आगामी बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा २३ औं फ्लोरा एक्स्पो हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना उक्त एक्स्पो हुँदछ।
एक्स्पोमा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी विकास मन्त्रालय र कृषि विभागको आर्थिक सहयोग छ। मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ।
उक्त मेला चारदिनसम्म चल्ने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिव बहादुर खड्काले जानकारी दिए।
उनकाअनुसार एक्स्पोमा अफिसियल स्टल चारवटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुईवटा र व्यवसायीक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने छन्।
एक्स्पोमा मौसमी फूल, आलकारिक बोट-बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्षहरू हुनेछन्।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरूको सहभागिता हुने बताइएको छ।
मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने एसोसिएसनले बताएको छ।
यस वर्ष लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुर्याएको पुष्प नर्सरीको छनौट गरी उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने भएको छ।
मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउने एसोसिएसनले विश्वास लिएको छ।
प्रदर्शनी पुष्प उद्यमी-व्यवसायी तथा कम्पनीहरूको लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ प्रविधिको क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्प सम्बन्धी नयाँ-नयाँ निकास भएका उत्पादनहरूलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरूसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर हुनेछ।
पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर-आँगन तथा बगैँचा सजाउन चाहने, फूल-बिरुवा प्रति अभिरूची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरू सबैको निम्ति २३ औं फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास छ।
फ्लोरिकल्चर एशोसिएसनले २०५१ सालबाट पुष्प प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्दै आएको छ। विगत दुई वर्ष कोभिड महामारीका कारण मेला प्रदर्शनीको आयोजन हुन सकेको थिएन।