बजारमा विभिन्न जडिबुटीबाट उत्पादित तेलहरू पाइन्छन्। यीमध्ये धेरैमा औषधीय गुण छ भनिएको हुन्छ।
हिमालयन बायो ट्रेड यस्तै एउटा कम्पनी हो जसले औषधीय गुण भएका तेल उत्पादन गर्छ। तेलसँगै हाल ४० वटाभन्दा बढी सामान उत्पादन गरिरहेको छ।
सञ्चालक सरस्वती राई (गुरुङ) का अनुसार दोलखाको गौरीशंकर आसपासका प्राकृतिक स्रोत प्रयोग गर्दै उत्पादन थालेको कम्पनी अहिले ४० वटा जिल्लाका पुगेको छ। अर्गानिक प्रमाणित भएका जडिबुटीबाट उत्पादित सामग्रीको माग नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि धेरै भएको उनी बताउँछिन्।
कम्पनी सञ्चालक सरस्वती राई (गुरुङ) का अनुसार कम्पनीले सबभन्दा बढी सुगन्धित तेल उत्पादन गर्छ। हाल २३ किसिमका तेल उत्पादन हुने गरेको छ। कम्पनीले सुनपाती, तितेपाती, धुपी, जटामासी, सुगन्ध कोकिल लगायतका जडिबुटीबाट सुगन्धित तेल उत्पादन गर्छ।
'हाम्रो कम्पनीले ४० वटाभन्दा बढी जिल्लाका विभिन्न उत्पादनहरूको बजारीकरण गरिरहेको छ,' सरस्वतीले भनिन्।
सबै तेलमा फरकफरक विशेषता छ। रुघाखोकीमा औषधिको काम गर्नेदेखि लामखुट्टे र अन्य कीराफट्यांग्रा छेउछाउमा नआउनेसम्मका अनेक विशेषता छन्। सुगन्धित तेलसँगै कम्पनीले साबुन, अल्लोको कपडा, झोला, जुत्ताचप्पल, टोपी, नेपाली कागज लगायतका सामान उत्पादन गर्छ। सिमी, मकैको च्याँख्ला, टिमुर, सिस्नो, विभिन्न ठाउँका महिलाहरूले बनाएको अचार लगायत पनि संकलन गरेर बिक्री गर्छ। कुरुसले बुनेका लुगा पनि पाइन्छ।
उनका अनुसार कम्पनीका सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा पुगेका छन्। ९० प्रतिशत उत्पादन निर्यात हुन्छ। सुरूमा इमेलबाट विदेशीहरूसँग कम्पनी र उत्पादनको विषयमा कुरा हुन्थ्यो। सामान कुरियर गरेर पठाउँथे।
सरस्वतीले हिमालय बायोको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन इ-मार्केटिङ गरिन्। उत्पादन मन पराउनेहरू नेपाल आउँदा कम्पनीको कार्यालयमै पुग्थे।
सबभन्दा पहिले उनले सामान इट्ली पठाइएकी थिइन्। यसपछि सन् २०१० मा पहिलो पटक जर्मनीमा आयोजित प्रदर्शनीमा जाने अवसर पाइन्। केही सामान बोकेर जर्मनी पुगेकी उनले प्रदर्शनीमा प्रचार गरिन्। त्यति बेला सामान किनेका मानिसहरू नियमित ग्राहक बनेका छन्।
यसपछि विभिन्न मुलुकमा हुने प्रदर्शनीमा सरस्वती आफ्ना उत्पादन बोकेर सहभागी हुन थालिन्।
'हामीले प्रमाणित भएको रिपोर्ट देखायौं। कुन सामग्री प्रयोगले के फाइदा हुन्छ, कसरी बनाइएको हो भन्ने कुरा बुझायौं,' उनले भनिन्, 'बिस्तारै हिमालयन बायोलाई विदेशीहरूले विश्वास गरे।'
अन्तर्राष्ट्रिय बजारमा पुगेपछि माग बढ्न थाल्यो। कम्पनीले उत्पादन बढायो। हाल चीन, अमेरिकी र युरोपेली गरेर २२ वटाभन्दा बढी मुलुकमा हिमालयन बायोका उत्पादन पुग्छन्। नेपाली महिलाहरूको मेहनतले बजार पाएको सरस्वतीको भनाइ छ।
