दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि सम्पूर्ण क्षेत्र गम्भीर हुन सरोकारवालाले जोड दिएका छन्। दूधको मूल्य वृद्धि भएपछि दूधको गुणस्तरको विषयमा विभिन्न प्रश्न आएसँगै सरोकारवालाहरूले चासो गरेका हुन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले बुधबार आयोजना गरेको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता अभिवृद्धिका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा गरिएको थियो।
कार्यक्रम बोल्दै विभागका महानिर्देशक मतिना जोशी वैद्यले संविधानले स्वच्छ र गुणस्तर वस्तु उपभोग गर्न पाउनुपर्ने मौलिक अधिकार दिएको र त्यसमा दूधको गुणस्तरको आफ्नै महत्व रहेको बताइन्।
दूधको गुणस्तरका लागि प्रत्येक सरोकावालाको भूमिका हुनुपर्ने कुरामा जोड दिँदै उनले किसान, सहकारी, उद्योगी, ढुवानीकर्ता, सरकार सबै गुणस्तरका लागि जिम्मेबार हुनुपर्ने जानकारी दिइन्।
बजारमा खुला रुपमा बिक्री भइरहेको दूध गुणस्तरका लागि चुनौती रहेको बताउँदै उनले प्याकेटको दूध खान उपभोक्तालाई आग्रह गरिन्।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं डेरी उद्योगी अरनिको राजभण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै दूधको गुणस्तरका लागि डेरीबाला प्रतिबद्ध रहेको बताए। काम गर्ने क्रममा कमजोरी हुनसक्ने बताउँदै उनले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरका लागि सबै सरोकारबालाहरू त्यतिकै गम्भीर हुनुपर्ने बताए।
‘दूधको गुणस्तर कायम गर्न किसानले एक्लै सक्दैन, उद्योगीले मात्र सक्दैन, कर्मचारी मात्र सक्दैन, त्यसका लागि सबै एक रुपले लाग्नुपर्छ’ उनले भने।
निजी क्षेत्रको डेरीको मेहनतको कारण दूध आत्मनिर्भरको दिशातिर लम्केको बताउँदै उनले भने, ‘१० वर्षअघिसम्म वार्षिक १५ अर्बभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थ आयात हुन्थ्यो। तर अहिले एक डेढ अर्बमा झरेको छ। त्यो निजी क्षेत्रकै मिहिनेतका कारणले सम्भव भएको छ।’
कार्यक्रममा विभागको तर्फबाट वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसीले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका, २०७५ को कार्यान्वयन विषयमा कार्यपत्र प्रस्तुत गरे।
दुग्ध प्रशोधनका लागि उद्योगहरूमा भौतिक पूर्वाधर तथा अन्य सुविधा हुनुपर्ने कुरामा जोड दिँदै उनले पानीको व्यवस्था, उद्योगको नाली र फोहर व्यवस्थापन, कामदारको व्यक्तिगत सरसफाई, दूधको प्रशोधन लगायतका विषयमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल डेरी उद्योग संघका राजकुमार दहाल, उपभोक्तावादी माधव तिमिल्सिना, अनाजका अध्यक्ष किरण आचार्यले आआफ्नो धारणा राखे।