कुरा ४७ वर्षअघिको हो।
धनुषाको नगराइन नगरपालिकास्थित विर्ता गाउँका १८ वर्षीय किशोरी ठाकुर दिनभरि साथीहरूसँग डुलिरहन्थे। पढालेखा थिएनन्। भविष्यमा के गर्नेबारे सोचेकै थिएनन्।
किशोरी र उनका साथीहरू जनकपुरका विभिन्न चोकका चिया र पान पसलमा भेला हुन्थे। धेरै जाने ठाउँ थियो मुरली चोक। यो चोक पानका लागि चर्चित थियो।
मुरली चोकमा राम स्वरूप राम सागर बहुमुखी क्याम्पस (राराब) का शिक्षक र विद्युत कार्यालयका कर्मचारीहरू पान खान आइरहन्थे। शिक्षकहरू पान खान मात्र १५ मिनेट हिँडेर यहाँसम्म आइपुग्थे। एकदिन पान खान आएका शिक्षक महिन्द्र साहसँग किशोरीको भेट भयो। कुराकानी भयो। किशोरी बिनाकाम घुमिरहने कुरा थाहा पाएपछि महिन्द्रले उनलाई भविष्यबारे सोच्नुपर्ने कुरा बुझाए।
'पक्का पनि छैनौ, काम पनि गर्दैनौ। यसरी त कहाँ भविष्य बन्छ?' महिन्द्रले भनेका थिए, 'तिमीले पान पसलै खोल्यौ भने पनि कमाइ हुन्छ, भविष्य बन्छ।'
महिन्द्रले सल्लाह मात्र दिएनन्, पसल खोल्न आर्थिक सहयोग गर्ने पनि भने। किशोरीले ज्ञानी विद्यार्थीझैं उनका कुरा सुने। झन्डै आधा शताब्दीअघि महिन्द्रले उनलाई पसल खोल्न दुई सय रूपैयाँ दिए।
'त्यसअघि मैले कहिल्यै पान बनाएको थिइनँ,' किशोरीले सम्झिए, 'तर पान हाम्रो सँस्कृतिमा नौलो थिएन। घर, छिमेक वा बजारमा पान बनाउने तरिका नजिकैबाट देखेको थिएँ।'
मिथिलामा देउतालाई पान चढाउने चलन थियो, छ। पवित्र मानेर देवतालाई चढाउने, पूजा, उत्सव र भोजभतेरमा अनिवार्य भएकाले पनि पानको महत्व मिथिलामा धेरै छ। किशोरीका अनुसार भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखेर पूजा गरिन्छ। विवाहमा वर–वधुलाई माया दर्शाउन पान खान दिइन्छ। यसबाट परस्परमा माया बढ्ने जनविश्वास छ। मिथिलाबासीले पानलाई आफ्नो जीवनमा अत्यावश्यक सामानको सूचीमा समावेश गरेको पाइन्छ। पाहुना, साथीसंगीलाई चियासँगै पान खाने भनेर सोधिन्छ।
आफ्नो समुदायको जीवनशैलीमा जताततै देखिरहेको पान अब किशोरी आफैंले बनाएर बेच्ने भए। के कसो हो भनेर बुझ्न उनी जनकपुरका केही पान पसल घुमे। बनाउने तरिका सिके। त्यतिखेर जनकपुरमा झन्डै दस वटा पान पसल थिए।
'पान बनाउन सिकेपछि महिन्द्र सरबाट पाएको पैसाले मसला, पात लगायत सामान किनेँ,' उनले भने, 'आफन्तहरूसँग ऋण मागेर पाँच सय रूपैयाँमा पसल थाप्ने कठघरा किनेँ।'
उनले क्याम्पस चोकमा पसल थापे- किशोरी पान पसल।
यो चोक अहिले गुलजार छ, त्यति बेला सुनसान थियो। चारैतिर झाडी र रूखबिरूवा भएकाले साँझ पर्नासाथ मानिस आउजाउ गर्न डराउँथे। तर क्याम्पस चोकमै पसल खुलेपछि शिक्षकहरूलाई सजिलो भइहाल्यो। उनीहरू किशोरीका मुख्य ग्राहक बने। वरिपरि कार्यालयका कर्मचारी पनि आउन थाले।
सुरूसुरूमा उनले बनाएको पान त्यति मिठो हुन्थेन। महिन्द्रजस्ता पानका पारखीले नै उनलाई कसरी राम्रो बनाउने भन्ने सुझाव दिए। किशोरीले सिक्दै गए।
पसल थापेदेखि केही वर्ष उनी घाटामै चले। पानको गुणस्तर र स्वाद सुध्रिँदै जाँदा नाफा पनि बढ्दै गयो। उनले सम्झिए, 'झन्डै ५/६ वर्षपछि त मैले पसलको कमाइबाटै ८ जनाको परिवार सम्हाल्न थालेँ।'
किशोरीको पसलमा पान खानेको संख्या बाक्लिँदै गयो। प्रहरी तथा सेनाका कर्मचारी पनि आउन थाले। समयसँगै किशोरीको पसल जनकपुरमै प्रसिद्ध भयो। यो पसलमा पान खान अहिले युवादेखि पाका उमेरसम्मको भिड लागिरहन्छ।
