कोरियन प्रविधिबाट वातावरण-मैत्री इट्टा बनाउने ‘गुड ब्रिक्स सिस्टम’ नेपालमा भित्रिएको छ।
विभिन्न मुलुकमा वातावरण-मैत्री निर्माण सामाग्री उत्पादन विस्तार गर्दै आएको इन्नोसिएसआर कम्पनीले नेपालमा पनि गुड ब्रिक्स प्रविधि विस्तार गरेको हो।
कम्पनीले इट्टाको उद्योग सञ्चालन गर्न चाहने उद्योग व्यवसायीका लागि जनशक्ति तालिम, माटो परीक्षण, उपकरणको समन्वयसँगै बजारीकरणमा सहयोग गर्दै आएको छ। व्यवसायीले उत्पादन क्षमताअनुसार ४० लाखदेखि डेढ करोड रुपैयाँ लगानीमा उद्योग सुरु गर्न सक्नेछन्।
नेपाल विद्युतमा आत्मनिर्भर हुन थालिसकेको छ। कम्पनीका अनुसार यस्तो अवस्थामा बाहिरी मुलुकलाई विद्युत निर्यात गर्नुको साटो सो उर्जा नेपालमै खपत गर्नका लागि यो प्रविधी उपयोगी हुनेछ।
कम्पनीको पूर्ण स्वचालित हाइड्रोलिक प्रेस मेसिनले एक प्रेसमा १८ वटा इट्टा उत्पादन गर्ने क्षमता छ। यो प्रविधिमार्फत दैनिक ४० हजार वटासम्म इट्टा उत्पादन गर्न सकिन्छ भने वार्षिक करिब डेढ करोड वटासम्म इट्टा उत्पादन गर्न सकिन्छ।
गुड ब्रिक्स प्रविधिमा इट्टालाई पकाउन नपर्ने र यसमा कोइला लगायत अन्य जैविक इन्धनको प्रयोग नहुनाले यो पूर्ण रुपमा वातावरण-मैत्री प्रविधिमा आधारित भएको वातावरण विद् धर्मराज केसी बताउँछन्।
इट्टाको निर्माणमा माटो, सिमेन्ट र सोयल स्टेब्लाइजरको प्रयोग हुन्छ। कम्पनीको भक्तपुरमा रहेको आधिकारीक परीक्षण केन्द्रमा माटोदेखि इट्टाको अवस्था र क्षमता परीक्षण गरिन्छ। सोयल स्टेब्लाइजरको प्रयोगले सिमेन्ट र माटोलाई बलियोसँग जोड्छ। सोयल स्टेबलाइजर अर्ग्यानिक हुने हुँदा साइड इफेक्ट हुँदैन।
यो प्रविधिमा गोरखा, भक्तपुर र गाईघाटमा उद्योग सञ्चालनमा आइसकेका छन्। सुदुरपश्चिममा पनि छिट्टै सञ्चालन हुँदैछ। ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै कम्पनीले सातै प्रदेशमा उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ।
पछिल्लो समय इट्टाको माग क्रमिक रुपमा वृद्धि हुँदै आएको गोरखास्थित गुड ब्रिक्स सिस्टम उद्योग गोरखा इनोटेकका सञ्चालक विकास श्रेष्ठको भनाइ छ। उनका अनुसार पछिल्लो समय सर्वसाधरणले इट्टा प्रति चासो बढाउँदै छन्।
सुरुमा इट्टा भट्टा उद्योग सञ्चालनमा ल्याउने योजना रहेपनि यो प्रविधि वातावारण-मैत्री र कम जनशक्तिमा सञ्चालन गर्न सकिने भएकाले इन्नोसिएसाअरसँग सहकार्य गरी उद्योग सन्चालनमा ल्याएका हुन्।
कोरियामा २००८ मा स्थापना भएको इनो सिएसआरले कोरिया, मलेसीया, म्यानमार, फिलीपीन्स, चीन, नेपाललगायत विश्वभरका विभिन्न मुलुकका निजी र सरकारी क्षेत्रमा दिगो प्रभाव प्रविधि सोलुसनको काम गर्दैछ।
सन् २०१८ मा नेपाल प्रवेश गरेको यो कम्पनीले करिब दुई वर्ष अध्ययनपछि इट्टा उत्पादन सुरु गरेको हो। कम्पनीले सोयल इस्टेब्लाइजरकै प्रयोगमार्फत सडक तयारका लागि गृहकार्य सुरु गरिसकेको छ।