'गुणस्तरीय सामान उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा पुर्याउने सोच थियो,' सरस्वती भन्छिन्, 'हाम्रोजस्तो हावापानी अरू मुलुकमा पाइँदैन। त्यस कारण पनि हाम्रो उत्पादनले विदेशमा बजार लिन्छ भन्नेमा विश्वस्त थिएँ।'
कम्पनीमा वनस्पति विज्ञ पनि छन्। उनीहरूले कुन ठाउँमा कस्तो प्रकृतिका वनस्पति छन् भन्ने अध्ययन गर्छन्। यस्तो अध्ययनमा हिमालयन बायोलाई विभिन्न संघसंस्थाहरूले सहयोग गर्छन्।
हिमालयन बायोका उत्पादन कम्पनीको सामाजिक सञ्जालमार्फत पनि अर्डर गर्न सकिन्छ। त्यस्तै अनलाइन बजार दराजसँगको समन्वयमा पनि उत्पादनहरू उपभोक्तासम्म पुर्याइरहेको उनले जानकारी दिइन्।
उत्पादनको गुणस्तर विश्वसनीय हुनुपर्ने सरस्वतीको अनुभव छ।
'सामानको माग बढ्ने बित्तिकै धेरै कम्पनीले गुणस्तर खस्काएका हुन्छन्,' उनी भन्छिन्, 'गुणस्तर सधैं एउटै हुनुपर्छ। त्यसो हुँदा पुराना ग्राहकले नै नयाँ ग्राहक बनाइदिन्छन्। विश्वासिलो ब्रान्ड बनाइदिन्छन्।'
झन्डै तीन दशकदेखि व्यवसाय गर्दै आएकी सरस्वतीले थुप्रै महिलालाई उद्यमी बनाएकी छन्। ग्रामीण भेगका महिलाले कागज बनाउने, टिमुर केलाउने, पिस्ने, प्याकिङ गर्ने, जंगल र खेतबारीबाट पात टिप्ने लगायत काममा महिलाको सहभागिता रहेको उनले बताइन्। कम्पनीको कारखाना काठमाडौंको टोखामा छ। कारखानामा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
'कम्पनीमार्फत् सयौंले प्रत्यक्ष तथा अप्रत्यक्ष काम पाएका छन्। आम्दानी हुने काममा महिलाहरूको सहभागिता बढेको छ,' उनले भनिन्।
सरस्वतीका अनुसार हाल कम्पनीको वार्षिक कारोबार १२ करोड रूपैयाँभन्दा माथि छ। उनले २२ वर्षअघि सन् २००० मा १० लाख रूपैयाँ लगानीमा व्यवसाय सुरू गरेकी हुन्।
खोटाङमा जन्मिएकी सरस्वतीको बिहे दोलखाका पार्वत गुरुङसँग भयो। त्यति बेला गुरुङ दोलखामा यही व्यवसाय गर्थे। सरस्वतीका अनुसार उनका श्रीमानले २०५० सालमा नेपाली कागजको उद्योग खोलेका थिए। यही उद्योग विस्तार गर्दै सरस्वतीले हिमालयन बायो ट्रेडलाई यो उचाइमा पुर्याएकी हुन्।
हाल हिमालयन बायोको एउटा पसल बालुवाटारमा छ। उनी अर्को पसल खोल्ने योजनामा छिन्।
'प्राकृतिक स्रोतसाधन प्रयोग गरेर सामग्रीहरू उत्पादन गर्न सके बजार धेरै राम्रो छ,' उनी भन्छिन्, 'सबैले यही काम गर्नु पर्छ भन्ने छैन तर महिलाहरू उद्यमी बन्नपर्छ। स्वरोजगार हुने काम गर्नुपर्छ।'
व्यवसायले महिलालाई उद्यमी बनाएर आर्थिक रूपमा सबल बनाउने र देशको अर्थतन्त्रमा सहयोग गर्ने भएकाले कुनै न कुनै व्यवसायमा लाग्न उनी सुझाउँछिन्।
(हिमालयन बायोको वेबसाइटका लागि यहाँर फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्।)