फुटबल क्लब एफसी चितवनले आइतबार बिहान साढेँ एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दैछ।
आउँदो अप्रील ८ तारिकबाट सुरू हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनुहुनेछ।
तर खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्छ। यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन्।
एफसी चितवन आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिको एक फुटबल क्लब हो। खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र सुरू भएको हो। प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ।