी र यिनमा प्रत्यक्ष रूपमा एक लाख बढी कर्मचारी छन्।
अब प्रतिव्यक्ति ८ घन्टा समय छुट्याएर सिफ्टअनुसार कर्मचारी राख्नुपर्ने संघका अध्यक्ष विनोद श्रेष्ठले सेतोपाटीलाई बताए। किचन, हेल्पर, कुक, सेफ, सुरक्षागार्ड, ब्राउन्सर, स्टेज, हल सबैतिर गरी कम्तीमा एउटा सानो रात्रिकालीन व्यवसायमा पनि ४० जना कर्मचारी आवश्यक पर्ने नगरकोट दोहोरी साँझका सञ्चालक समेत रहेका श्रेष्ठ बताउँछन्। ठूलामा त दुई सय बढी जनशक्ति चाहिन्छ।
'२४ सै घन्टा भएपछि तीन सिफ्टमा कर्मचारी राख्नुपर्छ। यसरी हेर्दा अहिलेको तुलनामा रात्रिकालीन व्यवसायमा तेब्बर संख्यामा रोजगारी अवसर हुनेछ,' उनले भने।
के उसो भए अब सबै रात्रिकालीन व्यवसाय रातभर-दिनभर खुल्नेछन्?
श्रेष्ठका अनुसार सुरक्षा निकायको सहयोग र क्षेत्रभित्र पर्ने रात्रिकालीन व्यवसाय जुनसुकै समय खुल्न सक्नेछन्। भौगोलिक स्थिति र मानिसको संख्या हेरेर स्थानीय प्रशासनले समय व्यवस्थापन गर्नेछ। सँगै व्यवसायीले आफूलाई पायक पर्ने समयसम्म सञ्चालन गर्नेछन्।
व्यवसायीले कर्मचारीको सेवासुविधासँगै सुरक्षामा पनि थप ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ।
गृह मन्त्रालयले पनि रात्रिकालीन व्यवसाय सधैं खुला गर्न भौतिक पूर्वाधार थप गर्नुपर्ने भनेको छ। व्यवसायमा सिसी टिभी क्यामरा अनिवार्य गरिएको छ भने कम्तीमा ३० दिनको रेकर्ड सुरक्षित हुने क्षमताको हुनुपर्नेछ। त्यस्तै भित्रबाट आउने होहल्ला र संगीतको आवाज बाहिर आउन नदिने गरी नियन्त्रण गर्नुपर्नेछ।
पर्यटकीय गतिविधि ठप्प भइरहेका बेला यो निर्णयले व्यवसायी र सरकार दुवैलाई फाइदा पुग्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन्।
'व्यवसायीको आम्दानी बढेपछि राजस्व बढ्ने भयो। रोजगारी अवसर पनि बढ्छ,' पोखरेलले भने, 'व्यवसायको भित्री व्यवस्थापन सञ्चालकले नै गर्नुपर्नेछ, बाहिरी सुरक्षा व्यवस्था सरकारले गर्छ।'
रात्रिकालीन व्यवसायमा हुने झैझगडा, होहल्ला, आपराधिक क्रियाकलाप नियन्त्रण र सुरक्षाका लागि प्रहरी तत्पर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली बताउँछन्।
व्यवसायीले प्रचलित कानुन बमोजिम रहेर व्यवसाय सञ्चालन गरे आफूहरूको सहयोग सधैं हुने उनले बताए।
'प्रचलित कानुन बमोजिम ढुक्कले व्यवसाय गर्न पाइयो, सुरक्षा र सहयोगमा प्रहरी सधैं खटिरहेकै छ र खट्छ पनि,' मैनालीले भने।