नेपाल एशोसिएशन अफ र्याफटिङ एजेन्सिज (नारा) को आयोजनामा ‘१९औँ हिमालयन ‘ह्वाइटवाटर च्यालेन्ज’ बुधबार सम्पन्न भएको छ। त्रिशुली नदीमा आयोजना गरिएको प्रतियोगितामा र्याफटिङ, कायकिङ विधामा छुट्टा छुट्टै प्रतियोगिता भएको थियो।
नदी पर्यटन र जल खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले नाराले सन् २००२ बाट हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ। कोभिड महामारीका कारण अघिल्ला दुई वर्ष यो प्रतियोगिता हुन सकेन्।
नाराका महासचिव शिशिर खनालकाअनुसार नेपालको पर्यटन र जल खेलकुदमा आश्रित भएकालाई प्रोत्साहन गर्दै विदेशमा हुने खेलमा भाग लिन प्रयत्न गर्ने गरी यो अभियान सञ्चालन भएको हो।
र्याफटिङका लागि खेलाडीहरुले यसअघि एसियन च्याम्पियन सिपमा भाग लिइसकेका छन्। नाराले अहिले ओलम्पिकमा फोकस गरिरहेका छ। यो प्रतियोगिता कोभिड महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेन्।
बुधवार त्रिशुली नदीमा र्याफटिङ प्रतियोगितामा १२ टिम थिए भने कायकिङमा लगभग ७० जना थिए। जसमा त्रिभुवन आर्मी क्लव ए प्रथम, नेपाल कायक क्लव दोस्रो, ह्वाइटवाटर नेपाल, तेस्रो भएका छन्।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको बताए। गहतराजले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्यमसँग जोड्नुपर्ने बताए। त्यस्तै प्रतियोगितामा सहभागी भएका व्यवसायी तथा र्याफटिङ प्रतिस्पर्धी र गाइडहरुले केही वर्षयता नदी दोहनका कारण र्याफटिङमा असर पुगेको गुनासो गरे।
जल नदीमा रमाउनेहरुका लागि त्रिशुलीको र्याफटिङ पहिलो प्राथमिकतामा रहेकाले र्याफटिङ मार्गलाई असर पुग्ने गरी ड्याम नबनाउन उनीहरुले सरकारसँग माग गरेका छन्।
रिभर टुरिजमको सुरुवात नै त्रिशुली नदीबाट भएको नेपाल एशोसियसन अफ र्याफटिङ एजेन्सीका उपाध्यक्ष मेघ आलेले बताए।
नेपाल घुम्न आउने ८० विदेशी पर्यटक र स्वदेशी पर्यटकले पनि देख्ने नदीका रुपमा त्रिशुलीलाई लिइन्छ। त्रिशुलीको मुख्य भागमा ड्याम बन्दैछ। यसले गर्दा र्याफटिङ कोल्याप्स हुनेछ। त्यो अभियानलाई सँगै लैजानका लागि यसवर्ष त्रिशुलीमा यो अभियान सञ्चालन गरेको जानकारी दिए।
‘त्रिशुली नदीको मुख्य भागमा हाइड्रोपावर कम्पनी बन्दैछ। त्यो बनाइसकेपछि त्रिशुलीमा रिभर टुरिज्म हुँदैन। र्याफटिङ नै सकिन्छ’ उनले भने।
र्याफटिङका लागि त्रिशुली प्रख्यात रहेको तर पछिल्ला वर्षहरुमा ढुङ्गा, गिटी र बालुवाको बढ्दो उत्खन्नले नदीको सौन्दर्य घट्दै गएकाले नदी बचाउ अभियान संचालन गरिरहेको उनले जानकारी दिए ।
त्रिशुली र्याफटिङका लागि प्रसिद्ध छ। नेपाल घुम्न आउनेमध्ये ५० प्रतिशतले र्याफटिङ गर्छन्। कायकिङ प्रतिस्पर्धी हरि आले भन्छन्, ‘दश वर्षको अन्तरालमा खोला नाला जस्तो भइसकेको छ। धेरै प्रयत्न गर्दा पनि रोक्न सकेका छैनौं।’
त्रिशुली नदी र्याफटिङ र कायकिङ्गका लागि प्रसिद्ध रहेकाले ड्याम बनाएर यसको अस्तित्व मेटिने उनले गुनासो गरे।
‘ड्याम बनाउने। फोहोरको डम्पिङ छ। यसरी नदी बच्दैन र सफा हुँदैन’ उनी भन्छन्,‘तर फिस्लिङमा ड्याम बन्यो भने त्रिशुलीको र्याफटिङ नै सकिन्छ। त्यसलाई बचाउनुपर्छ। सरकारले समयमै व्यवसायीसँग सल्लाह गर्न जरुरी छ।’
नेपाल घुम्न आउने अधिकांश पर्यटकहरु साहसिक खेलकै लागि आउने भएकाले र्याफटिङ, ट्रेकिङ, बन्जी जम्प, प्याराग्लाइडिङ जस्ता खेलकुदका गतिविधिलाई सरकारले प्राथमिकता दिनुपर्ने र्याफटिङ प्रतिस्पर्धी सीता थापाले बताइन्। ‘विकास निर्माणको नाममा र्याफटिङ र कायाकिङ खेललाई सरकारले वेवास्ता गरेको छ’ उनले भनिन्।
सन् १९६० मा त्रिशुलीबाट र्याफटिङ सुरु भएको हो। नेपालमा र्याफटिङका लागि भोटेकोशी, अपर सेती, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मर्स्याङदी जस्ता नदी प्रसिद्ध छन्। नारकाअनुसार हालसम्म देशभर ३५ सयभन्दा बढी रिभर गाइडहरु छन्।