प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरूको माग बमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशनको शुक्रवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास तथा विस्तारबाट मात्र देशको समृद्धि सम्भव हुने बताए।
विकासमा निर्माण व्यवसायीहरूले गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ।’
प्रधानमन्त्री देउवाले हालै पास पाएको एमसिसी सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाहरूलाई सुझाव दिए।
गृहमन्त्री बालकृष्ण खाँणले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनसँगै खरिद ऐन नै संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए।
निर्माण उद्योगका लागि अत्यावश्यक सुरक्षा दिन सरकार सधैं तयार छ’मन्त्री खाँणले भने।
वर्तमान सरकार ठूला मात्र नभएर साना निर्माण व्यवसायीहरूको हक हितका लागि पनि प्रतिबद्ध रहेको उनले जानकारी दिए।
महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन पारित गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै अब निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे। इन्धनमा भइरहेको भारी मूल्यवृद्धिले निर्माण उद्योग धाराशायी भएको बताउँदै उनले यही अवस्थामा उद्योग अघि बढ्न नसक्ने बताए।
एमसीसी पास भएबाट निजी क्षेत्र उत्साहित रहेको उनले बताए।
महासंघका महासचिव रोशन दाहालले कोभिड-१९ का कारण ज्यान गुमाएका ४० जना निर्माण व्यवसायीलाई जनही १-१ लाख दिइने जानकारी दिए। सोही अवसरमा प्रधानमन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेष अंक विमोचन गरे।