अहिले ती किशोर किशोरीको उमेरले ७२ काटिसक्यो। काम भने उही। उनमा न थकान देखिन्छ, न अल्छीपन। युवा उमेरकैजस्तो जाँगर बोकेर सानो कठघराभित्र उनी दिनभर पान बनाउन व्यस्त देखिन्छन्।
'हातको छाला घोक्चिसकेको छ, तर पान बनाउन सकसक गरिहाल्छन्,' उनी भन्छन्।
एक मिनेटमा उनले झन्डै दर्जन प्रकारका मसला हालेर पान बनाउँछन्। काममा छोरा राजुले सघाउँछन्। साथीहरूसँग गफिँदै पान लगाउने किशोरीको दैनिकी छ। ग्राहकको माग अनुसार विभिन्न स्वादका पान बनाउँछन्।
यहाँ खासगरी बंगला, कलकतिया, बनारसी, देसी, मगही, हरियर पात एवं मीठा पातको पान खाने चलन छ।
आयुर्वेद चिकित्साका पिता मानिने धन्वन्तरीले पानमा १०५ औषधीय गुण हुने बताएका छन्। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र होइन, पाचनक्रियामा सहयोगी हुन्छ। रूघाखोकी, सर्दी र रक्तविकारमा पान राम्रो मानिन्छ।
'दस कोष टाढाको गाउँबाट सौखिनहरू यहाँ पान खान आउँछन्। उहिले त क्याम्पसका शिक्षक, कर्मचारी, प्रहरी र सेना मात्र आउँथे। अहिले त जोसुकै खान्छन्,' उनले भने, 'जो पानका सौखिन छन्, एक पटक यहाँ आइसकेपछि बारम्बार आइहाल्छन्।'
पसल खोलेदेखि नै किशोरीले पानको पात जनकपुरस्थित जानकी चोकबाट किन्छन्। उनका अनुसार जनकपुरका अधिकांस पसलेले पात किन्ने ठाउँ यही हो। व्यापारीले ती पात भारतको कलकत्ता लगायत ठाउँबाट ल्याउँछन्। थ्री जिरो, निर्मली सुपारी, नरिवल, पान मसला, लाल सुपारी, लाल दाना, कुलकन्द लगायत पानमा हाल्ने मुख्य मसला पनि भारतबाटै आउँछ।
किशोरीले पसल सुरू गर्दा दैनिक आधा झोली पानको पात खपत हुन्थ्यो। अचेल दिनको दुई झोली खपत हुने उनी बताउँछन्, 'पर्व, तिहार वा कुनै भोजभतेर भयो भने अझै धेरै खपत हुन्छ।'
एक झोलीमा एक सय ६५ वटा पात हुन्छन्। झन्डै पचास वर्षअघि एक झोली पातको भाउ चार आना थियो। मसला डब्बाको चारदेखि आठ आना पर्थ्यो। एक खिल्ली पान पाँच पैसामा बेच्थे उनी।
उनका अनुसार अहिले पात हेरेर झोलीको छ सयदेखि पाँच हजार रूपैयाँसम्म पर्छ। सस्तोमा बंगला पातको छ सय र महँगोमा मीठा पातको पाँच हजार। मसला डब्बाको पाँच सयदेखि पाँच हजारसम्म पर्छ। एक खिल्ली पान २५ देखि ३५ रूपैयाँमा बेच्छन् उनी।
'सबै कुराको भाउ बढेको छ। बजारमा प्रतिस्पर्धा पनि बढेकै छ। सबैलाई राम्रो पान चाहिन्छ,' उनी पान बजारबारे भन्छन्, 'बजारअनुसार चल्नै पर्यो। त्यसैले अचेल धेरै फाइदा हुँदैन।'
किशोरीको पसलका नियमित ग्राहक हुन् जटहीका सुरेन्द्र साह। जनकपुरका पसलमा किराना सामान पुर्याउने काम गर्दै आएका उनी यहाँ पान खाएर मात्र घर फर्किन्छन्।
'अरूतिरभन्दा यहाँको पान राम्रो र स्वादिलो हुन्छ,' सुरेन्द्रले भने।
पान पसल गरेरै किशोरीले चार छोरी र एक छोराको लालनपालनसँगै बिहेवारी गरे। बुवालाई सघाउँदै जाँदा छोरा राजुको मन पनि लेखपढभन्दा यतैतिर गयो। पान पसल गरेर जीवन चलाउन सकिने भएकाले आफू यतैतिर काम गर्ने सोचेको उनले बताए।
ठाकुर बाबुछोराले पसलमा अहिले पानसँगै चाउचाउ, बिस्कुट, चिसो पेय पदार्थ र अरू खत्र्याकखुत्रुक खानेकुरा पनि बेच्छन्। राजुले त पछिल्लो समय पसलबाटै काठमाडौं जाने बस टिकट बिक्री गर्न थालेका छन्।
'यही पसलको आम्दानीले बुवाले हामीलाई हुर्काउनुभयो। घडेरी किन्यौं। मेरा बालबच्चा पालिरहेको र पढाइरहेको छु। व्यापार राम्रै चलेको छ भने अरू नोकरी गर्न किन जानू,' राजु भन्छन्।