भारतको मुम्बईमा आयोजना गरिएको आउट बाउन्ड ट्राबल मार्टमा नेपाल पर्यटन बोर्डले सहभागिता जनाएको छ।
गत फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म मुम्बईको बम्बे एक्जिबेसन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसँग सम्बन्धित निजी संस्थाहरूको सहभागिता थियो।
मार्टमा नेपाल सहित २० देशबाट ६ सयभन्दा बढि प्रर्दशक तथा भारतको २९ भन्दा बढि राज्य र सात विभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा माल्दिभ्सका पर्यटन मन्त्री अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटन मन्त्री डा. एम. माथिभेन्थन, माल्दिप्सका पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेसनका प्रबन्ध निर्देशक तोयिब मोहम्मद लगायत विभिन्न देशका सरकारी तथा निजी क्षेत्रका अधिकारीहरूले नेपाली प्याभिलियनको निरिक्षण समेत गरे।
नेपालको तर्फबाट पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले कार्यक्रममा कोभिड पछि नेपाल करिब पूर्ण रुपमा खुला भइसकेको, नेपाल भारत तथा अन्य देशहरूबाट समेत नियमित उडानहरू सुरू भएको बताए।
त्यस्तै, नेपाल पर्यटनको नियमित गन्तव्य बाहेक वेडिङ डेस्टिनेशन, फिल्म छायांङ्कन तथा अन्य माइस पर्यटनको लागि उत्कृष्ट गन्त्तव्य रहेको कुरा सो अवसरमा जानकारी गराइएको थियो।
भारत नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजार रहनुका साथै स्थल मार्ग तथा हवाई मार्गबाट नेपाल भ्रमणको लागि थप सहजता बन्दै गएको समेत कार्यक्रममा बताइयो। नेपालको राष्ट्रिय ध्वजाबाहेक नेपाल वायुसेवा निगमले भारतका विभन्न सहरहरूमा सिधा उडान सुरू गरेको सन्दर्भमा नेपाल-भारत बीचको पर्यटन प्रर्वद्धनमा थप सहजता थपिने विश्वास गरिएको छ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डलाई डिजाइन एन्ड डेकोरेसन अवार्ड प्रदान गरिएको थियो।